+
+
Shares

दसैंमा घुम्न उपयुक्त गन्तव्य हुन सक्छ बाली, कति लाग्छ खर्च ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:१४

दसैंमा विदेश घुम्ने योजना छ भने यसपालि समुद्र हेरेर मात्रै फर्किने कि हरिया धानखेतमा हराउने, पहाड चढ्ने, मन्दिर चहार्ने र समुद्रको बीचमा रहेको अर्को टापु पनि पुग्ने ?

एउटै यात्रामा यी सबै अनुभव लिन मन छ भने इन्डोनेशियाको बाली उपयुक्त गन्तव्य बन्न सक्छ । बालीमा समुद्रको किनारमा बसेर घाम अस्ताएको हेर्नेदेखि हरियालीले ढाकिएका पहाड र सिँढीजस्ता देखिने धानखेतबीच घुम्नेसम्मका अनुभव लिन सकिन्छ ।

इन्डोनेसिया मुस्लिम बहुल देश भए पनि बालीमा हिन्दु धर्म र संस्कृतिको गहिरो प्रभाव देख्न पाइन्छ । बिहानै घर, पसल र मन्दिरमा फूल तथा पूजाका सामग्री चढाइएको दृश्य, धार्मिक अनुष्ठान र कतिपय ठाउँमा सुनिने शंखध्वनिले नेपाली पर्यटकलाई आफ्नै घरआँगनको सम्झना दिलाउन सक्छ ।

यही सांस्कृतिक आत्मीयता र फरक भूगोलको सम्मिश्रणले बालीलाई विशेष बनाउँछ । घुम्नेहरू भन्छन्, नेपालकै एक अंश जस्तो । स्थानीय संस्कृतिसम्म अनुभव गर्न पाइने भएकाले दशैंको बिदामा फरक स्वादको यात्रा खोज्नेका लागि बाली एउटा विकल्प हुन सक्छ ।

कहाँ–कहाँ घुम्ने ?

बालीमा घुम्ने ठाउँको कमी छैन । तर छोटो बिदामा सबै ठाउँ भ्याउने ध्याउन्न गर्दा यात्राको रमाइलोभन्दा दौडधुप बढी हुन सक्छ । त्यसैले, आफ्नो रुचि, बसाइको अवधि र बजेटअनुसार गन्तव्य छान्नु राम्रो हुन्छ ।

कुटा

बालीको पहिलो यात्रा गर्नेका लागि कुटा क्षेत्रलाई बस्ने आधार बनाउन सकिन्छ । समुद्र किनार, होटल, क्याफे, रेस्टुरेन्ट र किनमेलका पसल भएकाले यहाँ पर्यटकको चहलपहल देखिन्छ । दिनभर घुमेर फर्किएपछि साँझ समुद्र किनारमा हिँड्न वा रेस्टुरेन्टमा बसेर समय बिताउन सकिन्छ । चाहे हनिमुनका लागि होस् वा परिवारसँग समुद्रमा पौडी खेल्ने, सर्फिङ सिक्ने वा सूर्यास्त हेर्न चाहनेका लागि पनि यो क्षेत्र आकर्षक छ । तर समुद्रमा पस्दा स्थानीय सुरक्षा निर्देशन र छालको अवस्थालाई ध्यान दिनुपर्छ ।

उबुद

समुद्रको नीलो रङ मात्रै हेरेर बालीको यात्रा पूरा हुँदैन । यहाँको अर्को रूप हेर्न उबुद पुग्नुपर्छ । हरियालीले ढाकिएका पहाड, धानका सिँढीजस्ता हरिया खेत, स्थानीय कला, हस्तकलाका सामग्री र परम्परागत बजारले यस क्षेत्रलाई छुट्टै पहिचान दिएका छन् ।

उबुदमा प्रकृतिको दृश्य हेर्न, स्थानीय बजार घुम्न र बालीको सांस्कृतिक जीवन बुझ्न सकिन्छ । समुद्र किनारको चहलपहलबाट टाढा केही समय शान्त वातावरणमा बिताउन चाहनेका लागि यो क्षेत्र उपयुक्त हुन्छ।

उलुवातु

बालीको चर्चित दृश्यमा समुद्रतर्फ फर्किएको चट्टानमाथि रहेको उलुवातु मन्दिर पनि पर्छ । अग्लो चट्टानको किनारबाट फैलिएको समुद्र हेर्न सकिन्छ । यहाँ सूर्यास्तको समयमा पुग्दा आकाशको रङ फेरिँदै जाँदा समुद्रको दृश्य पनि बदलिन्छ ।

उलुवातुमा प्रस्तुत गरिने केचक नृत्य पनि पर्यटकले रुचाउने सांस्कृतिक कार्यक्रममध्ये एक हो । रामायणका प्रसङ्गलाई परम्परागत शैलीमा प्रस्तुत गरिने यो नृत्य नेपाली दर्शकका लागि पनि परिचित कथाको फरक सांस्कृतिक अनुभव हुन सक्छ । कार्यक्रम हेर्न चाहनेले समय र टिकटको व्यवस्था पहिल्यै बुझ्नु राम्रो हुन्छ ।

उलुन दानु बेरातान

बालीको अर्को चिनारी हो, ताल, पहाड र मन्दिरको संयोजन । बेरातान तालको किनारमा रहेको उलुन दानु बेरातान मन्दिर त्यस्तै आकर्षण हो । पानीको छेउमा देखिने मन्दिर र वरपरको हरियालीले यस क्षेत्रलाई फोटो खिच्न र केही समय बिताउन मन लाग्ने ठाउँ बनाउँछ ।

बालीमा हिन्दु धर्म र परम्पराको गहिरो प्रभाव छ । मन्दिर, धार्मिक अनुष्ठान र घरअगाडि राखिएका पूजाका सामग्रीले यहाँको स्थानीय जीवनशैलीमा धर्मको स्थान देखाउँछन् । धार्मिक स्थल घुम्दा त्यहाँको आस्था र पहिरनसम्बन्धी नियमको सम्मान गर्नुपर्छ ।

नुसा पेनिडा

समय र बजेटले साथ दिए नुसा पेनिडा टापु पनि यात्रामा समेट्न सकिन्छ । अग्ला चट्टान, समुद्री किनार र नीलो पानीका लागि चर्चित यो टापु बालीको मुख्य भूभागभन्दा फरक दृश्य अनुभव गर्न चाहनेका लागि आकर्षक गन्तव्य हो ।

यहाँ पुग्न डुङ्गा यात्रा गर्नुपर्छ । समुद्रको अवस्था, डुङ्गाको समय र टापुभित्रको यातायातले भ्रमणको तालिका प्रभावित गर्न सक्छ । त्यसैले एकै दिनमा धेरै ठाउँ भ्याउने योजना बनाउनुभन्दा समयको यथार्थ हिसाब गर्नु राम्रो हुन्छ ।

गिली टापु पनि समुद्रको नजिक बसेर आराम गर्न, स्नोर्कलिङ गर्न र टापुको शान्त वातावरण अनुभव गर्न चाहनेका लागि विकल्प हुन सक्छ । तर बालीसँगै अर्को टापु समेट्दा होटल, डुङ्गा र यातायातको खर्च थपिन्छ ।

बालीमा के खाने ?

विदेश घुम्दा नयाँ ठाउँ हेर्न जति उत्सुकता हुन्छ, त्यहाँको खाना चाख्ने रहर पनि कम हुँदैन । बालीमा स्थानीय परिकारसँगै भारतीय, चिनियाँ र पश्चिमी खानाका विकल्प पनि पाइन्छन् । यहाँको चर्चित परिकारमध्ये नासी गोरेङ एक हो । भातलाई मसला र अन्य सामग्रीसँग भुटेर बनाइने यो परिकार स्थानीय खानाको स्वाद लिन चाहनेले चाख्न सक्छन् । त्यस्तै, साते लिलित माछा वा मासुको मिश्रणलाई मसला मिसाएर सिन्कामा बेरी बनाइने परिकार हो ।

समुद्री खानाका पारखीले ग्रिल गरिएको माछा, झिँगे माछा र अन्य समुद्री परिकार पनि चाख्न सक्छन् । यस्ता परिकारको मूल्य रेस्टुरेन्टअनुसार फरक हुने भएकाले अर्डर गर्नुअघि मूल्य बुझ्नु राम्रो हुन्छ । नेपाली पर्यटकलाई खानपानमा सहज हुने अर्को पक्ष भारतीय रेस्टुरेन्टको उपलब्धता हो । पर्यटकीय क्षेत्रमा शाकाहारी खाना, भात, रोटी र विभिन्न करीका विकल्प पनि भेटिन्छन् ।

समुद्र हेर्ने मात्रै होइन, अरू के गर्न सकिन्छ ?

बालीमा समुद्र किनारमा बसेर समय बिताउनु एउटा अनुभव हो । तर अलि सक्रिय यात्रा चाहनेका लागि पनि विकल्प छन् । सर्फिङ सिक्ने, स्नोर्कलिङ गर्ने, डुङ्गा यात्रा गर्ने वा जेट स्की र प्यारासेलिङजस्ता जलविहारमा सहभागी हुन सकिन्छ । यस्ता गतिविधि उपलब्ध हुने स्थान र शुल्क फरक हुन सक्छन् ।

प्रकृति मन पराउनेले धानखेत र पहाडी क्षेत्र घुम्न सक्छन् । संस्कृति बुझ्न चाहनेले मन्दिर, परम्परागत नृत्य र स्थानीय कला हेर्न सक्छन् । किनमेलमा रुचि हुनेले हस्तकला, सजावटका सामग्री, परम्परागत पोसाक र स्मृति चिह्न किन्न सक्छन् ।

सपिङका लागि पनि सस्तो गन्तव्य

समुद्र, मन्दिर र प्राकृतिक दृश्यसँगै सपिङका लागि पनि समय छुट्याउन सकिनेछ । यहाँका स्थानीय बजारमा हस्तकलाका सामग्री, काठका कलात्मक वस्तु, परम्परागत पोसाक, गहना, झोला र घर सजाउने सामग्री किन्न पाइन्छ ।

स्थानीय बजारमा केही सामान तुलनात्मक रूपमा सस्तो मूल्यमा पाउन सकिने भएकाले सपिङ गर्न रुचाउने पर्यटकका लागि पनि बाली आकर्षक गन्तव्य बन्न सक्छ ।

उबुदका बजारमा स्थानीय कला र हस्तकलाका सामग्री भेटिन्छन् भने कुटा तथा आसपासका पर्यटकीय क्षेत्रमा कपडा, स्मृति चिह्न र विभिन्न उपहारका सामग्रीका पसल छन् । परिवार तथा साथीभाइका लागि उपहार लैजान चाहनेले यस्ता बजारमा आफूलाई मन पर्ने सामग्री छान्न सक्छन् ।

केही स्थानीय बजारमा मूल्यमा मोलमोलाइ गर्न सकिन्छ । एउटै सामानको मूल्य पसलअनुसार फरक हुन सक्ने भएकाले किन्नुअघि मूल्य बुझ्नु र विभिन्न पसलमा तुलना गर्नु राम्रो हुन्छ ।

कति दिन घुम्ने ?

बाली घुम्न ४ रात ५ दिन को योजना बनाउन सकिन्छ । यस अवधिमा कुटा क्षेत्रमा बसेर समुद्र किनार, उबुद र केही चर्चित मन्दिर घुम्ने तालिका बनाउन सकिन्छ । तर नुसा पेनिडाजस्ता अर्को टापु पनि समेट्न चाहने हो भने ५ रात ६ दिन वा त्योभन्दा लामो समय छुट्याउनु उपयुक्त हुन्छ ।

७ रातको यात्रा तय गर्दा फरक–फरक क्षेत्रमा बसेर घुम्न र बीचमा आराम गर्ने समय पनि निकाल्न सकिन्छ । छोटो यात्रामा सबै ठाउँ भ्याउने प्रयास गर्दा यातायातमै धेरै समय बित्न सक्छ ।

कति लाग्छ खर्च ?

बाली घुम्ने खर्च हवाई टिकट, होटलको स्तर, यात्राको अवधि, खाना, स्थानीय यातायात र घुम्ने ठाउँअनुसार फरक पर्छ । दशैंको समयमा टिकट र होटलको मूल्य पनि उपलब्धताअनुसार बदलिन सक्छ ।

चारदेखि पाँच रातको प्याकेज प्रतिव्यक्ति करिब ९० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्न सक्छ । केही प्याकेज एक लाख २० हजार रुपैयाँभन्दा माथिबाट सुरु हुन सक्छन् । खर्च अवधि, गतिविधिमा भर पर्छन् ।

प्याकेजको मूल्य सुनेर मात्रै कुल खर्चको हिसाब पूरा हुँदैन । हवाई टिकट, होटल, विमानस्थलबाट होटलसम्मको यातायात, बिहानको खाजा, अन्य खाना र घुम्ने ठाउँसम्मको गाडीमध्ये कुन–कुन सुविधा समावेश छन् भन्ने बुझ्नुपर्छ ।

नुसा पेनिडा वा गिली टापु जाने हो भने डुङ्गा र त्यहाँको यातायातको खर्च थपिन सक्छ । जलविहार, सांस्कृतिक कार्यक्रम, प्रवेश शुल्क र किनमेलका लागि पनि छुट्टै बजेट चाहिन्छ । निजी भिल्ला वा उच्चस्तरको रिसोर्ट रोज्दा खर्च अझ बढ्न सक्छ ।

त्यसैले, प्याकेज सस्तो देखियो भन्दैमा तुरुन्त बुक गर्नुभन्दा त्यसमा समावेश सेवा र अतिरिक्त खर्चको तुलना गर्नु उपयुक्त हुन्छ ।

दशैंमा जाने हो भने कहिले बुक गर्ने ?

दशैंमा बाली घुम्ने योजना छ भने हवाई टिकट र होटलको उपलब्धता समयमै बुझ्नु राम्रो हुन्छ । चाडपर्वको समयमा माग बढ्न सक्ने भएकाले ढिलो बुकिङ गर्दा आफूले चाहेको मूल्यमा टिकट वा होटल नपाइन सक्छ ।

ट्राभल एजेन्सीसँग प्याकेज बुझ्दा आफ्नो यात्रा मिति, होटलको स्तर, घुम्न चाहेका ठाउँ र बजेट स्पष्ट बताउँदा पछि अनावश्यक झन्झट व्यहोर्नु पर्दैन।

बुकिङ गर्नुअघि

– हवाई टिकट र होटलको खर्च समावेश छ कि छैन ?

– बिहानको खाजा र अन्य खाना कुन–कुन समावेश छन् ?

– स्थानीय यातायात र पर्यटकीय स्थलको प्रवेश शुल्क समावेश छ कि छैन ?

– नुसा पेनिडा वा अन्य टापु जाने डुङ्गाको खर्च प्याकेजमा छ कि छैन ?

– भिसा, बीमा र अतिरिक्त गतिविधिको शुल्क छुट्टै तिर्नुपर्ने हो कि होइन ?

– टिकट वा होटल रद्द गर्नुपरेमा कस्तो नियम लागू हुन्छ ?

काठमाडौँबाट बाली जाँदा उडानको विकल्प र ट्रान्जिटको अवधि पनि तुलना गर्नुपर्छ । सस्तो टिकटमा लामो ट्रान्जिट हुन सक्छ भने छोटो यात्रामा सुविधाजनक उडान रोज्दा खर्च बढ्न सक्छ । त्यसैले, टिकटको मूल्य मात्रै होइन, यात्रामा लाग्ने कुल समय पनि हेर्नु राम्रो हुन्छ ।

ई भिसा प्रक्रिया

बाली इन्डोनेसियाको हिस्सा भएकाले त्यहाँ जान इन्डोनेसियाको प्रवेशसम्बन्धी नियम लागू हुन्छ । ई–भिसाका लागि अनलाइन आवेदन दिन मिल्ने व्यवस्था भए पनि नेपाली नागरिकका लागि लागू हुने भिसाको प्रकार, आवश्यक कागजात र शुल्कबारे इन्डोनेसियाको आधिकारिक अध्यागमन स्रोतबाट पुष्टि गरेर मात्र यात्रा योजना बनाउनु उपयुक्त हुन्छ ।

(बालुवाटारस्थित ह्वाइट टाइगर होलिडेजका कार्यकारी निर्देशक तथा सह संस्थापक उपेन पौडेलसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?