+
+
Shares

दृश्यम् : जहाँ जे देखिन्छ, त्यो सत्य हुँदैन

हरेक भाषामा दृश्यमको वास्तविक नायक यसको पटकथा नै रह्यो । त्यो अनौठो पटकथा, जसमा आँखाले देखेको कुरा सधैं सत्य हुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १३:५३

दृश्यम श्रृङ्खला रिलिज मिति पनि कथाकै एउटा हिस्सा बनिसकेको छ ।

किनकि, अघिल्ला दुई भाग हेर्नुभएको भए तपाईंलाई पक्कै पनि याद हुनुपर्छ – २ अक्टोबरमा विजय सालगाउँकर आफ्नो परिवारसँग स्वामी चिन्मयानन्द जीको आश्रममा सत्संगमा गएको थियो । त्यहाँ पावभाजी खाएर ३ अक्टोबरमा फर्किएको थियो ।

र, यसबेला त अजय देवगन र तब्बु अभिनित हिन्दी सिनेमा दृश्यमको तेस्रो तथा अन्तिम भाग गत २ अक्टोबरदेखि विश्वव्यापी रुपमा रिलिज भइसकेको छ ।

थोरै इतिहास

कोभिड महामारीपछि सिने क्षेत्रमा एउटा प्रश्न बारम्बार सोधिने गरिन्थ्यो – के दर्शकहरू फेरि सिनेमाघर फर्किएलान् ?

ओटीटीको बढ्दो प्रभाव, दर्शकहरूको फेरिएको बानी र महामारीले पारेको ठूलो व्यावसायिक धक्का ‍- यी स्थितिबीच दृश्यम–२ महत्त्वपूर्ण सिनेमा बन्न गयो । किनकि तत्कालीन समयमा दर्शकहरूलाई हलसम्म तान्न यसले ठूलो भूमिका खेलेको थियो । त्यसैले ३४५ करोड भारु कमाइसँगै दृश्यम–२ २०२२ कै दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय सिनेमा बनेको थियो ।

आखिर एउटा साधारण परिवारको यो असाधारण कथामा के त्यस्तो जादु छ ? किन मानिसहरू बारम्बार यो सस्पेन्सको चक्रव्यूहमा तानिएर आउँछन् ?

अनौठो पटकथा 

दृश्यमको मूल मलयालम सिनेमा २०१३ मा आएको थियो ।

लेखक निर्देशक जीतु जोसेफले मलयालम सुपरस्टार मोहनलाललाई जर्जकुट्टी (हिन्दीमा विजय)को भूमिका दिएका थिए । यो पात्र र यसको सस्पेन्ससँग दर्शकहरू यसरी जोडिए कि दृश्यम त्यस समयसम्मको सबैभन्दा सफल मलयालम सिनेमा बन्यो ।

पछि हिन्दी, तमिल, तेलुगु र कन्नड जस्ता भारतीय भाषाहरू बाहेक श्रीलङ्का, चीन र इन्डोनेसियामा पनि यसका सफल रिमेकहरू बने । अर्थात् कथाले भाषा र क्षेत्रको सीमालाई सहजै पार गर्‍यो ।

हिन्दी संस्करण ३१ जुलाई २०१५ मा रिलिज भएको थियो । त्यसबेला यसको निर्देशन निसिकान्त कामतले गरेका थिए । हिन्दी दर्शकका लागि अजय देवगन विजय सालगाउँकर बने भने तब्बु आइजी मीरा देशमुख बनेकी थिइन् ।

तर हरेक भाषामा दृश्यमको वास्तविक नायक यसको पटकथा नै रह्यो । त्यो अनौठो पटकथा, जसमा आँखाले देखेको कुरा सधैं सत्य हुँदैन ।

हुन त हामी दर्शक त्यही पत्याउँछौँ, जो हामीलाई देखाइन्छ । र यहीँबाट दृश्यम को खेल सुरु हुन्छ । यसका हरेक भाग हेर्दा हामी सोच्छौं – अब त विजय फस्यो ! तर, हरेक पटक कथाले हामीलाई चकित पार्छ ।

नयाँ विधा – फेमिली थ्रिलर

सिनेमा र ओटीटीमा थ्रिलरलाई अत्यन्तै सफल विधा मानिन्छ । हत्या, रहस्य, प्रहरी अनुसन्धान र अपराध जस्ता विषयहरूमा बनेका चलचित्र र वेब सिरिजहरूको कुनै कमी छैन ।

तर प्रायः तिनमा हिंसा, अपराध, अश्लील शब्द वा बोल्ड दृश्यहरू हुने भएकाे सामान्यतया थ्रिलर सिनेमाहरूलाई पारिवारिक सिनेमा मानिँदैन । दृश्यमले यो समीकरणलाई बदलिदियो । र, उल्टै एउटा नयाँ विधा बनायो – फेमिली थ्रिलर ।

थ्रिलरको सबैभन्दा ठूलो चुनौती दर्शकलाई बारम्बार चकित पार्नु हो । दृश्यम ले यो नियमलाई पनि बदलिदियो । सिनेमामा सबैभन्दा ठूलो रोमाञ्चकता अपराध कसले गर्‍यो भन्नेमा छैन । दर्शकलाई त्यो पहिले नै थाहा हुन्छ ।

के यो परिवार जोगिएला ? के विजयले बनाएको योजनामा कुनै गल्ती होला ? रोमाञ्चकता यिनै प्रश्नमा छन् । अर्थात् सिनेमाले रहस्य लुकाउनुको सट्टा रहस्य खुल्ने डर पैदा गर्छ ।

यो  एउटा कम चर्चा गरिएको विशेषता के हो भने यसको नायक बारम्बार जितेर पनि राहत महसुस गर्दैन ।

एउटा सामान्य थ्रिलरमा रहस्य खुल्ने डर दर्शकका लागि रोमाञ्चक हुन्छ ।

दृश्यम श्रृङ्खलामा त्यही डर पात्रहरूका लागि मानसिक बोझ हो । यही फरकले यो श्रृङ्खला सस्पेन्ससँगै एउटा मनोवैज्ञानिक कथा बनेको छ ।

कुनै पनि सिनेमालाई लामो समयसम्म सम्झिरहनका लागि राम्रो कथा मात्रै पर्याप्त हुँदैन । पात्र र कथाहरूसँग दर्शकको सामीप्यता पनि उत्तिकै आवश्यक हुन्छ ।

दृश्यममा यो सामीप्यता अत्यन्तै बलियो छ । यो कुनै धेरै पैसा, शक्ति वा राजनीतिक पहुँच भएको व्यक्तिको कथा होइन । यो एउटा आम परिवारको कथा हो, जो असाधारण सङ्कटमा फसेको छ ।

यही भावनाले दर्शकहरूलाई यो कथा र पात्रहरूसँग जोडिदिन्छ ।

कथा किन यति मौलिक लाग्छ ?

दृश्यम को सफलताको एउटा ठूलो कारण यसले दक्षिण एसियाली समाज र संस्कृतिमा भिजिसकेको कथा टिप्नु हो । किनकि यो क्षेत्रमा परिवारको भूमिका धेरै ठूलो हुन्छ । आमाबाबुका लागि छोराछोरी सन्तान मात्र हुँदैनन्; तिनको सुरक्षा, भविष्य र सम्मानप्रतिको भावना अति नै गहिरो हुन्छ ।

यस्तो अवस्थामा दृश्यमले एउटा बुबालाई आफ्नो परिवारको रक्षाका लागि कानुनसँग जुधिरहेको देखाउँछ । स्वभाविक रूपमा यो कथासँग दर्शक त्यसै  जोडिहाल्छन् ।

यो थ्रिलरमा ठूला ग्याजेट, खतरनाक स्टन्ट वा मसला सिनेमाहरू जस्तो ग्ल्यामर पनि छैन । कथाको मुख्य पात्र विजय सालगाउँकर कुनै धेरै धनी वा शक्तिशाली व्यक्ति पनि हुँदैन ।  ऊ न त प्रहरी हो, न जासुस, न त मारपिट गर्ने सक्ने बलियो हिरो नै । ऊ जम्मा चार कक्षा मात्र पढेको एउटा केबल अपरेटर हो ।्

तर, उसको शक्ति उसको दिमाग बन्दिन्छ । किनकि उसले जहिल्यै पनि प्रहरीभन्दा दुई कदम अगाडि सोच्छ । ऊ आफ्ना श्रीमती र छोरीहरूलाई जोगाउँदैन मात्रै, बरु तिनलाई आफ्नो योजनाको हिस्सा पनि बनाउँछ । विपत्तिमा सिङ्गो परिवार एकअर्कामाथि विश्वास गरेर उभिन्छ ।

दृश्यमले दर्शकलाई एउटा नैतिक प्रश्न पनि सोध्छ – विजयले जे गर्‍यो, त्यो सही हो कि गलत ?

खासमा यो श्रृङ्खलाले यही नैतिक दुविधालाई अत्यन्तै प्रभावकारी रूपमा प्रयोग गरेको छ ।

हत्याबाट सुरु हुने यो सिनेमा परिवारकै कथा बन्न पुग्छ । अझ सजिलो गरी बुझ्दा यो सिनेमा प्रहरी र एक अपराधी बुबाबीचको युद्ध हो । तर दर्शकको मन बुबाकै पक्षमा हुन्छ ।

दृश्यमको सफलता सायद यही प्रश्नमा टिकेको छ – यदि तपाईंको परिवारको अगाडि यस्तो परिस्थिति आयो भने तपाईं के गर्नुहुन्छ ?

विजयको हतियार : सिनेमा 

दृश्यमको सबैभन्दा सुन्दर पक्षमध्ये एक विजयको मसला सिनेमाहरूप्रतिको प्रेम हो । विजय सिनेमाको ठूलो पारखी छ । यसले ‍जीवनमा जेजे सिकेको छ, ती मध्ये धेरैजसो सिनेमाहरू नै हेरेर सिकेको छ । यही कुराले दृश्यमलाई एउटा रोचक सन्दर्भ पनि दिन्छ ।

किनकि, अक्सर बुद्धिजीवीहरूले मसला सिनेमाहरूलाई सतही मनोरञ्जनको स्रोत मान्छन् । तर, दृश्यमले यस्तै खालको सिनेमाहरूलाई आफ्नो नायकको सबैभन्दा ठूलो शक्ति बनाइदिन्छ ।

अझ दृश्यम–२ सम्म आइपुग्दा त विजय आफैं सिनेमा निर्माता पनि बन्छ । आफ्नो यो नयाँ पहिचानको प्रयोग पनि उसले आफ्नो नयाँ योजनामा मज्जाले प्रयोग गर्छ ।

फेरिएको दृश्यम–३

दृश्यममा हरेक पटक गोटी र दाउहरू बदलिन्छन् । हरेक नयाँ श्रृङ्खलामा नयाँ ट्विस्ट आइरहन्छन् । तर दृश्यम–३ सम्म आइपुग्दा परिस्थिति बदलिएको छ ।

मलयालममा बनेको दृश्यम–३ गत मे २०२६ मा रिलिज भइसकेको छ । त्यहाँ सिनेमाले बक्स अफिसमा सफलता हासिल गरे पनि समीक्षकहरूको नजरमा दृश्य– ३ अघिल्ला दुई चलचित्र जत्तिकै उत्कृष्ट ठहरिन सकेन । सम्भवत: यी कारण हिन्दी संस्करण मलयालम दृश्यम–३ भन्दा फरक बनाइएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त दृश्यम : द कन्क्लुजन यो सिरिजको अन्तिम सिनेमा हुने बताइएको छ । आखिरमा हरेक राम्रो कथाको एउटा त्यस्तो मोड हुन्छ, जहाँ त्यो रोकिनुपर्छ ।  र, यो काम हिन्दी दृश्यम श्रृङ्खलामा गरिएको छ । अर्थात् यसको कथालाई हिट सिनेमाको नाममा अकारण तानिएन ।

तर, अन्तिममा विजयको परिवारलाई के हुन्छ ? कसरी त्यो नसुल्झिएको मुद्दा पार लाग्छ ? यी प्रश्न भने दृश्यम–३ मा क्रमिक रुपमा खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?