काठमाडौं । बाढीपहिरोले घरबार र दैनिकी गुमाएका परिवारलाई राहत पुर्याउन विभिन्न संघसंस्था प्रभावित क्षेत्रमा पुगिरहेका छन् । यही बेला पशुप्राणीका लागि पनि राहत लिएर एउटा टोली नुवाकोट र रसुवा जाने भएको छ । मानिसका लागि राहत वितरण भइरहे पनि विपद प्रभावित पशुप्राणीको आवश्यकता ओझेलमा परेको भन्दै ‘अलोका पिस फाउन्डेसन’ ले उनीहरूलाई समेटेर राहत अभियान सञ्चालन गर्न लागेको हो ।
अलोका पिस फाउन्डेसन, हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसन र नेपालमा पशु कल्याणका क्षेत्रमा काम गर्दै आएको स्नेहा केयरको सहकार्यमा अभियान सञ्चालन हुनेछ । सन् २०१५ मा स्थापित हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसनका संस्थापक तथा ‘वाक फर पिस’ अभियानका अगुवा भिक्षु पञ्ञाकार तुए न्हानको नेतृत्वमा राहत टोली अक्टोबर ७ मा नेपाल आइपुग्नेछ ।
टोलीले अक्टोबर ८ देखि राहत तथा सहयोगका कार्यक्रम अघि बढाउनेछ । अक्टोबर ८ मा स्वयंभूमा बाढीपहिरोका क्रममा ज्यान गुमाएका मानिस तथा पशुप्राणीको सम्झनामा दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम आयोजना गरिनेछ । अक्टोबर ९ मा पाटनमा पनि दिवंगत आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिनेछ ।
त्यसपछि अक्टोबर १० देखि १३ सम्म टोली नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा केन्द्रित हुनेछ । स्नेहा केयरकी सञ्चालिका तथा पशु अधिकारकर्मी स्नेहा श्रेष्ठका अनुसार राहत अभियानमा प्रभावित परिवारका मानिस र उनीहरूले पालिरहेका पशुप्राणी दुवैलाई लक्षित गरिएको छ।

‘प्रभावित परिवारमा मानिस र जनावर दुवैका लागि राहत लिएर हामी नुवाकोट र रसुवा जाँदैछौँ’ श्रेष्ठले भनिन् । राहत टोलीले प्रभावित परिवारको आवश्यकता हेरेर खाद्यान्न, त्रिपाल, औषधिलगायतका सामग्री वितरण गर्नेछ । जाडो मौसम सुरु हुन लागेकाले न्यानो कपडा र ब्ल्याङ्केटसमेत लैजाने तयारी छ ।
बाढीपहिरोमा घरसँगै बालबालिकाका स्कुल ब्याग, कापी, किताब तथा अन्य शैक्षिक सामग्रीसमेत बगाएकाले उनीहरूका लागि आवश्यक सामग्री पनि राहतमा समेटिएको छ ।
श्रेष्ठका अनुसार प्रभावित बालबालिकालाई स्कुल ब्याग, नोटबुक, कापीलगायतका सामग्री उपलब्ध गराइनेछ । ‘धेरै बच्चाहरूको सबै सामान बाढीले बगाएर लगेको छ । उनीहरूसँग केही पनि बाँकी छैन । त्यसैले बच्चाहरूका लागि स्कुल ब्याग, नोटबुक, कापीलगायत आवश्यक सामग्री पनि लिएर जाँदैछौँ’ उनले भनिन् ।
प्रभावित परिवारको तत्कालको आवश्यकता हेरेर अन्य आवश्यक सामग्रीसमेत वितरण गरिने उनले बताइन् ।
पशुप्राणीका लागि दाना र औषधि
राहत अभियानमा पशुप्राणीका लागि पनि छुट्टै सामग्रीको व्यवस्था गरिएको छ । बाढीपहिरोका कारण धेरै पशुप्राणी खाना, पानी, सुरक्षित आश्रय र उपचारबाट वञ्चित भएको भन्दै उनीहरूका लागि दाना, मकै, चना, औषधिलगायत सामग्री लैजाने तयारी छ ।
प्रभावित क्षेत्रको अवस्था हेरेर आवश्यक परे पशुप्राणीको उद्धार तथा उपचारमा समेत सहयोग गरिने स्नेहा केयरले जनाएको छ ।

श्रेष्ठ बाढीपहिरोपछि आफैं प्रभावित क्षेत्रमा पुगेकी थिइन् । त्यसक्रममा पशुप्राणीको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिएकाले अहिले राहत वितरणका लागि बढी प्रभावित ठाउँ पहिचान गर्न सहज भएको उनले बताइन् ।
उनका अनुसार विपद्पछि मानिसका लागि विभिन्न तहबाट राहत र सहयोग पुगे पनि पशुप्राणी भने प्राथमिकतामा कमै परेका छन् ।
‘पशुप्राणी यसपटक धेरैको प्राथमिकतामा परेनन् । पशु कल्याणमा काम गर्ने संस्थाबाहेक अरूले खासै ध्यान दिएको देखिएन’ उनले भनिन्, ‘त्यसैले अहिले प्रभावित क्षेत्रमा जाँदा मानिससँगै पशुप्राणीलाई पनि सहयोग गर्ने हाम्रो उद्देश्य हो ।’
‘मानिस र पशुप्राणी दुवै प्रभावित परिवारका सदस्य हुन्’
स्नेहा केयरका लागि यो अभियान पशुप्राणीलाई राहतको छुट्टै विषयका रूपमा मात्र हेर्नेभन्दा पनि विपद्बाट प्रभावित परिवारको समग्र आवश्यकतासँग जोडेर हेर्ने प्रयास हो ।
बाढीपहिरोले घर र गोठ बगाउँदा मानिससँगै उनीहरूले पालिरहेका गाई, भैंसी, बाख्रा, कुकुरलगायतका पशुप्राणी पनि प्रभावित हुन्छन् । उनीहरूले खाना, पानी र आश्रय गुमाउँछन् । कतिपय घाइते हुन्छन् भने कतिपय परिवारबाट छुट्टिन्छन् ।
त्यसैले प्रभावित परिवारलाई राहत दिँदा उनीहरूसँग आश्रित पशुप्राणीलाई पनि समेट्नुपर्ने श्रेष्ठको भनाइ छ ।
‘मान्छे र जनावर दुवैलाई बराबर हिसाबले प्रभावित परिवारका सदस्यका रूपमा राखेर सहयोग गर्ने निर्णय गरिएको छ । यो कुरा आफैंमा प्रशंसायोग्य छ,’ उनले भनिन् । उनका अनुसार मानिस र पशुप्राणी दुवैलाई राहतको दायरामा राख्ने निर्णयले पशु कल्याणका क्षेत्रमा काम गर्ने संस्थालाई पनि उत्साहित बनाएको छ ।
शान्तिको यात्राबाट राहत अभियानसम्म
भिक्षु पन्नाकर तुए न्हानको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘वाक फर पिस’ अभियानले शान्ति र करुणाको सन्देश बोकेर विभिन्न ठाउँमा यात्रा गर्दै आएको छ । यही अभियानको भावना नेपालमा बाढीपहिरो प्रभावित मानिस तथा पशुप्राणीलाई सहयोग पुर्याउने अभियानसँग जोडिएको हो ।
अलोका पीस फाउन्डेसनका अनुसार अभियानले विपद्को समयमा मानिस र पशुप्राणीबीच भेद नगरी सबै जीवप्रति माया, करुणा र संरक्षणको भावना विस्तार गर्ने उद्देश्य राखेको छ ।
राहत अभियानका क्रममा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनेसँगै बाढीपहिरोमा ज्यान गुमाएका मानिस तथा पशुप्राणीप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ ।
प्रतिक्रिया 4