+

क्यान्सरबारे सुनिने १० भ्रम

भ्रम : क्यान्सर संक्रामक हुन्छ ।

सत्य : क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । तर हेपाटाइटिस बी, सी र एचपीभीजस्ता केही संक्रमणले निश्चित प्रकारका क्यान्सरको जोखिम बढाउन सक्छन् । यी संक्रमण भने एक व्यक्तिबाट अर्कोमा सर्न सक्छन् । त्यसैले, क्यान्सर भएका व्यक्तिसँग बस्दा, छुँदा वा सँगै खाना खाँदा क्यान्सर सर्छ भन्ने धारणा गलत हो ।

भ्रम : परिवारमा कसैलाई क्यान्सर छैन भने आफूलाई पनि हुँदैन ।

सत्य : परिवारमा क्यान्सरको इतिहास नहुँदैमा आफूलाई क्यान्सर हुँदैन भन्ने हुँदैन । उमेर, जीवनशैली, वातावरण, संक्रमण तथा कोषमा हुने आनुवंशिक परिवर्तनले क्यान्सरको जोखिम बढाउन सक्छन् । केही क्यान्सरमा वंशाणुगत जोखिम हुन्छ, तर सबै क्यान्सर वंशाणुगत हुँदैनन् ।

Advertisement

भ्रम : क्यान्सर देखिएपछि छिट्टै मृत्यु हुन्छ ।

तथ्य : क्यान्सर हुनु भनेको मृत्यु निश्चित हुनु होइन । क्यान्सरको प्रकार, अवस्था र पत्ता लागेको चरणअनुसार उपचारको परिणाम फरक हुन्छ । केही क्यान्सर सुरुवाती चरणमै पत्ता लागेमा पूर्ण रूपमा निको हुन सक्छन् । उपचारपछि लामो समयसम्म सामान्य जीवन बिताउने बिरामी पनि धेरै छन् ।

भ्रम : क्यान्सरको उपचार आफैं खतरनाक हुन्छ ।

तथ्य : क्यान्सरको उपचारमा थकान, वाकवाकी, कपाल झर्ने र छालामा परिवर्तनजस्ता साइड इफेक्ट देखिन सक्छन् । तर सबै बिरामीमा यस्ता असर समान हुँदैनन् । उपचारका फाइदा र जोखिम मूल्यांकन गरेर चिकित्सकले उपयुक्त विधि छनोट गर्छन् । धेरै साइड इफेक्ट औषधि तथा अन्य उपायबाट व्यवस्थापन गर्न सकिन्छ ।

भ्रम : क्यान्सरको उपचार गराइरहेका व्यक्तिले दैनिक काम गर्न सक्दैनन् ।

तथ्य : क्यान्सरको उपचारले दैनिक जीवनमा पार्ने प्रभाव व्यक्तिको स्वास्थ्य अवस्था र उपचारको प्रकारअनुसार फरक हुन्छ । धेरै बिरामीले उपचारकै क्रममा काम, पारिवारिक जिम्मेवारी र सामाजिक गतिविधिलाई निरन्तरता दिन सक्छन् । तर अत्यधिक थकान वा अन्य साइड इफेक्ट देखिएमा आराम गर्नुपर्छ ।

भ्रम : क्यान्सर सधैं अत्यन्तै पीडादायी हुन्छ ।

तथ्य : सबै क्यान्सरमा सुरुदेखि नै दुखाइ हुन्छ भन्ने छैन । केही क्यान्सर प्रारम्भिक चरणमा कुनै स्पष्ट लक्षण वा दुखाइबिनै रहन सक्छन् । रोगको प्रकार र अवस्था बढ्दै जाँदा दुखाइ देखिन सक्छ । क्यान्सरका कारण दुखाइ भएमा सहेर बस्नुपर्दैन ।

भ्रम : वृद्धवृद्धालाई क्यान्सर भए उपचार गर्न सकिँदैन ।

तथ्य : उमेर बढ्दैमा क्यान्सरको उपचार असम्भव हुँदैन । उपचारको निर्णय गर्दा उमेरसँगै व्यक्तिको समग्र स्वास्थ्य, अन्य रोग, शारीरिक क्षमता तथा क्यान्सरको प्रकार र अवस्था हेरिन्छ । स्वास्थ्य अवस्थाअनुसार वृद्धवृद्धाले पनि शल्यक्रिया, औषधि वा अन्य उपचार पाउन सक्छन् ।

भ्रम : जडीबुटी वा आयुर्वेदिक औषधिले क्यान्सर निको पार्छ ।

तथ्य : जडीबुटी वा आयुर्वेदिक औषधिले क्यान्सर पूर्ण रूपमा निको पार्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन । केही पूरक उपचारले लक्षण व्यवस्थापनमा सहयोग गर्न सक्छन् । तर प्रमाणित उपचारको विकल्पका रूपमा तिनको प्रयोग गर्दा प्रभावकारी उपचारमा ढिलाइ हुन सक्छ ।