२५ माघ, जनकपुरधाम । गत मंगलबार अपराह्न साढे ४ बजेतिर खेतबाट फर्कँदै गरेका जलेश्वर नगरपालिका–१२ थरुवाहीका अक्षयलाल महरा निराश देखिन्थे । उनले १० कठ्ठा जमिनमा लगाएको गहुँमा सिँचाइ पुग्नसकेको छैन । खेत छेउमा न त नहर-कुलो छ, न त बोरिङ । न बिजुली नै ।
‘१० कठ्ठामा गहुँ लगाएको छु । गहुँमा पानी पटाउनुपर्छ । तर सिँचाइ गर्न सकेको छैन,’ महराले अनलाइनखबरसँग गुनासो पोख्दै भने, ‘सिँचाइको कुनै सुविधा नै छैन । सिँचाइ नगरे गहुँ सप्रिँदैन ।’
विगतमा निर्वाचनको बेला आउने उम्मेदवारहरू सिँचाइका लागि ‘यो गर्छु, त्यो गर्छु’ भन्दै आश्वासन बाँड्थे । ‘वाचा गरेर चुनाव जित्ने, जितेपछि केही नगर्ने । कोहीकोही त कहिल्यै फर्केरै आएनन्,’ नेताका व्यवहारसँग महराले दिक्दारी सुनाए ।

महराको गाउँ महोत्तरी-३ मा पर्छ । यस क्षेत्रबाट २०७४ र २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै पटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विजयी भएका थिए । ०७९ को निर्वाचनमा ठाकुरले अन्तिम पटक भन्दै ‘एउटा लकडी सम्झेर’ मत मागेको महरा सम्झन्छन् । मृत्युपछि हिन्दु परम्परामा दाहसंस्कार गर्ने बेला मलामीले प्रार्थिव शरीर वा चितामा चढाइने आँप वा बेलको सानो हाँगालाई ‘लकडी’ भनिन्छ ।
‘धेरै आश्वासन दिएर उहाँले अब राजनीतिबाट सन्यास लिन्छु । यो अन्तिम चुनाव हो, लकडी सम्झेर मत दिनुस् भन्नु भएको थियो । विश्वास गरेर दोस्रो पटक पनि जितायौँ । त्यसपछि उहाँ फर्केर पनि आउनुभएन,’ महराले सुनाए ।
महराको खेत जलेश्वर नगरपालिका–७, महादेवपट्टी टोलको दक्षिणतर्फ पर्छ । उनीजस्तै त्यहाँका धेरै किसान सिँचाइको समस्यामा छन् । यसवर्ष करिब २०० मिटर तलका खेतमा किसानले लगाएको बालीनाली सिँचाइ अभावमा फस्टाउन सकेको छैन ।
सिँचाइ नहुँदा यसवर्ष पौने दुईसय बिघामा लगाइएको धान खेती खडेरीले प्रभावित भएको महादेवपट्टी टोलका प्रभन्स ठाकुरले दुःखेसो सुनाए । ‘रातु नदीको कुलोबाट ल्याएको पानी महादेवपट्टी टोलको खोतबारी डुबानमा पुग्छ । तर छेउकै हाम्रो खेतमा सिँचाइ गर्न नसक्दा मेरो २२ कठा धान सुक्यो,’ ठाकुरले गुनासो गरे ।
उनको भनाइमा त्यहाँबाट आठ इन्च मात्रको पाइप जडान गरी तल पानी पुर्याउन सके सबै किसानको समस्या समाधान हुनेछ । ‘विगतमा महन्थ ठाकुरले सिँचाइका लागि नालाको समस्या समाधान गर्छु, बोरिङ उपलब्ध गराउँछु भनेर आश्वासन दिनु भएको थियो । तर दुईपटक जिताएर पठाउँदा पनि केही गर्नुभएन,’ ठाकुर भन्छन् ।
त्यही महादेवपट्टीमा रहेका खेतको उत्तरतिर रातु नदीको पानीको डुबानको समस्या पनि उस्तै छ । डुबानकै कारण धेरै खेत बाँझै छन् । गाउँको पूर्वतर्फ बग्ने रातु नदीबाट ल्याइएको कुलो व्यवस्थापन हुन सकेको छैन । ‘खेतमा वैशाखसम्म डुबानमा हुन्छ । त्यसपछि मात्रै अलि सुक्छ । पानीको निकास नभएर खेत डुबेको हो’, स्थानीय एक महिलाले सुनाइन् ।

मतदातामा छैन उत्साह
अहिले फेरि निर्वाचन आएको छ । उम्मेदवारहरू अहिले भेटघाटका लागि जनताका घरदैलोसम्म पुग्न थालेका छन् । तर विगतमै नेताहरूले गरेका प्रतिबद्धता पूरा नभएकाले मतदाताहरूमा खास्सै उत्साह देखिँदैन ।
‘गरिबका लागि कोही छैन । मेरो घर अगाडि अहिलेसम्म सडक बनेको छैन । घरबाट निस्कँदा हिलो पार गर्नुपर्छ,’ मंगलबार साँझ सडक छेउमा भैँसी चराउँदै गरेका पिपरा गाउँपालिका-५ का झपसी राउतले गुनासो गरे, ‘खानेपानीका लागि कल पनि दिएनन् । नेता चुनावमा आउँदा आश्वासन मात्र पाइयो ।’
झपसीजस्तै गुनासो एकडारा गाउँपालिका-२ दक्षिणबारी टोलका ६५ वर्षीय नागेन्द्र मण्डलको पनि छ । यो गाउँ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको पुर्ख्याैली गाउँ हो ।
‘लोकतन्त्र आएयता गाउँमा के भयो ? गाउँको सडक पनि राम्ररी बनेको छैन,’ उनले भने, ‘अनुदानमा पार्टीगत पहुँचका आधारमा विभेद हुन्छ । शिक्षाको गुणस्तर छैन, हेल्थपोस्टमा औषधि छैन । सरकारी अस्पतालमा पुग्दा पनि पैसा तिरेरै उपचार र जाँच गराउनुपर्छ ।’
महन्थ सुरक्षित हिँडे, छोरीलाई मैदानमा उतारे
लोसपा अध्यक्ष ठाकुर यसपटक जनता समाजवादी पार्टी(जसपा) नेपालसँग पार्टी एकीकरण गरेर राष्ट्रियसभामा गइसकेका छन् । उनले यो क्षेत्रमा छोरी मिनाक्षी ठाकुरलाई जसपा नेपालबाट उम्मेदवार बनाएका छन् ।
ठाकुरले वंशवादको राजनीति थालेको आरोप लगाउँदै जसपाभित्र विद्रोह देखिएको छ । जसपाका नेता हरिनारायण यादवले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट बजरंग नेपाली, नेकपा एमालेबाट मनोजकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट राजकिशोर साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उज्वल झा, जनमत पार्टीबाट अरबिन्द ठाकुरसहित विभिन्न दल र स्वतन्त्र गरी कुल ४१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

महोत्तरी–३ मा एक लाख १० हजार ४३६ मतदाता रहेको यो क्षेत्रमा अहिले ठाकुरले छोरी मिनाक्षीलाई विरासत जोगाउने चुनौती सुम्पिएका छन् । बुबाले नै विगतमा गरेका प्रतिबद्धता पूरा नगरेको आरोपका बिच जित निकाल्नु मिनाक्षीलाई सहज नहुने देखिएको छ ।
अन्य दलका लागि पनि यो क्षेत्र सहज देखिएको छैन । २०७९ मा पाँचदलीय गठबन्धनका उम्मेदवार बनेका ठाकुर १६ हजार ३७५ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादव थिए । यादवले १४ हजार ३२५ मत पाएका थिए भने उनलाई एमालेको समर्थन थियो ।
एमालेबाट विद्रोह गरेका रामआधार कापर १२ हजार ७३३ मतसहित तेस्रो भएका थिए । उनी यसपटक पनि बागी उम्मेदवार छन् ।
२०७४ मा तत्कालीन राजपा नेपालका संयोजक ठाकुर यही क्षेत्रबाट लड्दा २६ हजार ८२५ मतसहित जितेका थिए । त्यो बेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग गठबन्धन थियो । एमालेका उम्मेदवार विजयकुमार चौधरी ८ हजार ६७६ मत पाएर निकटतम प्रतिद्वन्द्वी थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा समानुपातिकतर्फ लोसपाले १२ हजार ४८७, जसपा नेपालले १० हजार ९९६, जनमत पार्टीले ७ हजार ६८५, कांग्रेसले ६ हजार ६६६, नेपाल संघीय समाजवादी पार्टीले ६ हजार २९९ र नेकपा एमालेले ५ हजार ७६२ मत प्राप्त गरेका थिए ।
महोत्तरी–३ मा पाँच स्थानीय तहका ३५ वडा पर्छन् । यसमा जलेश्वर नगरपालिकाका सबै १२ वडा, मटिहानी नगरपालिकाका ९ वडा, एकडारा गाउँपालिकाका वडा नं. ६ बाहेकका ५ वडा, पिपरा गाउँपालिकाका वडा नं. ६ बाहेकका ६ वडा तथा मनरा–शिश्वा नगरपालिकाका वडा नं. ८, ९ र १० गरी ३ वडा समावेश छन् ।
प्रतिक्रिया 4