+
+
Shares

सरकारले ल्यायो ‘एएमपीआईएस नेपाल’ एप, किसानले  दैनिक थोक मूल्य जानकारी पाउने

यस एपमार्फत अब देशभरिका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि विभागले किसानलाई कृषि उपजको बजार मूल्य उपलब्ध गराउने उद्देश्यले ‘एएमपीआईएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
  • एपमार्फत देशभरिका १२ संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको छ ।
  • कृषिमन्त्री गिता चौधरीले यो एपमार्फत कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै किसानलाई बिचौलियाको निर्भरताबाट मुक्त गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।

१२ साउन, काठमाडौं । किसानलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले ‘एएमपीआईएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस एपमार्फत अब देशभरिका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।

मन्त्रिपरिषद्को १३ चैत २०८२ मा स्वीकृत शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची अन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्‍याउने’ कार्यक्रम कार्यान्वयन गर्न विभागले यो एप निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

‘किसानलाई बिचौलियामा निर्भर हुनु नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप सञ्चालनमा ल्याइएको हो,’ कृषिमन्त्री गिता चौधरीले भनिन्, ‘कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधि प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा छ ।’

यसअघि कृषि विभागको वेबसाइट मार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणाली थप स्तरोन्नति गर्दै एप विकास गरिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालीमाटी सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत सार्वजनिक गर्न थालिएको विभागले जनाएको छ ।

उक्त एप एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिने छ । विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजार अनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति (ट्रेन्ड) तथा कृषि मौसमी सल्लाह बुलेटिन सम्बन्धी जानकारी सहज प्राप्त गर्न सक्नेछन् ।

‘यस प्रणालीले कृषकलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न, उचित मूल्य प्राप्त गर्न तथा बजार सम्बन्धी निर्णय तथ्यमा आधारित बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने छ,’ मन्त्री चौधरीले भनिन्, ‘कृषि क्षेत्रमा डिजिटल सेवा विस्तारले कृषकको सूचना पहुँच बढाउने र कृषि बजारलाई अझ प्रभावकारी बनाउने छ ।’

मोबाइल एप वा कृषि बजार सूचना प्रणाली सम्बन्धी थप जानकारी आवश्यक परे कृषि विभागकी तथ्यांक अधिकृत उर्मिला शाहीसँग जानकारी लिन सकिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?