+
+
Shares

सुनसरी घटनापछिको परिस्थितिमा संयमता अपनाउन सरकारको अपिल

धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज घटनापछि सरकारले शान्ति कायम राख्न र संयमता अपनाउन सर्वसाधारण तथा सबै पक्षलाई हार्दिक अपिल गरेको छ।
  • सरकारले घाइतेहरूको नि:शुल्क स्वास्थ्य उपचारको प्रबन्ध मिलाएको र दोषीउपर कानूनी कारबाही गर्ने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाएको छ।
  • गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरेर काम शुरू गरिसकेको छ।

१२ साउन, काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ ।

उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नु पर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णत: विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ ।

‘नेपाली समाजले संदियौदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा सरकारले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?