+
+
Shares

चीनले बनायो उसैन बोल्ट जस्तै संसारकै तेज रोबोट ‘बोल्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १३:३७

चर्चित धावक उसैन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन् । अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ।

चीनको रोबोट प्रविधि कम्पनी मिरर मी टेक्नोलोजीले ‘बोल्ट नामको एक मानवरूपी अर्थात् ह्युमनोइड रोबोट निर्माण गरेको हो । उक्त रोबोट संसारकै सबैभन्दा छिटो दौडने रोबोट भएको दाबी कम्पनीको छ ।

स्मरण रहोस् ह्युमनोइड रोबोट भनेको दुई खुट्टामा मानिसझैँ हिँड्न र दौडन सक्ने रोबोट हो ।

कम्पनीका अनुसार बोल्ट नामक उक्त रोबोटले दौडिएर एक सेकेन्डमै १० मिटर दूरी पार गर्न सक्छ । यस रोबोटको तौल ७५ किलोग्राम र उचाइ ५ फिट ७ इन्च छ ।

कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको भिडियोमा बोल्टको गति देखाइएको छ।

भिडियोमा प्रयोगशालाभित्र ट्रेडमिलजस्तो सतहमा मानिस र रोबोटबीच दौड प्रतियोगिता हुँदा गति बढ्दै गएपछि मानिस लडखडाएर लडेको देखिन्छ । तर, बोल्ट रोबोट पनि निकै तीव्र गतिमा दौडिरहेको हुन्छ र उच्चतम तीव्र गतिमा १० मिटरको दूरी एक सेकेन्डमै पार गरेको देखिन्छ ।

एक्समा सार्वजनिक भिडियोमा रोबोटसँगै ट्रेडमिलमा दौडने व्यक्ति सो कम्पनीका मालिक स्वयं भएको बताइएको छ ।

बोल्टको दौडने शैली मानिसको जस्तै रहेको कम्पनीले जनाएको छ । जीउको सन्तुलन कायम राख्नका लागि यो रोबोटले दौडिने बेला हात र टाउको चलाउने गर्दछ । जसले यो रोबोटलाई अन्य रोबोटभन्दा फरक बनाएको छ ।

मिडिया रिपोर्टअनुसार मिरर मी कम्पनीको लक्ष्य चाहीँ सामान्य रोबोटभन्दा अगाडि बढेर खेलकुदको क्षेत्रमा मानिस सरह वा मानिसभन्दा राम्रो प्रदर्शन गर्न सक्ने ‘सुपर रोबोट’ विकास गर्नु हो ।

मिररमी कम्पनीको यसअघिको अर्को रोबोट ब्ल्याक प्यान्थर द्वितीयले यसअघि १०० मिटर दौड १३.१७ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएको थियो । यस्तो उच्च गति चर्चित रोबोट निर्माता बोस्टन डायनामिक्स का रोबोटहरूले पनि हासिल गर्न सकेका छैनन् ।

विज्ञहरुका अनुसार बोल्टजस्ता रोबोटहरू भविष्यमा धावकहरुको प्रशिक्षणमा सहयोगी बन्न सक्ने सम्भावना छ । यद्यपि हालसम्म यो रोबोट प्रयोगशालामा मात्र परीक्षण गरिएको हुनाले वास्तविक वातावरणमा यसको प्रदर्शन कस्तो हुन्छ भन्ने विषयमा थप परीक्षण आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?