+
+
Shares
प्रतिवाद :

मोहन तिम्सिनाजी- मार्क्सवाद देववाणी होइन, अपव्याख्या नगरौं

म के बुझ्दछु भने मार्क्सवाद कुनै जटिल र रहस्यमयी पोको होइन । यो समाज र प्रकृतिलाई हेर्ने एउटा वैज्ञानिक दृष्टिकोण हो । मार्क्सवादलाई अन्धसमर्थन गरेर होइन, यसका वस्तुवादी नियमहरूलाई बुझेर र वर्ग-पक्षधरतासहित समाज रूपान्तरणमा समर्पित भएर मात्र सच्चा मार्क्सवादी बन्न सकिन्छ ।

तुल्सीदास महर्जन तुल्सीदास महर्जन
२०८३ साउन १३ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक तुल्सीदास महर्जनले मार्क्सवादलाई रहस्यमय नभई समाज र प्रकृतिलाई हेर्ने एक वैज्ञानिक दृष्टिकोणका रूपमा व्याख्या गरेका छन् ।
  • उनले मानव समाजमा विद्यमान शोषण र विभेदको अन्त्य गर्न पुँजीवादी प्रणालीलाई बदल्नुपर्ने र त्यसका लागि श्रमिक वर्गको पक्षधरता आवश्यक रहने उल्लेख गरेका छन् ।
  • मार्क्सवादी द्वन्द्ववादलाई वैज्ञानिक आधार दिन डार्विनको उद्विकासवाद र भौतिक विज्ञानका ऊर्जा संरक्षणजस्ता सिद्धान्तहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालमा मार्क्सवाद र मार्क्सवादी पार्टीहरूको सान्दर्भिकता सकियो कि अझै बाँकी छ भन्नेबारे लेखकहरू मोहन तिम्सिना र तुल्सीदास महर्जनबीच वैचारिक वाद प्रतिवाद चलिरहेको छ । यो आलेख त्यसैको निरन्तरता हो ।

मित्र मोहन तिम्सिनाको आलेखमाथि मैले गत २०८३ असार १८ गते गरेको टिप्पणीमाथि गत असार २५ गते उनले पुन: प्रति टिप्पणी गरेकोमा विचार अन्तर्क्रियाको दृष्टिबाट अर्थपूर्ण नै रहने ठानी मैले यो आलेख तयार गरेको छु ।

खासमा नेपाललगायत विश्वभरि नै मार्क्सवादी आन्दोलनहरूले रक्षात्मक स्थिति व्यहोरिरहेको अहिलेको अवस्थामा सिद्धान्तकै तहमा बिचार बहस हुनु अन्यथा हुन्न ।

मार्क्सवाद ठिक कि बेठिक भन्ने बहस भन्दा पनि मानव समाजमा भइरहेको शोषण, विभेद, अन्याय-अत्याचार, युद्ध, हिंसा, अभाव, गरिबी लगायत सम्पूर्ण विसङ्गतिहरु जसले मानव जातिलाई दु:खको भुमरीमा फसाएको छ त्यसको निदान के हो भन्ने बहस बढी महत्वको हुन्छ भन्ने म ठान्दछु ।

मार्क्सवादलाई अङ्गाल्नुको अर्थ मार्क्स, एङ्गेल्स, लेनिन, माओ लगायतका नेताहरूको अन्धभक्त हुनु होइन उनीहरूले प्रतिपादन गरेका दर्शन, सिद्धान्त र विचारहरू सही भएको निष्कर्षको आधारमा समाजलाई उन्नत चरणमा बदल्नका लागि ती कुराहरूलाई आत्मसात गर्नु हो ।

यदि समाज बदल्न त्यसले काम गर्दैन भने अङ्गाल्नुको कुनै अर्थ रहन्न ।

यदि समाज बदल्ने ध्येय हाम्रो छैन खालि बौद्धिक बहसमा नै सीमित हुने हो भने हाम्रो बहसको पनि कुनै महत्व हुन्न । त्यस्तो बहसमा भाग लिनु समयको बर्वादी मात्र हुन्छ ।
हामी हाम्रो ध्येयमा इमान्दार छौं भने बहस सबैका लागि प्रेरणादायी नै हुने विश्वास राख्दछु ।

मित्र तिम्सिनाले आफ्नो प्रति टिप्पणीको आलेखकको सुरुमै के मार्क्सवाद दिव्य र रहस्यमय चिज हो भनी प्रश्न गरेका छन् ।

म के बुझ्दछु भने मार्क्सवाद कुनै जटिल र रहस्यमयी पोको होइन । यो समाज र प्रकृतिलाई हेर्ने एउटा वैज्ञानिक दृष्टिकोण हो । मार्क्सवादलाई अन्धसमर्थन गरेर होइन, यसका वस्तुवादी नियमहरूलाई बुझेर र वर्ग-पक्षधरतासहित समाज रूपान्तरणमा समर्पित भएर मात्र सच्चा मार्क्सवादी बन्न सकिन्छ ।

मार्क्सवादलाई अङ्गाल्नुको अर्थ मार्क्स, एङ्गेल्स, लेनिन, माओ लगायतका नेताहरूको अन्धभक्त हुनु होइन उनीहरूले प्रतिपादन गरेका दर्शन, सिद्धान्त र विचारहरू सही भएको निष्कर्षको आधारमा समाजलाई उन्नत चरणमा बदल्नका लागि ती कुराहरूलाई आत्मसात गर्नु हो ।

विज्ञान भएकाले यसभित्र पनि निरन्तर प्रश्न र खोजको गुञ्जायस रहन्छ । यदि कोही वर्तमान पुँजीवादी समाजमा शोषण छ, अन्याय अत्याचार छ र शोषण र अन्यायको कारक पुँजीवादी प्रणाली हो भन्ने बुझ्दछ र यो प्रणाली एवं समाजलाई ऊ बदल्न चाहन्छ भने उसको वर्ग पक्षधरता पुँजीजिवी वर्गतिर नभई श्रमिक वर्गको पक्षमा हुनु सान्दर्भिक हुन्छ ।
यदि त्यस्तो हुन्न भने उसका तर्कहरु जानेर वा नजानेर शोषण र अन्यायको पक्षमा केन्द्रित हुन पुग्दछन् ।

द्वन्द्ववाद र विपरितहरूको अन्तरसम्बन्ध

मार्क्सवादमा ‘सङ्घर्ष स्थायी र निरपेक्ष हुन्छ’ भन्नुको अर्थ समाजमा सधैँ काटमार भइरहन्छ भन्ने होइन, बरु वस्तु वा घटनाको अस्तित्व त्यसभित्रका विपरीत पक्षहरूको अन्तरसम्बन्धमा आधारित हुन्छ भन्ने हो । विज्ञान (विशेष गरी सापेक्षतावाद र क्वान्टम भौतिकी) ले पनि कुनै पनि वस्तुको निरपेक्ष वा स्वतन्त्र अस्तित्व अस्वीकार गर्छ ।
आदिम मानव समाजमा वर्गहरू थिएनन्, तर त्यहाँ मानव र प्रकृतिबीचको अन्तर्क्रिया थियो । यही अन्तर्क्रिया नै समाज सञ्चालनको चालक शक्ति थियो । अङ्ग्रेजीको कन्फ्लिक्ट भन्दा पनि कन्ट्राडिक्सन (अन्तरविरोध/अन्तर्क्रिया) का रूपमा सङ्घर्षलाई बुझ्नुपर्छ ।

भोलि वर्गविहीन साम्यवादी समाजमा पुग्दा पनि ज्ञान र प्रकृतिका नयाँ रहस्यहरू बिचको अन्तर्क्रिया जारी नै रहनेछ ।

प्राकृतिक र सामाजिक नियमको भिन्नता

प्राकृतिक पर्यावरण (इकोशिष्टम) मा प्राणीहरूबिचको सम्बन्ध ‘खाद्य शृङ्खला’ र आपसी निर्भरतामा आधारित हुन्छ । बाघले जरायो खानु शत्रुता होइन, बाँच्ने प्राकृतिक प्रक्रिया हो । तर मानव समाज फरक छ । मानव जातिले मस्तिष्कको विकाससँगै ‘संस्कृति’ (मानव निर्मित संरचना) को निर्माण गर्‍यो ।

वर्ग संरचना प्राकृतिक नभई सांस्कृतिक र मानव निर्मित हो । वर्गको जन्म भएपछि शोषक र शोषितबिचको अन्तरविरोध शत्रुतापूर्ण बन्न पुग्यो, किनकि शोषकको अस्तित्व नै श्रमिकको श्रम शोषणमा टिकेको हुन्छ । प्राकृतिक नियमहरू स्वचालित हुन्छन्, तर सामाजिक प्रणाली मानिसको सचेत प्रयत्नबाट मात्र रूपान्तरण हुन्छ ।

वैज्ञानिक खोज र मार्क्सवादी दर्शन

मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवाद) केवल चार्ल्स डार्विनको उद्विकासवादमा मात्र आधारित छैन । मार्क्स र एङ्गेल्सले आफ्नो दर्शनलाई वस्तुवादी बनाउन तत्कालीन समयका मुख्य वैज्ञानिक खोजहरूलाई आधार बनाएका थिए । त्यसमध्ये कोष सिद्धान्त पनि एक महत्वपूर्ण वैज्ञानिक सिद्धान्त हो । कोष सिद्धान्तले वनस्पति र प्राणीको साझा आधारभूत एकाइ कोष हो भनी प्रमाणित गर्दै जीव जगतको अन्तरसम्बन्ध देखायो ।

अर्को महत्वपूर्ण सिद्धान्त ऊर्जा संरक्षणको नियम (ल अफ कन्जर्भेसन अफ इनर्जी) हो । कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादको सत्यतालाई प्रष्ट पार्नका लागि जुलियस रोबर्ट भोन मायर र जेम्स प्रेस्कट जुलले प्रतिपादन गरेको ऊर्जा संरक्षणको नियमलाई पनि बलियो आधार बनाए । यस नियम अनुसार ऊर्जालाई न नष्ट गर्न सकिन्छ न त सिर्जना नै; यसलाई केवल एक रूपबाट अर्को रूपमा परिवर्तन (ट्रान्सफरमेसन) गर्न सकिन्छ ।

यस नियमको आधारमा मार्क्सले पदार्थ र गति (म्याटर एण्ड मोसन) को अविनाशीपन सिद्ध हुने तर्क गरे । ब्रह्माण्डमा कुनै पनि कुरा शून्यबाट आउँदैन र शून्यमा बिलाउँदैन, बरु निरन्तर रूपान्तरित भइरहन्छ भन्ने मार्क्सवादी भौतिकवादको मूल मान्यतालाई मायर र जुलको ‘ऊर्जा संरक्षणको नियम’ले वैज्ञानिक आधार प्रदान गर्यो ।

मार्क्स र एङ्गेल्सले भूगर्भशास्त्र र रसायनशास्त्रका खोजहरुलाई पनि द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्नका लागि सन्दर्भ स्रोतको रुपमा प्रस्तुत गरे । कार्ल मार्क्सले आफ्नो प्रसिद्ध ग्रन्थ दास क्यापिटलमा कृषि, माटोको उर्वराशक्ति र औद्योगिक उत्पादनको सम्बन्ध व्याख्या गर्दा वैज्ञानिक युस्टस भोन लिबिगका रसायनशास्त्रसम्बन्धी अध्ययनहरूलाई विस्तृत रूपमा उद्धृत गरेका छन् ।

त्यस्तै गरी मार्क्स र एङ्गेल्सले प्रकृतिको द्वन्द्वात्मक विकासक्रमलाई पुष्टि गर्नका लागि वैज्ञानिक चार्ल्स लायलको भूगर्भशास्त्रको सिद्धान्तलाई पनि प्रस्तुत गरेका थिए जसले पृथ्वीको सतह एक्कासी नभई करोडौँ वर्षको क्रमिक र भौतिक प्रक्रियाबाट बनेको हो भन्ने तथ्यलाई प्रकाशमा ल्याएको थियो । वैज्ञानिकहरु युस्टस भोन लिबिग र चार्ल्स लायलका खोजहरूले माटो, पृथ्वी र औद्योगिक विकासको भौतिक आधार स्पष्ट पारेका थिए ।

जीव विकासको प्रकृया सन्दर्भमा डार्विनपछि थुप्रै अन्य वैज्ञानिकहरुले थप योगदान पुर्याइसकेका छन् । तीमध्ये अमेरिकी जीव वैज्ञानिक लिन मार्गुलिस पनि प्रसिद्ध छन् । उनले जीव विकासको सन्दर्भमा एउटा सिद्धान्त प्रतिपादन गरेका छन् । त्यो हो- सिम्बायोसिस थ्योरी वा एन्डोसिम्बायोटिक थ्योरी ।

यो जीवनको उद्विकास (इभोलुसन) र जटिल जीवहरूको उत्पत्तिको व्याख्या गर्ने जीवविज्ञानको एउटा अत्यन्तै महत्त्वपूर्ण सिद्धान्त हो । आधुनिक जीवविज्ञानमा लिन मार्गुलिसको ‘सिम्बायोसिस थ्योरी’ ले उद्विकासमा ‘प्रतिस्पर्धा’ मात्र नभई ‘सहकार्य र एकीकरण’ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको छ ।

वैज्ञानिक मार्गुलिसले सन् १९६० को दशकमा यस सिद्धान्तलाई आधुनिक र वैज्ञानिक रूपमा पुनःस्थापित तथा स्थापित गरेकी हुन् । ‘सिम्बायोसिस’ को अर्थ दुई वा सोभन्दा बढी भिन्न प्रजातिका जीवहरू आपसमा मिलेर, एक-अर्कालाई सहयोग गर्दै सँगै बाँच्नु हो । यस सिद्धान्तलाई पूर्ण रूपमा ‘नयाँ थ्योरी’ भन्नुभन्दा पनि “पारम्परिक डार्विनवादको परिपूरक वा विस्तारित सिद्धान्त” भन्नु उपयुक्त हुने वैज्ञानिकहरू बताउँछन् ।

किनकि, यस सिद्धान्तले जीवनको विकासवादी प्रकृयालाई अस्वीकार गर्दैन । यसले उद्विकासको मुख्य चालक ‘प्रतिस्पर्धा’ (कम्पिटिसन), सङ्घर्ष, र साना-साना आनुवंशिक उत्परिवर्तन (म्युटेसन्स) मात्र नभई ‘सहकार्य’ (कोअपरेसन) पनि भएको तथ्यलाई पुष्टि गर्दछ । ‘सहकार्य’ हुनु भनेको जीवहरुमा बाँच्नका लागि सङ्घर्ष हुन्न भन्ने होइन ।

फरकपनाले सङ्घर्षलाई अस्तित्वमा राख्दछ र अन्तरसम्बन्धले सहकार्यलाई । कुनै सङ्घर्ष प्रत्यक्ष हुन्छ जस्तो कि ठूला जीवहरुमा बाँच्नका लागि हुने सङ्घर्ष र कुनै सङ्घर्ष सूक्ष्म हुन्छ जस्तो कि सिम्बायोसिस थ्यौरीले व्याख्या गरेझैँ करोडौं वर्षपहिले उद्विकासको क्रममा, एउटा ठूलो सूक्ष्मजीवले अर्कै सानो सूक्ष्मजीव (जस्तै: अक्सिजन प्रयोग गर्न सक्ने ब्याक्टेरिया) लाई निलेर अन्तर्ग्रहण गरेको पुष्टि मिलेको छ ।

यहाँ ठूलो सूक्ष्मजीवले सानो सूक्ष्मजीवलाई निलेर आफूमा समाहित गरेको कुरालाई प्रस्तुत गरी उनीहरुबिच सङ्घर्ष अर्थात् अन्तर्क्रिया नभएको भन्न मिल्दैन । वास्तवमा अन्तर्ग्रहण आफै एक सङ्घर्ष हो, जुन सूक्ष्म भएकोले प्रत्यक्ष नदेखिएको मात्र हो । सिम्बायोसिस थ्योरीले डार्विनको सिद्धान्तलाई गलत सिद्ध गर्दैन; बरू उद्विकासमा ‘सङ्घर्ष र प्राकृतिक चयन’ का साथसाथै ‘जैविक सहकार्य र एकीकरण’ पनि उत्तिकै शक्तिशाली माध्यम हो भन्ने कुरालाई प्रमाणित गर्छ । त्यस्तै गरी समग्रमा यसले जीवहरुबिच हुने अन्तर्क्रियालाई नै पुष्टि गर्छ, मार्क्सवादी द्वन्द्ववादलाई गलत साबित गर्दैन ।

मार्क्स र एंगेल्सका अनुसार उनीहरूभन्दा अघिका दार्शनिक (जस्तै: हेगेल) को द्वन्द्ववाद ‘काल्पनिक र अध्यात्मवादी’ थियो । डार्विनको विकासवाद, भौतिकशास्त्रको ऊर्जा संरक्षण नियम, र जीवविज्ञानको कोष सिद्धान्तजस्ता वैज्ञानिक खोजहरूले गर्दा नै द्वन्द्ववादलाई काल्पनिक विचारबाट निकालेर वैज्ञानिक र भौतिकवादी रूप दिन सम्भव भएको थियो । तसर्थ विज्ञानको कोणबाट हेर्दा मार्क्सवादले दिएको द्वन्द्वात्मक भौतिकवाद केबल डार्विनको विकासवादको जगमा नै उभिएको निष्कर्ष निकाल्नु सही हुन्न ।

विज्ञानमा चाहे तथ्य होस् चाहे सिद्धान्तका कुरा जुनकुनैको पनि थप उजागर र थप विकासको ढोका सधैँ खुला रहन्छ । विद्यमान ज्ञान र निष्कर्षको सीमाभित्र सीमित नहुनु र सीमाहरुलाई भत्काउन सधैँ प्रश्न गर्नु तथा जिज्ञासु हुनु नै विज्ञान हो । त्यसैले चाहे डार्विन होऊन् चाहे न्यूटन या चाहे आइन्स्टाइन नै किन नहोऊन् उनीहरुको ज्ञान र निष्कर्षहरुलाई प्रश्न गरेर नै आधुनिक समयसम्म विज्ञानले प्रगति गर्दै आएको हो र अनन्त भविष्यसम्म पनि यो प्रकृया जारी नै रहन्छ । तर विज्ञानको हरेक नयाँ खुड्किलो अघिल्लो खुड्किलोकै जगमा खडा हुने हामीले बिर्सनु हुन्न ।

कार्ल मार्क्स

मार्क्सवादले संसारलाई द्वन्द्वात्मक दृष्टिकोणबाट हेर्नुपर्ने कुरामा जोड दिन्छ । यस दृष्टिकोणमा वस्तुभित्र विपरित तत्वहरुको सङ्घर्ष अर्थात् अन्तर्क्रिया र एकता हुने तर्क गरिन्छ । मित्र तिम्सिनाले प्रकृतिलाई ‘विपरित तत्व’ मा विभाजित गर्ने र दुई ‘विपरित’ अवयव बिचमा सङ्घर्ष देख्ने परम्परा एरिस्टोटलबाट शुरु भयो भनेका छन् । यो तथ्य सङ्गत देखिएन ।

प्रकृतिलाई ‘विपरित तत्त्व’ (अपोजिट्स/कन्ट्राडिक्सन्स) मा विभाजित गर्ने र ती विपरित तत्त्वहरू बिचको सङ्घर्षबाट नै परिवर्तन वा गति पैदा हुन्छ भन्ने सोच्ने परम्परा एरिस्टोटलभन्दा धेरै अघि सोक्रेटिस-पूर्वका ग्रिक दार्शनिकहरूबाट सुरु भएको हो । तथ्यहरुले के भन्छन् भने एरिस्टोटल (ई.पू. ३८४ – ३२२) भन्दा धेरै पहिले नै ग्रिक दर्शनमा प्रकृतिलाई द्वन्द्वात्मक (डाइलेक्टिकल) ढङ्गले हेर्ने परम्परा बसिसकेको थियो ।

द्वन्द्ववादलाई एरिस्टोटलले मात्र होइन, सोक्रेटिस-पूर्वका ग्रीक दार्शनिक हेराक्लाइटसले ‘सङ्घर्ष नै सबै कुराको पिता हो’ भन्दै अघि सारेका थिए । हेराक्लाइटस (ई.पू. ५३५ – ४७५) नै त्यस्ता महान् दार्शनिक थिए जसले पहिलो पटक विपरित अवयवबीचको सङ्घर्षलाई प्रकृतिको मूल नियम माने । उनको प्रसिद्ध भनाइ थियो- ‘सङ्घर्ष नै सबै कुराको पिता र राजा हो’ । उनले प्रकृतिमा तातो-चिसो, दिन-रात, जीवन-मृत्युजस्ता विपरित शक्तिहरू निरन्तर सङ्घर्षमा रहने र त्यही सङ्घर्षले गर्दा नै संसारमा परिवर्तन (फ्लक्स) आउने सिद्धान्त (युनिटी अफ अपोजिट्स) दिएका थिए । त्यस्तै बिचार व्यक्त गर्ने अर्का ग्रीक दार्शनिक थिए- एम्पेदोक्लेस (ई.पू. ४९४- ४३४) । उनले सम्पूर्ण ब्रह्माण्ड चार मूल तत्त्व (पृथ्वी, जल, तेज, वायु) ले बनेको र ती तत्त्वहरूलाई सञ्चालन गर्न प्रेम (लभ/अट्राक्सन) र सङ्घर्ष नामका दुई विपरीत शक्तिहरूबिच निरन्तर खिचातानी भइरहन्छ भन्ने सिद्धान्त दिएका थिए । तसर्थ विपरित तत्वहरू र तिनीहरू बिचको सङ्घर्षको कुरा गर्ने प्रथम दार्शनिक एरिस्टोटल थिएन । बरु उनले यो बिचारलाई समृद्ध बनाएका हुन् । उनले आफ्नो ग्रन्थ फिजिक्समा कुनै पनि वस्तुमा हुने परिवर्तनलाई व्याख्या गर्दा ‘विपरीत तत्त्वहरू’ (कन्ट्रारिज) को सहारा लिए । उनका अनुसार परिवर्तन भनेको एउटा विपरित अवस्थाबाट अर्को विपरित अवस्थामा जानु हो (जस्तै: अज्ञानीबाट ज्ञानी हुनु, वा चिसोबाट तातो हुनु)।

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले द्वन्द्वात्मक भौतिकवादको ऐतिहासिक जरा खोतल्दा हेराक्लाइटस र एरिस्टोटल दुवैको चर्चा गरेका छन् । उनीहरूले हेराक्लाइटसलाई द्वन्द्ववाद (प्रकृतिमा विपरित तत्त्वको सङ्घर्ष र निरन्तर गति) को वास्तविक प्रवर्द्धक मानेका छन् । एरिस्टोटललाई भने उनीहरूले प्राचीन समयको सबैभन्दा ठूलो र बहुआयामिक विचारक माने तापनि, एरिस्टोटलको तर्कशास्त्र (फर्मल लजिक) ले वस्तुलाई स्थिर रूपमा हेर्ने (मेटाफिजिकल थिङ्किङ) जग पनि बसालेको आलोचना गरेका छन् ।

तसर्थ, प्रकृतिमा ‘विपरित अवयव र तिनको सङ्घर्ष’ देख्ने परम्परा एरिस्टोटलबाट होइन, हेराक्लाइटस र सोक्रेटिस-पूर्वका ग्रिक प्रकृति-दार्शनिकहरूबाट सुरु भएको हो ।

वस्तु वा घटनाभित्र विद्यमान विपरित तत्वहरूबीच हुने सङ्घर्ष र एकता (सहअस्तित्व) कुनैमा प्रत्यक्ष वा स्थुल त कुनैमा सूक्ष्म तहमा हुन्छ । स्थुल रूपमा देखिने सङ्घर्ष मात्र सङ्घर्ष हो भनेर बुझ्नु ज्ञानलाई गहिराइसम्म विस्तार नगर्नु हो । प्रकृतिका हरेक नियम शाश्वत हुन्छ । ती नियमहरूलाई केलाउँदा खास समय र परिवेशमा (टाइम एण्ड स्पेश) कुनै एक घटना कारण बन्छ भने अर्को कुनै परिणाम वा कार्य बन्छ । एउटा समय र परिवेशमा परिणाम वा कार्य बनेको त्यही घटना फेरि अर्को समय र परिवेशका लागि कारण बन्दछ । हरेक घटना (वा वस्तु) कारण र कार्यको शृङ्खलामा नै एक अर्कामा रूपान्तरित हुँदै जान्छ । गति यसैको नाम हो । त्यसैले गति मात्र प्रकृतिको शाश्वत नियम होइन गति पैदा गर्ने प्रकृया पनि प्रकृतिको शाश्वत नियमभित्र पर्दछ । त्यो प्रकृयाभित्र विपरित तत्वहरुको सङ्घर्ष र एकताको नियम रहेको हुन्छ । त्यसैले विपरित तत्वहरुबिचको सङ्घर्ष र एकताको कुरो मानव समाजभित्र मात्र होइन प्रकृतिभित्र हर सन्दर्भमा लागु भएको हुन्छ । आखिर मानव र मानव समाज पनि त प्रकृतिकै हिस्सा त हो नि ।

भौतिक विज्ञानका नियम सोझै समाजशास्त्रमा ढालिनुको त्रुटि

प्रकृति र मानव समाजको गति एवं परिवर्तन प्रकृयामा केही भिन्नता छ । किनकि, मानव समाजमा प्रकृतिमा भन्दा थप कुरा संस्कृति छ । प्रकृति स्वनिर्मित र स्वसंचालित छ । मानव समाज प्राकृतिक होइन सांस्कृतिक हो । यानी कि मानव समाज मानव जाति र समुदायको विकास क्रममा प्रकृति र स्वयं आफ्नै समुदायभित्रको अन्तरक्रियाबाट आकारित हुँदै आदिम जङ्गली युगबाट आधुनिक युगसम्म विकसित भएको छ । संस्कृति मानव निर्मित हो । मानव जातिले प्रकृतिलाई आफ्नो अनुकूल प्रयोजन त गर्न सक्छ, तर त्यस भित्रको नियमलाई बदल्न सक्दैन । संस्कृति मानव जाति आफैले निर्माण गरेको कारणले त्यसलाई ठिक-बेठिक, न्याय-अन्याय र पश्चगामी-अग्रगामी के छ जानी बुझी छनौट गरेर कुन बाटो अङ्गाल्ने हो निर्क्यौल गर्न सकिन्छ ।

त्यसैले क्वान्टम भौतिकीको ‘कण र तरङ्ग’ (पार्टिकल-वेभ डुवालिटी) को नियमलाई सोझै समाजशास्त्रमा लागू गर्दै ‘निजी र सामूहिक धन एकैचोटि जन्मेका हुन्’ भन्नु ‘फिजिकल रिडक्सनिज्म’ (विधिगत त्रुटि) हो । भौतिक कणको सूक्ष्म व्यवहार र सामाजिक-आर्थिक सम्बन्ध भिन्नै तहका जटिल प्रणाली हुन् ।

त्यस्तै, आगो, भाषा, सम्पत्ति र संस्था एकैपटक ‘नाटकीय रूपमा’ (इमर्जेन्ट फेनोमेनन) उब्जिएका होइनन् । मानवशास्त्र अनुसार यी लाखौँ वर्षको क्रमिक विकासका परिणाम हुन् । उदाहरणका लागि, आगोको प्रयोग (करिब १०-१५ लाख वर्ष पहिले) र भाषाको विकास धेरै अघि भएको हो भने ‘सम्पत्तिको चेतना’ कृषि युग (करिब १०,००० वर्ष पहिले) पछि मात्र सङ्ग्रहणीय रूपमा देखा परेको हो ।

मार्क्सवादका सार्वभौम वैज्ञानिक नियमहरूलाई आत्मसात गर्दै, इतिहास र विज्ञानका नयाँ निष्कर्षहरूसँग जोडेर उन्नत समाजवादतर्फ अघि बढ्नु नै आजको वस्तुवादी बाटो हो ।

मार्क्स र एङ्गेल्सले ‘आदिम साम्यवाद’ भन्नाले कुनै आदर्शवादी स्वर्ग वा ‘धन’ को विकसित धारणा भएको समाज भनेका होइनन् । उत्पादनका साधनहरू (शिकार, फलफूल) अति सीमित भएको र प्राविधिक रूपमा सङ्ग्रह (सरप्लस) गर्न असम्भव भएको अवस्थामा निजी स्वामित्वको वस्तुगत आधार नै थिएन भन्ने उनीहरूको निष्कर्ष हो ।

मार्क्सवादी द्वन्द्ववादले पनि क्रमभङ्ग (क्वालिटाटिभ लिप) लाई मान्छ । तर मार्क्सवादका अनुसार यो क्रमभङ्ग हावाबाट वा निरपेक्ष रूपमा हुँदैन; उत्पादन शक्ति (औजार/प्रविधि) को मात्रात्मक विकासले पुरानो उत्पादन सम्बन्धसँग टकराएपछि गुणात्मक फड्को मार्छ । कृषि युग र अतिरिक्त उत्पादन (सर्प्लस प्रोडक्ट) सम्भव भएपछि मात्रै निजी सम्पत्ति र वर्गको उदय भएको ऐतिहासिक तथ्य हो ।

मानव स्वभाव र सामाजिक संरचना

आधुनिक स्नायुविज्ञान (न्युरोसाइन्स) अनुसार मानव स्वभाव स्थिर हुँदैन । मानिसमा लोभ र आक्रामकता जस्तै दया र सहकार्यका जैविक आधार पनि हुन्छन् । मार्क्सले ‘फायरबाखमाथि शोधनिबन्ध’ मा भनेझैँ- ‘मानव सार सामाजिक सम्बन्धहरूको योगफल हो।’

लोभ शाश्वत मानव स्वभाव होइन । पुँजीवादी व्यवस्थाले मानिसको स्वार्थ र लोभलाई संस्थागत गर्दै पुरस्कृत गर्छ भने सहयोगलाई ओझेलमा पार्छ । त्यसैले समस्या मानिसको जैविक बनावटमा होइन, पूँजीवादी उत्पादन सम्बन्धमा छ ।

अमेरिका (उदारवादी पूँजीवाद) र चीन (राज्य पूँजीवाद/औद्योगिक समाजवाद) दुवैले वातावरणीय सङ्कट निम्त्याएका छन् भन्ने मित्र तिम्सिनाको भनाइ पूर्णतः तथ्यपरक छ । औद्योगिक क्रान्तिपछिको ‘उत्पादनशीलतावादी’ मोडलले प्रकृतिका सीमाहरूलाई बेवास्ता गरेकै हो ।

मार्क्सले दास क्यापिटलमा पुँजीवादले मानिस र प्रकृति बीचको प्राकृतिक मेटाबोलिज्मलाई तोड्छ भनी स्पष्ट लेखेका छन् ।

मित्र तिम्सिनाले भनेजस्तै २० औँ शताब्दीका सोभियत वा चिनियाँ अभ्यासहरू पर्यावरणमैत्री रहेनन् (जसलाई आजका मार्क्सवादीहरूले पनि स्वीकार गर्छन्) । तर, आधुनिक ‘इको-मार्क्सवाद’ ले के तर्क गर्छ भने- अनन्त नाफा कमाउनै पर्ने पुँजीवादको अनिवार्य नियम (अकुमुलेट अर डाइ) नै पर्यावरण विनाशको मुख्य कारक हो । मार्क्सवादको मूल मर्म केवल उत्पादन बढाउनु मात्र नभई, प्रकृतिका सीमाभित्र रहेर मानवीय आवश्यकता पूरा गर्नु हो ।

सचेत प्रयत्नको आवश्यकता

मित्र तिम्सिनाले वर्ग सङ्घर्ष र अतिरिक्त मूल्यलाई स्विकारे पनि ‘सर्वहारावर्गको अधिनायकत्व’ लाई केवल परिकल्पना भनेका छन् । मार्क्सवादी कोणबाट, राज्यसत्ता भनेको एउटा वर्गले अर्को वर्गमाथि शासन गर्ने औजार मात्र हो । पूँजीवादमा पूँजीपति वर्गको अधिनायकत्व हुन्छ भने, रूपान्तरणको सङ्क्रमणकालीन चरणमा बहुमत श्रमजीवीको नियन्त्रण हुनु अनिवार्य मानिन्छ । यसलाई २० औँ शताब्दीका प्रयोगहरूले कसरी नोकरशाहीमा ढालिदिए भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ, तर अवधारणात्मक रूपमा यो वर्ग-सत्ताको वैज्ञानिक विश्लेषण नै हो ।

मित्र तिम्सिनाको आलेखले मार्क्सवादभित्र छिरेका यान्त्रिक, कट्टरपन्थी (डोग्माटिक) र नोकरशाही प्रवृत्तिको सशक्त विरोध गर्दछ, जुन स्वागतयोग्य छ । तर, भौतिक विज्ञानका सिद्धान्तहरूलाई समाजशास्त्रमा जबर्जस्ती जोडेर (क्याटागोरी मिस्टेक) इतिहासका स्थापित मानवशास्त्रीय र आर्थिक तथ्यहरू (जस्तै: निजी सम्पत्तिको ऐतिहासिक उदय) लाई अस्वीकार गर्ने प्रयास वैज्ञानिक रूपमा कमजोर देखिन्छ ।

मार्क्सवाद आफैंमा कुनै ‘देववाणी’ होइन, यो एक गतिशील सामाजिक विज्ञान हो- जसलाई नयाँ वैज्ञानिक खोजहरूसँगै अद्यावधिक (अपडेट) गर्दै लैजानु नै सच्चा वैज्ञानिक दृष्टिकोण हुन्छ ।

कार्यात्मक रूपमा पानी १०० डिग्री सेल्सियस पुगेपछि वाफ बनेझैँ समाजमा पनि मात्रात्मक परिवर्तनले गुणात्मक फड्को (क्वालिटेटिभ लिप) ल्याउँछ । तर प्राकृतिक वस्तु आफैँ रूपान्तरित भए पनि, सामाजिक रूपान्तरणका लागि सचेत मानवीय प्रयत्न, सही सिद्धान्त र पद्धतिको अनिवार्य आवश्यकता पर्छ ।

क्वान्टम भौतिकी वा हाइजेनबर्गको ‘अनिश्चयको सिद्धान्त’ लाई समातेर सामाजिक परिवर्तनलाई सम्भावना मात्र मान्नु वा कारण-कार्यको नियमलाई अस्विकार गर्नु वैज्ञानिक निष्कर्षको अपव्याख्या मात्र हो । पूँजीवादले ल्याएका सङ्कट, वातावरणीय दोहन र वर्गीय शोषणको हल पूँजीवादभित्र सम्भव छैन ।

त्यसैले, मार्क्सवादका सार्वभौम वैज्ञानिक नियमहरूलाई आत्मसात गर्दै, इतिहास र विज्ञानका नयाँ निष्कर्षहरूसँग जोडेर उन्नत समाजवादतर्फ अघि बढ्नु नै आजको वस्तुवादी बाटो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?