+
+
Shares

दिल्लीमा नेपाललाई उत्कृष्ट ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन

रणनीति अनुसार भारत नयाँदिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्य (वेडिङ डेस्टिनेसन) का रूपमा प्रवर्द्धन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले भारतमा लक्षित वैवाहिक पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ।
  • पर्यटन बोर्ड र होटल एसोसिएसन नेपालले नयाँदिल्लीमा 'नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट' कार्यक्रम आयोजना गरेका छन्।
  • सन् २०२५ मा नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४ सय ३८ भारतीय रहेका छन्।

१६ वैशाख, काठमाडौं । पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाईमार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ ।

सोही रणनीति अनुसार भारत नयाँदिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्य (वेडिङ डेस्टिनेसन) का रूपमा प्रवर्द्धन गरिएको छ ।

पर्यटन बोर्ड र होटल एसोसिएसन नेपाल (हान) ले दिल्लीमा भारतका लागि नेपाली दूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो ।

१५ र १६ वैशाखमा आयोजित दुई दिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिको सहभागिता थियो ।

यस कार्यक्रम मार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ ।

कार्यक्रममा २१ नेपाली कम्पनी र ४५ भारतीय वेडिङ प्लानरको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले जानकारी दिए ।

उनका अनुसार नेपाली प्रतिनिधिले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट तथा सेवाबारे प्रस्तुति र प्रचारप्रसार गरेका छन् । त्यस्तै बीटुबी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफल मार्फत नेपाल–भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनले जनाएका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वैवाहिक पर्यटन नेपालका लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे ।

‘नेपालमा वैवाहिक पर्यटनको अपार सम्भावना छ, जहाँ विलासी रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन्,’ उनले भने ।

पर्यटन बोर्डका यस किसिमका प्रयासले पर्यटक संख्या वृद्धिमात्र होइन, उच्च मूल्य (हाइ–भ्यालु) पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनुका साथै समग्र अर्थतन्त्र र अन्य सहायक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने सीईओ जोशीको विश्‍वास छ ।

कार्यक्रममा हान अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी इन्डियन वेडिङ प्लानर एसोसिएसन अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेसन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरेका छन् ।

त्यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध अझ सुदृढ बनाउँदै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र उल्लेख गर्दै पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्त्वबारे जानकारी गराएका छन् ।

उनले भारतजस्तो सांस्कृतिक रूपमा समृद्ध बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य सिर्जना गर्न सक्ने क्षमता रहेको समेत उल्लेख गरेका छन् ।

‘हाम्रा आकर्षक गन्तव्य, आतिथ्य सत्कार र जीवन्त संस्कृति सहित हामी भारतीय वेडिङ प्लानर तथा उनीहरूका ग्राहकलाई नेपालको अद्भुत अनुभव दिलाउन तयार छौं,’ उनले भने ।

पर्यटन बोर्डको पछिल्ला तथ्यांक अनुसार भारत नेपालको प्रमुख पर्यटन स्रोत बजारका रूपमा छ । सन् २०२५ को पर्यटक आगमन तथ्यांक अनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४ सय ३८ भारतीय छन् । २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५१ पर्यटक नेपाल भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?