+
+
Shares

गगनले गण्डकीबाट दिएको सन्देश

विशेष महाधिवेशनपछिकाे परिस्थिति बुझे, रणनीति बुझाए

पाेखरामा गगन कतै नेता कार्यकर्तालाई निर्देशन दिँदै थिए, कतै आत्मलोचना गर्दै थिए त कतै विशेष महाधिवेशनलगत्तै मनोनयन दर्ता गरेर चुनावमा होमिएको कांग्रेसको अवस्थाबारे बुझ्दै थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ २४ गते ९:०७

२३ माघ, पोखरा । विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएलगत्तै चुनावमा होमिएको नेपाली कांग्रेसलाई मतदाताले कसरी हेरिरहेका छन् ? हतार–हतारमा भएको टिकट बाँडफाँट र पार्टीभित्रको आन्तरिक सन्तुलनको अवस्था कस्तो छ ?

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार बिहानैदेखि पोखरामा यी प्रश्नको उत्तर बुझ्ने–बुुझाउने काम गरे । सभापति बनेर पहिलो पटक गण्डकी प्रदेश राजधानी पोखरा आइपुगेका गगन दिनभर कार्यकर्तासँग भेटघाट, प्रशिक्षणमै व्यस्त रहे ।

उनी कतै नेता कार्यकर्तालाई निर्देशन दिँदै थिए, कतै आत्मलोचना गर्दै थिए त कतै विशेष महाधिवेशनलगत्तै मनोनयन दर्ता गरेर चुनावमा होमिएको कांग्रेसको अवस्थाबारे बुझ्दै थिए ।

कांग्रेसका निम्ति फागुन २१ को प्रतिनिधिसभा निर्वाचन किन महत्त्वपूर्ण छ ? मतदातालाई कसरी बुझाउनुपर्छ ? र, यो चुनावले पार्टीलाई कुन अवस्थामा पुर्‍याउँछ ? भन्ने बुझाउनमै गगनले जोड दिएइरहे । शुक्रबार दिउँसो नै कास्की कांग्रेसका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै गगनले अब विशेष महाधिवेशन पक्ष-विपक्ष भन्ने कोर्सको अन्त्य भइसकेको बताए ।

उनले अब चुनावमा लोकप्रिय मत ल्याएर पहिलो पार्टी बनाउँदै देशको नेतृत्व गर्ने भन्ने प्रमुख ध्येयका साथ लाग्न निर्देशन मात्रै दिएनन्, अब कांग्रेस एकढिक्का भएर अगाडि बढ्ने र आफूले कसैलाई लाखापाखा नगर्ने प्रतिबद्धतासमेत पटक-पटक व्यक्त गरे ।

विशेष महाधिवेशनबाट सभापति चुनिएर आएका गगनले पुराना नेताहरूलाई थम्थमाउने काममात्रै गरेनन्, कुनै व्यक्ति एक्लैले चमत्कार गर्छ भन्ने विश्वास नगर्नसमेत आग्रह गरे ।

विशेष महाधिवेशनपछि नेतृत्वमा आएका गगनले चुनावमा आउने परिणामको जस पनि उनले नै पाउने र प्रधानमन्त्री पनि उनी नै भए अरू नेता पछि पर्ने, अवसर नपाउने हुनसक्ने संशय चिर्ने प्रयाससमेत पोखराबाट गरेका छन् । त्यसैले त कास्कीका अगुवा नेता कार्यकर्तालाई उनले ‘अब कि बार, गगन सरकार’को सट्टा ‘अब की बार, सय पार’को नारा लगाउन नेताकार्यकर्तालाई आह्वान गरे ।

‘अब की बार यो सरकार भन्ने नारा लगाउन छोडिदिनुस् । अब कि बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले बहुमतसम्म पुग्न सकिन्छ,’ नेताकार्यकर्तालाई निर्देशन दिँदै उनले भने । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार भएकाले पुराना र नयाँ मतादातालाई टोलटोलै–घरघरै गएर बुझाउने हो भने सजिल्यै बहुमत ल्याउन सक्ने गगनको भनाइ थियो ।

‘अब कि बार यो सरकार भन्ने नारा लगाउन छोडिदिनुस् । अब की बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले बहुमतसम्म पुग्न सकिन्छ’

अघिल्लो निर्वाचनमा २७ लाख समानुपातिक मत दिएका कांग्रेसीलाई फर्काउने, फकाउने, गाली र आलोचना सुन्ने, कांग्रेस छाडेकाहरूलाई पनि फर्काउने काम गर्न गगनले आग्रह गरेका थिए । प्रत्येक कार्यकर्ता मै हो उम्मेदवार भनेर घरघरमा खटिन र कांग्रेसले देशको नेतृत्व गरेर के गर्छ भन्ने बुझाउन निर्देशन दिए ।

‘चमत्कारमा विश्वास गर्दैनौँ, जादुको छडी छैन’

पोखरा भ्रमणका क्रममा गगनले आफू चमत्कारमा विश्वास नगर्ने बताउँदै नियतमा विश्वास गर्ने बताए । त्यही कुरा मतदातासम्म पुर्‍याउन उनले नेताकार्यकर्तासँग आग्रह गरे ।

‘हामी व्यक्तिले चमत्कार गर्छ भन्ने कुरामा विश्वास गर्दैनौँ । मसँग जादुको छडी छैन । भोलि कांग्रेसले बहुमत प्राप्त गर्‍यो, तपाईले मलाई भोलि प्रधानमन्त्रीको कुर्चीमा लगेर राखिदिनुभयो त्यसपछि २४ घण्टा, ४८ घण्टामा म यो गर्छु भनेर लिएर आउने न मसँग जादुको छडी छ, न नेपाली कांग्रेसले त्यो कुरामा विश्वास गर्छ,’ गगनले नेता कार्यकर्तासँग भने, ‘यो कुरा मतदातालाई बुझाउनुपर्ने छ ।’ नियत ठिक भएको नेताले मात्र नीति ठिक बनाउने र ठिक नीतिलाई कार्यान्वयन गर्ने संकल्प राख्यो भने परिणाम आउने गगनको भनाइ थियो ।

गगनले पोखरामा आएर दिएको ‘अब कि बार, सय पार’ भन्ने नारा रणनीतिक नै हो कि बोल्दै गर्दा नेता कार्यकर्तालाई उत्साहित बनाउन सभापति थापाले बोलेका हुन् त ? गगन पक्षका एक नेताले भने, ‘पोखरामा सभापतिजीले रणनीतिक हिसाबले नै बोल्नुभएको हो र यसले मतादातामा तरंग सिर्जना गरोस् भन्ने पनि हो ।’

२०७९ मंसिरमा भएको निर्वाचनबाट ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ जना सांसदसहित कांग्रेस पहिलो दल बनेको थियो । सरकारको नेतृत्व गर्ने अवसरबाट वञ्चित बनेको कांग्रेसमा विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वले गठबन्धनबिनै चुनाव लडेको छ । कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा होमिएको छ भने पोखरामा ‘अब कि बार, सय पार’ भन्ने नयाँ नारा दिएर चुनावी माहोललाई तरंगित पार्ने प्रयास गरेका छन् ।

‘गुट-उपगुट रहेन, काखापाखा गर्दिनँ’

कांग्रेस गण्डकीको कार्यसमिति बैठकमा पनि गगनले पार्टीमा अब कुनै गुट नरहेको उद्घोषमात्रै गरेनन्, को कहाँ उभिएको थियो भनेर आफूले आउँदो दिनमा कहिल्यै निर्णय नगर्नेसमेत प्रतिबद्धता जनाएका छन् । प्रदेश कार्यसमिति बैठक तथा गण्डकी प्रदेशभरिकै १८ वटै क्षेत्रका उम्मेदवार, जिल्ला सभापतिहरूको भेलालाई गगनले सम्बोधन गरे ।

जहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि उपस्थित थिए । विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरूसमेत कार्यक्रममा थिए । त्यहाँ गगनले पटकपटक अब कांग्रेसमा कुनै गुट नभएको र यो चुनाव कांग्रेसलाई रूपान्तरण गरेर पहिलो पार्टी बनाउँदै फेरि एकपटक प्रमाणित साबित गर्ने अवसरको रूपमा लिन आग्रह गरे ।

उनले कांग्रेस नै सबैभन्दा पुरानो र सबैभन्दा नयाँ पनि यही पार्टी हो भनेर मतादातालाई बुझाउन निर्देशन दिए । ‘पुरानो पार्टी भएकोमा सबैभन्दा बढी गौरव गछौँ, त्यसको अनुभव र संघर्षको गाथालाई अनुशरण गर्छौँ र महाधिवेशनबाट सुधारिएर आएको सबैभन्दा नयाँ पार्टी पनि यही भएकाले नवयुवाको भावनाको सम्बोधन गर्छौँ भन्ने एजेण्डा घरघर पुर्‍याउनुस्,’ गगनले आग्रह गर्दै भनेका थिए ।

मतदाताले रुखमा भोट हालेकाले ती मतदाताको घरघरमा पुगेर संवाद गर्न, प्रश्न र आलोचनासमेत सुन्न गगनले नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

विशेष महाधिवेशन आएको कोर्स भएको र अब त्यो समाप्त भइसकेकाले चुनावलगत्तै केन्द्रीय समितिको बैठक बसेर नियमित महाधिवेशनको तयारी गर्ने बताउँदै गगनले अहिले नमिलेका, छुटेका नेताहरूलाई समेटेर लैजाने बताए ।

बदलिएको कांग्रेस, फेरिएको संस्कार

कांग्रेस पार्टी कार्यकर्ता र संगठन भएको पार्टी हुनाले सामाजिक सञ्जालमा मात्र रमाएर बस्न नहुने उनको भनाइ थियो । बदलिएर आएको कांग्रेसले देशलाई पनि बदल्ने तर नेता कार्यकर्ता एक ठाउँमा उभिएर दुख गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश समितिको बैठक र भेलामा सम्बोधन गरेपछि गगन थापाले सोही हलमा ११ वटै जिल्लाका सभापति, प्रमुख नेताहरू र १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई एक ठाउँमा राखेर छलफल गरेका छन् । गगनले उनीहरूलाई सँगै राखेर पछिल्लो परिस्थिति बुझ्ने र रणनीति बुझाउने काम गरेका छन् ।

चुनावअघि सभापति जिल्लामा आउँदा कुनै होटल वा गेस्ट हाउसमा बस्ने र लाइन लगाएर नेता तथा उम्मेदवारहरू भेट्न जाने संस्कार पनि गगनले बदलेका छन् । गगनले जुन ठाउँमा कार्यक्रम भयो, त्यही ठाउँमा नेताहरू र उम्मेदवारलाई एकै ठाउँमा राखेर छलफल गरेका हुन् ।

निवर्तमान शेरबहादुर देउवा समूहलाई समेत मिलाएर उनले टिकट वितरण गरेका थिए भने कतिपय जिल्लामा प्रमुख आकांक्षीदेखि बाहेकले पनि टिकट पाएको भन्दै गुनासो थियो ।

कास्कीकै क्षेत्र नम्बर ३ मा विशेष महाधिवेशनको विपक्षमा उभिएका मनोज गुरुङ, तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र २ मा शंकर भण्डारीलगायतलाई टिकट दिएका छन् भने बागलुङ, स्याङ्जा, तनहुँ, मुस्ताङ, लमजुङलगायतका जिल्लाका सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका थिएनन् ।

चुनावअघि सभापति जिल्लामा आउँदा कुनै होटल वा गेस्ट हाउसमा बस्ने र लाइन लगाएर नेता तथा उम्मेदवारहरू भेट्न जाने संस्कार पनि गगनले बदलेका छन् । गगनले जुन ठाउँमा कार्यक्रम भयो, त्यही ठाउँमा नेताहरू र उम्मेदवारलाई एकै ठाउँमा राखेर छलफल गरेका हुन् ।

गगनले आफ्नो पक्षमा खुलेका–नखुलेका सबै एक टाउँमा उभिनुको विकल्प नभएको र अबको चुनाव भनेको कांग्रेसका लागि केबल सिटमात्रै नभएर इतिहास निर्माण गर्ने अवसरका रुपमा पनि लिन आग्रह गरेको नवलपुरका सभापति महेन्द्रध्वज जिसीले जानकारी दिए ।

लमजुङका उम्मेदवार गमप्रसाद गुरुङले अब कांग्रेसमा कुनै गुट नरहेको र एक भएर मतदाताको घरदैलोमा जाँदा कसैले कांग्रेसलाई पहिलो हुनबाट रोक्न नसक्ने छलफल भएको बताए । तनहुँ–२ का उम्मेदवार भण्डारीले जिल्लाका नेताहरू छलफलमा गएको र आफ्नो सभापतिसँग पछिल्लो अवस्थाबारे कुराकानी भएको अनलाइनखबरसँग बताए ।

‘आगो निभाउन धैर्यता चाहिन्छ’

छलफलमा सहभागी उम्मेदवार र जिल्ला सभापतिले मतदातासमक्ष पुग्दाका अनुभव पनि सुनाएका थिए । जसमा ‘कांग्रेसले देश सम्हाल्छ’ विश्वास नागरिकमा भए पनि धेरै ठाउँमा मतदाताले सुन्नै नचाहेको समस्या देखिएको कुरा गगनसमक्ष राखेका थिए ।

जसको जवाफमा गगनले मतदाताले गाली नै गरे पनि सुन्ने र बुझाउने धैर्यता राख्न सुझाव दिए । त्यसो हुँदा ‘कांग्रेस देश सम्हाल्छ’ भन्ने कुरा मतादातामा पुर्‍याउन गगनको आग्रह थियो ।

‘आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, त्यो तागत हामीले राख्नुपर्नेछ । उत्तेजना जसले पनि फैलाउन सक्छ तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई,’ उनले भने, ‘हामीलाई आलोचना गर्नुस्, गाली गर्नुस्, प्रश्न गर्नुस्, उत्तर खोज्छौँ । समस्या बताउनुस् समाधान खोज्छौँ । तर, तपाईँहरूकै बिचमा बसेर नभागेर मिलाउँदै–मिलाउँदै लिएर जान्छौँ ।’ उनले यस विषयमा गहिरोसँग बुझ्नुपर्ने र मतादातालाई बुझाउने पर्ने बताए ।

भदौ २३ र २४ गते भनेर तिथिमिति घोकेरमात्र नहुने उनको भनाइ थियो । ‘त्यसको गर्भमा मुलतः दुई वटा कुरा छ । एउटा नागरिकहरूको गहिरो रिस छ । अर्को, राज्यका संस्थाहरूमाथि चरम अविश्वास छ । त्यो अविश्वास बढ्दै गए देशले नै आत्मविश्वास गुमाएको छ । समाजमा भित्रभित्र आगो बोलिरहेको छ,’ उनले भने । यस्तो बेला कांग्रेसको जिम्मेवारी सम्हाल्ने नै रहेको उनले बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?