News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक २४ वर्षीय युवकको मृत्यु भएपछि स्थिति अझै तनावपूर्ण बनेको छ।
- घटनाको जिम्मेवारीमा कमजोरी देखिएको भन्दै सरकारले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाई नयाँ टोली परिचालन गरेको छ।
- सुरक्षा व्यवस्था कडा पार्न नेपाली सेनासहितको संयुक्त सुरक्षा टोली परिचालन गरिए पनि स्थानीय प्रशासनको सर्वदलीय बैठकसमेत बस्न नसकेको अवस्था छ।
१२ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा एक जनाको ज्यान गएपछि अशान्त बनेको सुनसरी अझै उस्तै छ।
आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो। त्यसपछि उत्पन्न विवाद अझै शान्त बन्न सकेको छैन ।
झण्डा नहटाएको र चर्को आवाजमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन अत्यधिक बल प्रयोग गरेको आरोप छ।
विवादको विषयमा पूर्वजानकारी हुँदा समेत स्थानीय प्रशासन तथा सुरक्षामा कमजोरी देखिएको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेशका डीआईजी विनोद घिमिरे, सुनसरीका एसपी केशवकुमार थेबे, सशस्त्र प्रहरीका एसपी, डीएसपीलाई समेत जिम्मेवारीबाट हटाइयो ।
नयाँ सीडीओको रुपमा ईश्वरीप्रसाद अर्याललाई पठाइयो । तर गृहले सरुवा गरेका एसपी थेबे र प्रदेश प्रहरी प्रमुख डीआईजी घिमिरे घटना हुँदा बिदामा थिए।
यता सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई त गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा यसअघि नै हेडक्वाटर तानिएको थियो । उनको ठाउँमा कसैलाई पनि पठाइएको थिएन ।
सुरक्षा निकाय र नयाँ सीडीओ खटाउँदा पनि त्यहाँको अवस्था भने शान्त बन्न सकेको छैन । सुनसरी घटनापछि सोमबार साँझ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले संयुक्त रुपमा सुरक्षाकर्मी परिचालन गरेर घटनालाई जतिसक्दो चाँडो नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउने निर्णय भएको थियो ।
गहमन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार थप मद्दतका लागि सुरक्षाकर्मीको परिचालनको व्यवस्था समेत मिलाइएको थियो । हिजो साँझबाटै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसमेत टोली संयुक्त रुपमा परिचालन भए पनि स्थिति भने नियन्त्रणमा आउन सकेको छैन ।
कोशी प्रदेशका नयाँ डीआईजीको रुपमा खटिएका शेखर खनालदेखि सीडीओ, एसपीसम्मले जिम्मेवारी सम्हालेर काम थालेका छन् । तर अझै पनि स्थिति भने साम्य हुन सकेको छैन । त्यसो त आज मंगलबार सर्वदलीय बैठक समेत बस्न सकेन । सीडीओ अर्यालले सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूलाई बोलाएका थिए । तर बैठक बस्नै सकेन ।
अहिले नेपाली सेनाले सुरक्षाको कमाण्ड गर्दै गस्ती गरिरहेको छ । सुरक्षाकर्मीको उपस्थिति भएको ठाउँमा बाहेक अन्यत्र तोडफोड, आगजनीका घटना भएका छन् । स्थिति सामान्य पार्ने प्रयास भइरहेको डीआईजी खनालको भनाइ छ ।
सुनसरी घटनाको विषयलाई लिएर गृहमन्त्रालयमा आज मंगलबार पनि छलफल भएको छ । छलफलमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, गर्न नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतको उपस्थिति थियो।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो।
प्रतिक्रिया 4