४ वैशाख, चितवन । चितवनमा गत आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना हुने क्रम घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् ।
कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् । तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएको उनले जानकारी दिए ।
मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उनले जानकारी दिए ।
गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए । ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका बताउँदै उनले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका बताए ।
जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए । उनका अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएका थिए ।
नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उनले बताए ।
तीव्र गति, उछिन्दा, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक थापाले बताए । –रासस
प्रतिक्रिया 4