News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्ट २०२६ मा ३४ नेपाली पर्यटन कम्पनीको सहभागितामा विविध पर्यटन उत्पादन प्रवर्द्धन गरेको छ।
- जनवरी २०२६ मा भारतीय पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ र भारत नेपालका प्रमुख स्रोत बजार हुन्।
- नेपाल–भारतबीच खुला सिमाना, सडक तथा हवाई सम्पर्कले भारतीय पर्यटकका लागि नेपाल यात्रा सहज भएको बोर्डले जनाएको छ।
२५ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एसियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘आउटबाउन्ड ट्राभल मार्ट मुम्बई २०२६’ (ओटीएम) मा सहभागिता जनाएको छ ।
मार्टमा नेपालका विविध पर्यटन उत्पादन प्रवर्द्धन गरेको बोर्डले जनाएको छ । फेब्रुअरी ५ देखि ७ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न मार्टमा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित भएको देखिन्छ ।
नेपाल पभिलियन मार्फत यस वर्ष नेपालले ३४ वटा प्रतिष्ठित नेपाली पर्यटन कम्पनीको सहभागितामा लक्जरी रिसोर्ट, साहसिक पर्यटन, आध्यात्मिक गन्तव्य, वेलनेस, माइस तथा डेस्टिनेसन म्यानेजमेन्ट सेवासम्मका पर्यटन उत्पादन भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी समक्ष प्रस्तुत गरेको थियो ।
ओटीएम मुम्बई भारतको सबैभन्दा ठूलो आउटबाउन्ड ट्राभल बजारको प्रवेशद्वारका रूपमा परिचित छ । तीन दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले एसियाली पर्यटन प्रवृत्तिलाई दिशा दिँदै करोडौं डलर बराबर व्यावसायिक साझेदारी सम्भव बनाउँदै आएको छ ।
नेपालले २५ वर्षभन्दा बढी समयदेखि ओटीएममा निरन्तर सहभागिता जनाउँदै आएको छ र यस अवधिमा नेपाल केवल तीर्थ तथा ट्रेकिङ गन्तव्यबाट बहुआयामिक लक्जरी, साहसिक र व्यावसायिक पर्यटन केन्द्रका रूपमा स्थापित भएको छ ।
नेपाल पभिलियन सांस्कृतिक मौलिकता, जीवन्त प्रस्तुति र प्रभावकारी गन्तव्य प्रवर्द्धनका कारण सधैं भारतीय पर्यटन व्यवसायीको आकर्षणको केन्द्र बन्दै आएको छ । विगतमा नेपाल पभिलियनले उत्कृष्ट गन्तव्य प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतीकरणका लागि विभिन्न पुरस्कार समेत जितिसकेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्रले उल्लेखनीय लचकता र पुनरुत्थान देखाएको बोर्डले जनाएको छ । सबै प्रमुख पर्यटन गन्तव्य, ट्रेकिङ मार्ग, साहसिक गतिविधि तथा सांस्कृतिक सम्पदा पूर्णरूपमा सञ्चालनमा छन् ।
विशेषगरी भारतीय पर्यटक आगमन पुन: तीव्र रूपमा बढेको छ । जनवरी २०२६ मा भारतीय पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
‘जेनजी आन्दोलनले क्षति पुर्याए पनि हामीले निकै छोटो समयमा पुनरुत्थान गरिसकेका छौं, नेपाल सदा झैं विश्वका पाहुनालाई न्यानो आतिथ्यका साथ स्वागत गर्न पूर्ण तयार छ,’ पर्यटक आगमन वृद्धि र ओटीएम मुम्बई २०२६ का अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने, ‘ओटीएम मुम्बई २०२६ मा ३४ अग्रणी कम्पनी सहितको सहभागिताले भारतसँगको हाम्रो प्रतिबद्धता र नेपाललाई सुरक्षित, स्थिर तथा विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्छ ।’
नेपाल–भारतबीचको खुला सिमाना, सडक तथा हवाई सम्पर्क, स्थिर मुद्रा विनिमय व्यवस्था र डिजिटल भुक्तानी प्रणाली (यूपीआई–फोनपे) ले भारतीय पर्यटकका लागि नेपाल यात्रा अझ सहज बनेको छ । भारतबाट आउने पर्यटक नेपालको कुल अन्तर्राष्ट्रिय आगमनको २५–३० प्रतिशत हिस्सा ओगट्ने प्रमुख बजार हुन् ।
२०२५ मा मात्रै नेपालले २ लाख ९३ हजारभन्दा बढी भारतीय पर्यटक स्वागत गरेको थियो । यस वर्ष ओटीएम सहभागितामा नेपालले विशेषगरी धार्मिक तथा तीर्थ पर्यटन, विकेन्ड गेटवे, लक्जरी र वेलनेस, साहसिक पर्यटन, माइस, विवाह तथा हनिमुन गन्तव्यलाई भारतीय बजार लक्षित रणनीतिक प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो ।
पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनीजस्ता पवित्रस्थलदेखि पोखरा, चितवन र हिमाली साहसिक गन्तव्यसम्म नेपालका विविध अनुभव प्रभावकारी रूपमा ब्रान्डिङ गरिएको थियो ।
मुम्बईमा आयोजित ओटीएम २०२६ मार्फत भारतको मञ्चबाट नेपालले विश्वभरिका पर्यटकलाई नेपाल घुम्न निम्तोसमेत दिएको छ । नेपालले आगामी दिनमा पनि भारतलाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र अनुभव–केन्द्रित पर्यटन विकासमा जोड दिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4