+
+
Shares

मङ्गल ग्रहमा घर बनाउन नयाँ प्रविधि: ‘इस्ट’ र बालुवाबाट तयार पारियो थ्रीडी प्रिन्टिङ सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:०५

१८ असोज, काठमाडौं ।  मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो। पृथ्वीबाट निर्माण सामग्री लैजान लाग्ने अत्यधिक खर्च र मङ्गल ग्रहको माटो पगालेर ईट्टा बनाउन आवश्यक पर्ने उच्च ऊर्जाको समस्यालाई समाधान गर्न वैज्ञानिकहरूले एक नवीन विकल्प प्रस्तुत गरेका छन्।

हङकङका वैज्ञानिकहरूले वंशाणुगत रूपमा परिवर्तन (जेनेटिकली इन्जिनियर) गरिएको ‘इस्ट’ , जिलाटिन र बालुवाको मिश्रणबाट मङ्गल ग्रहका लागि उपयोगी थ्रिडी प्रिन्टिङ जैविक निर्माण सामग्री विकास गरेका छन्।

अन्तर्राष्ट्रिय जर्नल सेल प्रेस को ‘केम सर्कुलारिटी’ मा प्रकाशित अध्ययन अनुसार यो जैविक सामाग्रीले बालुवाका कणहरूलाई मजबुतसँग जोड्ने काम गर्छ।

प्रविधिको मुख्य विशेषता र क्षमता:

उच्च मजबुती: यो सामग्रीको कम्प्रेसिभ स्ट्रेन्थ (दबाब सहन सक्ने क्षमता) करिब १२ मेगापास्कल मापन गरिएको छ। यो सामान्य नियन्त्रित सामाग्रीको तुलनामा १७० प्रतिशतले बढी हो र परम्परागत निर्माण सामग्रीको दायरामै पर्छ।

कम ऊर्जा खपत: मङ्गल ग्रहमा परम्परागत प्रविधिबाट १,००० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा माटो पगाल्न कैयौँ दिन लाग्छ। तर, १ क्युबिक मिटर जैविक सामग्री उत्पादन गर्न सौर्य प्यानलबाट १ घण्टाभन्दा कम समयको ऊर्जा मात्र खर्च हुन्छ।

पुनः प्रयोग गर्न सकिने : यस सामग्रीलाई धुलो पारेर, पुनः पानी मिसाई हल्का तताएर चौथो पुस्तासम्म प्रयोग गर्दा पनि यसले ११.८ मेगा पास्कलको मजबुती कायम राख्छ।

मङ्गल ग्रहको वातावरणमा सफल परीक्षण:

हङकङ साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीका प्राध्यापक किउ जिसिन र हङकङ पोलिटेक्निक युनिभर्सिटीका वैज्ञानिकहरूको टोलीले यसको विकास गरेको हो। टोलीले मङ्गल ग्रहको वास्तविक वातावरण (माइनस ३० डिग्री सेल्सियस तापक्रम र ०.०१ एटमोस्फियर वायुमण्डलीय चाप) सिर्जना गरिएको विशेष च्याम्बरमा ४५ एमएम अग्लो र ३० एमएम व्यास भएको सानो स्तम्भ सफलतापूर्वक ३डी प्रिन्ट गरेको छ।

मङ्गल ग्रहको कम चाप र चिसो हावापानीमा मिश्रणमा भएको पानी सुख्खा (फ्रिज – ड्राइंग) भई सामग्री कडा बन्दछ। यसमा प्रयोग गरिएको इस्टले सीप (मसेल फूट) जस्ता जीवहरूको टाँसिने प्रोटिन उत्पादन गर्छ, जसले संरचनालाई अझ बलियो बनाउँछ।

पृथ्वीबाट सामाग्री ढुवानी र सम्भावना:

यद्यपि, यो प्रविधि अझै पूर्ण रूपमा आत्मनिर्भर छैन। १ क्युबिक मिटर सामाग्री बनाउन पृथ्वीबाट दश किलो कच्चा पदार्थ (मुख्यतः जिलाटिन र इस्टका लागि पोषक तत्व) लैजानुपर्ने हुन्छ। यदि भविष्यमा मङ्गल ग्रहमा उपलब्ध मिथेन, कार्बन डाइअक्साइड र हिउँलाई जिलाटिन वा पोषक तत्वमा बदल्न सकिएमा पृथ्वीबाट सामाग्री ओसार्नुपर्ने बाध्यता शून्यमा झर्ने वैज्ञानिकहरूको अनुमान छ।

यस सामग्रीलाई मङ्गल ग्रहबाहेक पृथ्वीका दुर्गम क्षेत्रहरू, जस्तै अन्टार्कटिकाका अनुसन्धान केन्द्रहरू निर्माण गर्न समेत प्रयोग गर्न सकिने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?