२९ जेठ, बारा । नेपाल पर्यटन बोर्डको आयोजनामा मधेश ट्राभल मार्ट शुरु भएको छ । मार्टको आयोजनाबारे नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले विहीबार बाराको सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
यसअन्तर्गत बीरगञ्ज, बारा र जनकपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना हुँदैछन् । मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन तथा स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमको सहजीकरण गरिरहेको नाट्टा मधेश प्रदेशले जनाएको छ ।
नाट्टा मधेशका अध्यक्ष मोहन शर्माले शुक्रबार बीरगञ्जमा औपचारिक उद्घाटन पछि जनकपुरसम्मका विभिन्न कार्यतालिकाबारे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । ‘बारा–पर्सा सहित मधेशका आठै जिल्लाका संस्कृति र पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना हुँदैछ,’ शर्माले भने ।
बीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाको समेत सहयोगमा हुन लागेको कार्यक्रमको सचिवालय बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा छ ।
चार दिनसम्म चल्ने मार्टको आयोजनामा स्थानीय तह समेतको सह–लगानी रहेको आयोजकको भनाइ छ । ‘नेपाल पर्यटन बोर्ड र यहाँका स्थानीय तह समेतको सहलगानीमा कार्यक्रम हुन लागेको हो’ नाट्टा मधेश प्रदेश अध्यक्ष शर्माले भने ।
मार्टका अवसरमा नेपाल र भारतका विभिन्न शहरबाट दुईसय बढी सहभागी हुनेछन् । मार्टमा दुबै तर्फका पर्यटन व्यवसायी, पर्यटक, कन्टेन्ट क्रियटर तथा टुर्स अपरेटरहरुको सहभागिता रहने जनाइएको छ ।
आगामी दिनमा मधेशका पर्यटकीय गन्तब्यहरुलाई भारतीय पर्यटन बजारमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ ।
प्रतिक्रिया 4