+
+
Shares

अनुगमनमा रास्वपालाई भोट मागेको भन्दै स्वास्थ्य मन्त्रीको आलोचना

सुरेश राय सुरेश राय
२०८३ साउन ३१ गते ९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाका स्वास्थ्य संस्थाको अनुगमनका क्रममा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मत दिन आग्रह गरेपछि आलोचना भएको छ।
  • मन्त्री मेहताले स्थानीय, प्रदेश र संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व भए मात्रै अस्पतालका काम प्रभावकारी हुने दाबी गरिन् ।
  • लहानस्थित अस्पतालमा राजमार्ग दुर्घटनाका घाइतेको उपचार सहज बनाउन मन्त्री मेहताले तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने घोषणा गरेकी छन् ।

३१ साउन, सिरहा । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले साउन ३० गते सिरहाका विभिन्न स्वास्थ्य संस्था अनुगमन तथा निरीक्षणको क्रममा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई भोट मागेको भन्दै आलोचना भएको छ ।

उनले आगामी निर्वाचनमा संघीय सरकारमा आफ्नो पार्टीलाई जिताएजस्तै स्थानीय तह र मधेश प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन आग्रह गरेकी थिइन् । ‘संघमा जिताउनुभएजस्तै स्थानीय तह र मधेश प्रदेशमा पनि युवा तथा सबै मिलेर निर्वाचनमा जिताउन एकपटक अझै मेहनत गर्नुपर्छ,’ उनले भनेकी थिइन् ।

जिल्लामा लामो समयदेखि बन्द रहेका अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने प्रश्नमा मन्त्री मेहताले स्थानीय, प्रदेश र संघीय सरकार एउटै पार्टीको नेतृत्वमा भए मात्रै प्रभावकारी समन्वय गरेर अस्पताल सञ्चालन गर्न सकिने बताइन् ।

तीनै तहमा रास्वपा नेतृत्वको सरकार भएमात्रै समन्वय गर्न सहज हुने र काम प्रभावकारी हुने उनको भनाइ थियो । मन्त्रीले आफ्नो पार्टीलाई निर्वाचनमा जिताउन आग्रह गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘मन्त्री स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समाधान गर्न आएकी हुन् कि मत माग्न ?’ भन्दै प्रश्न गरेका छन् ।

लहानका स्थानीय रामप्रसाद साहले वर्तमान राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै जनताले अपेक्षा गरेअनुसारको शासन र सेवा पाउन नसकेको गुनासो गरे । ‘मैले बहुदल देखेँ, गणतन्त्र पनि हेर्दैछु । सरकारमा केही राम्रा व्यक्ति पनि थिए, तर उनीहरू अब छैनन्,’ साहले भने ।

अनुगमनका क्रममा मन्त्री मेहेता

उनका अनुसार लहानस्थित प्रादेशिक अस्पतालको पछाडिपट्टि मुटु रोगसम्बन्धी अस्पताल निर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भन्दै जग्गा छुट्याइएको भए पनि योजना अझै अलपत्र अवस्थामा छ ।

मन्त्री मेहता संघीय संसद् क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्तासहित नेता–कार्यकर्ताको जम्बो टोली लिएर उनी जिल्लाका विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको निरीक्षणमा पुगेकी थिइन् । उनले धनगढीमाई नगरपालिकामा लामो समयदेखि बन्द रहेको महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बाल कल्याण अस्पताल, लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान आँखा अस्पताल तथा लहान नगरपालिका–३ मा बाल अस्पताल निर्माणका लागि छुट्याइएको जग्गाको निरीक्षण गरेकी थिइन् ।

अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएको विषयमा पत्रकारले प्रश्न गर्दा मन्त्री मेहताले सरकारी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द नभएको बताइन् । उनको भनाइ अनुसार सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू नै रहेको छ भने निजी अस्पतालमा मात्रै बीमा सेवा बन्द गरिएको हो ।

यसैबीच, मन्त्री मेहताले लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने घोषणा गरेकी छन् । राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारलाई मध्यनजर गर्दै ट्रमा युनिट सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले जनाएकी हुन् ।

स्वास्थ्य संस्थाको अवस्था र वर्षौंदेखि अलपत्र योजनाको समाधानतर्फ ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा रहे पनि अनुगमनकै क्रममा राजनीतिक अपिल गरिएको भन्दै मन्त्री मेहताको भ्रमणको आलोचना भएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?