+
+
Shares

चितवनमा पहिलोपटक ‘सफारी टुरिजम मार्ट’ आयोजना

नेपाल पर्यटन बोर्डको आयोजना तथा विभिन्न अन्य संघ संस्थाहरुको सहयोगमा सुरु भएको मार्टमा भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशका पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा पहिलोपटक वन्यजन्तु पर्यटन प्रवर्द्धनका लागि \'सफारी टुरिजम मार्ट\' आयोजना गरिएको छ।
  • नेपाल पर्यटन बोर्डले वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्‍याउने उद्देश्यले मार्ट आयोजना गरेको हो।
  • मार्टमा भारत, बंगलादेश, थाइल्याण्ड लगायत ३० विदेशी प्रतिनिधिहरू सहभागी छन्।

१३ वैशाख, चितवन । वन्यजन्तुमा आधारित चितवनको पर्यटन क्षेत्रलाई विश्व सामु प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा पहिलोपटक ‘सफारी टुरिजम मार्ट’ आयोजना गरिएको छ ।

चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु मेघौली, पटिहानी, सौराहा क्षेत्रबाट हुने जंगल सफारी, पूर्वाधार, होटल तथा रिसोर्टहरुको अवस्था, विभिन्न जातजातिहरुको सांस्कृतिक पहिचान जस्ता विषयलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन तथा प्रवर्द्धन गर्ने उद्देश्यले सफारी टुरिजम मार्टको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा विभिन्न अन्य संघ संस्थाहरुको सहयोगमा सुरु भएको मार्टमा भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशका पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।

पश्चिम चितवनको मेघौलीमा शुक्रबार साँझ सुरु भएको मार्टको उदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे ।

उनले भने, ‘नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि पनि चिनिन्छ । यो सफारी मार्टले बिटुबी नेटवर्किङ र साझेदारी निर्माणका लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ ।’

उनले यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवर्द्धनका नयाँ अवसरहरू खोल्ने विश्वास व्यक्त गरे ।

चितवनलाई संरक्षण सफलताको नमुना क्षेत्रका रूपमा उल्लेख गर्दै सचिव निरौलाले संरक्षण, समुदाय र पर्यटनबीचको सन्तुलन नेपालले उदाहरणीय रूपमा स्थापित गरेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुंगाको रुपमा उल्लेख गर्दै विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताए । उनले विश्वको ०.१ प्रतिशतभन्दा कम भूभागमा नेपालले बेंगल टाइगर, एकसिङ्गे गैँडा, हिउँ चितुवा र रेड पाण्डाजस्ता अद्वितीय वन्यजन्तु र जैविक विविधता संरक्षण गरेको बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा प्लेटफर्मका रूपमा विकास गरिने बताए । उनले बिटुबी बैठक र गन्तव्य भ्रमणमार्फत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू नेपालका पर्यटन अनुभवका विश्वव्यापी दूत बन्ने अपेक्षा गरिएको बताए ।

त्यसैगरी भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले कार्यक्रम नेपालका अद्वितीय वन्यजन्तु अनुभवलाई विश्व बजारसँग जोड्ने मात्र होइन, दीर्घकालीन साझेदारी निर्माण गर्दै नेपाललाई वर्षभरि सञ्चालन हुने प्रतिस्पर्धी वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा. विश्वराज सुवेदीले प्रस्तुति दिए भने चितवन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका हुन् ।

कार्यक्रममा आगन्तुकहरुको स्वागतका लागि प्रतिनिधिहरूलाई थारु र कुमाल समुदायका सांस्कृतिक नृत्यसहित स्थानीय संस्कृति झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

शुक्रबारदेखि सुरु भएको यस मार्टमा नेपालका विभिन्‍न राष्ट्रिय निकुञ्‍ज र वन्यजन्तु आरक्षका प्रमुख तथा प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु, प्रकृती संरक्षणविद्हरुले चितवनका विभिन्‍न पर्यटकीय गन्तव्यको अवलोकन भ्रमणसमेत गर्नेछन् ।

सफारी मार्ट अन्तर्गत आज सौराहामा चितवनका होटल तथा पर्यटन व्यवसायी र विदेशी पर्यटन व्यवसायी कम्पनी तथा संघसंस्थाहरुका बीचमा बिटुबी सेसनको आयोजना गरिएको छ ।

मार्टमा ३० जना विभिन्न विदेशी पर्यटन क्षेत्रका व्यक्तित्वहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?