News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसमा \'हरेक फ्रेममा वेलनेस, हरेक कथामा नेपाल\' नाराका साथ भिडियो प्रतियोगिता आयोजना गरेको छ।
- प्रतियोगितामा सातै प्रदेशबाट एक विजेता छनोट गरी जनही ७५ हजार नगद पुरस्कार प्रदान गरिनेछ र आवेदन दिने अन्तिम मिति १४ मे २०२६ तोकिएको छ।
- प्रतियोगिताले आयुर्वेद, योग, ध्यान, स्पा र आध्यात्मिक उपचार क्षेत्र समेटेर २० सेकेन्डको भिडियो निर्माण गर्न आह्वान गरेको छ र सामाजिक सञ्जालमा ह्यासट्याग प्रयोग गरी सेयर गर्नुपर्ने छ।
२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘वेलनेस दिवस’ का अवसरमा भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
नेपाललाई विश्वकै उत्कृष्ट आध्यात्मिक तथा प्राकृतिक स्वास्थ्य (वेलनेस) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन बोर्डले ‘हरेक फ्रेममा वेलनेस, हरेक कथामा नेपाल’ नाराका रिल भिडियो प्रतियोगिता सुरु गरेको जनाएको छ ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसका अवसरमा आयोजना गरिएको यस अभियानले नेपालका सातै प्रदेशका अद्वितीय वेलनेस कथा विश्वसामु पुर्याउने लक्ष्य राखेको बोर्डको भनाइ छ ।
बोर्डले प्रत्येक प्रदेशबाट एक विजेता छनोट गरी जनही ७५ हजार नगद पुरस्कार प्रदान गर्ने भएको छ । बोर्डका अनुसार आयुर्वेद, योग, ध्यान, स्पा र आध्यात्मिक उपचार क्षेत्र समेटेर २० सेकेन्डको भिडियो निर्माण गर्नुपर्ने छ ।
आवेदन दिने अन्तिम मिति १४ मे २०२६ तोकिएको छ । इच्छुकले आफ्ना सिर्जना photonepal.org मा अपलोड गर्न सक्ने छन् ।
बोर्डका अनुसार यस अभियानले विश्वभरिका पर्यटक, स्थानीय सिर्जनाकर्तालाई नेपालको वेलनेस क्षेत्रको रूपान्तरणकारी शक्ति अभिलेखन गर्न निमन्त्रणा गर्दछ ।
यस प्रतियोगिताले सहभागीलाई हिमालयको शान्ति र देशका विविध वेलनेस पद्धति २० सेकेन्डको प्रभावकारी रिलमा कैद गर्न आह्वान गरेको बोर्डको भनाइ छ । डिजिटल उपस्थिति व्यापक बनाउन सहभागीहरूले आफ्ना भिडियोहरू #WellnessNepal र #NepalNow जस्ता ह्यासट्याग प्रयोग गरी सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने छ ।
‘यो प्रतियोगिताले विश्वलाई हाम्रो राष्ट्रको आत्मासँग जोड्ने डिजिटल पुलका रूपमा काम गर्ने छ, सिर्जनाकर्तालाई उनीहरूको शान्ति र पुनर्ताजगीको व्यक्तिगत यात्रा राख्न प्रोत्साहित गरेर हामी नेपाल केवल साहसिक पर्यटनका लागि मात्र नभई वेलनेसको विश्वव्यापी केन्द्र पनि हो भन्ने देखाउँदै छौं,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने, ‘हामी सातै प्रदेशका विविध कथा हेर्न उत्सुक छौं, जसले नयाँ पुस्ताका सचेत यात्रुलाई नेपालमा आफ्नै जीवनभरिका अनुभव खोजी गर्न पक्कै पनि प्रेरित गर्ने छ ।’
प्रतिक्रिया 4