कलाकार रेखा थापाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिह्न ताराको प्रचार गर्दै उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेको पोस्टहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर, हाम्रो तथ्य जाँचले भने उनले यस्तो अभिव्यक्ति नदिएको र उनको निधारमा भएको तारा अंकित फोटो सम्पादन गरी थपिएको पुष्टि गरेको छ।
के हो दाबी ?
प्रसाद रोहिणी गौतम नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ४ तारिख बुधबार कलाकार रेखा थापाले नमस्कार गर्दै तारा अङ्कित पट्टी निधारमा लगाएको फोटोसहित राखिएको पोस्ट राख्दै क्याप्सनमा प्रचण्डको पक्षमा उनले बोलेको दावी गरिएको छ।
१७ हजार फलोअर्स भएको प्रसाद रोहिणी गौतमको फेसबुक एकाउन्टमा राखिएको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा ९ हजार ६ सय लाइक, एक हजार ४ सय कमेन्ट र चार सय ६० पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, उक्त फेसबुक एकाउन्टमा राखिएको पोस्टको स्क्रिन सट :

उक्त फेसबुक एकाउन्टमा राखिएको पोस्टको लिंक र अर्काइभ लिंक
सोही क्याप्सन र फोटोसहित नेपाली कम्युनिष्ट पार्टी नामक फेसबुक एकाउन्टमा पनि यस्तै पोस्ट राखिएको छ। नेपाली कम्युनिष्ट पार्टी नामक फेसबुक एकाउन्टमा पनि फेब्रुअरी ४ तारिख बुधबार साँझ राखिएको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा तीन हजार ५०० लाइक, तीन सय ६० कमेन्ट र दुई सय १९ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, नेपाली कम्युनिष्ट पार्टी नामक फेसबुक एकाउन्टमा राखिएको पोस्टको स्क्रिन सट :

उक्त फेसबुक एकाउन्टमा राखिएको पोस्टको लिंक र अर्काइभ लिंक
उक्त फोटोसहित विभिन्न क्याप्सन राखेर शेर सि विश्वकर्मा लगायतका फेसबुक एकाउन्टहरूमा पनि पोस्ट गरिएको छ ।
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले कलाकार रेखा थापाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कुनै पनि प्रकारको सार्वजनिक अभिव्यक्ति र सन्देश व्यक्त गरेको फेला पार्न सकेनौँ । तर, रेखा थापाले नमस्कार गर्दै तारा अङ्कित पट्टी निधारमा लगाएको फोटो भने सम्पादन भएको पायौं।
रेखा थापाले स्वयं आफ्नो इन्स्टाग्राम एकाउन्टमा सन् २०२५ सेप्टेम्बर २५ मा ‘नमस्ते’ क्याप्सनसहित फोटो अपलोड गरेकी थिइन् ।
हेर्नुहोस्, रेखा थापाले इन्स्टाग्राममा अपलोड गरेको फोटोको स्क्रिन सट :

रेखा थापाले इन्स्टाग्राममा अपलोड गरेको फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्
दुई फोटोको तुलना गर्दा वास्तविक फोटोलाई सम्पादन गरी निधारमा तारा थपिएको देखिन्छ।

भाइरल फोटो र अभिव्यक्तिबारे रेखा थापाले कान्तिपुरसँग पुरानो विज्ञापनको तस्बिरलाई ल्याएर अहिले दुरुपयोग गरिएको बताउँदै प्रचण्डलाई भोट दिनुस् भनेर कुनै अपिल नगरेको स्पष्ट पारेकी छिन्। कान्तिपुर दैनिकमा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यसअघि प्रसाद रोहिणी गौतम नामकै फेसबुक अकाउन्टले कलाकार राजेश हमालको फोटो सम्पादन गरी क्यापमा तारा थपेर भाइरल बनाएको विषयको पनि तथ्य जाँच गरिसकेका छौँ। तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस्।
तथ्य जाँच
दावी : कलाकार रेखा थापाले प्रचण्डको पक्षमा मत मागेको भन्दै भाइरल तस्वीर र सन्देश ।
दावीकर्ता : प्रसाद रोहिणी गौतम, नेपाली कम्युनिष्ट पार्टी र शेर सिं विश्वकर्मा लगायतका फेसबुक एकाउन्ट
तथ्य : भ्रामक सूचना। रेखा थापाले नेपाली कम्युनिष्ट पार्टी र त्यसका संयोजक पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मत मागेकी छैनन्। उनले आफ्नै इन्स्टाग्राममा अपलोड गरेको नमस्कार गर्दै गरेको फोटोमा सम्पादन गरी तारा अंकित पट्टी निधारमा लगाइएको दुई फोटोको तुलना गर्दा स्पष्ट देखिन्छ।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
प्रतिक्रिया 4