+
+
Shares

युरोपेली डिजेल भण्डार उपयोग गर्ने ट्रम्पको सङ्केत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १८:२९

१६ असोज, वासिङ्टन (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने।

ट्रम्पले टेक्सास र ओक्लाहोमा भ्रमणका क्रममा यस्तो धारणा राखेका हुन्। अमेरिकी डिजेलको बढ्दो लागत नियन्त्रण गर्न प्रशासनले निर्यातमा सम्भावित प्रतिबन्धसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको उनले बताए। उनका अनुसार निर्यातमा प्रतिबन्ध लगाउँदा पेट्रोलको मूल्य केही बढ्न सक्ने भएकाले त्यसबारे गम्भीरतापूर्वक विचार भइरहेको छ ।

हालको बजार अवरोधको प्रमुख कारण मध्यपूर्वको अस्थिरता नभई रुसी प्रशोधन पूर्वाधारमाथि युक्रेनले गरिरहेको आक्रमण रहेको ट्रम्पको भनाइ छ । रुसले ठूलो मात्रामा डिजेल प्रशोधन गर्ने भएकाले त्यहाँका रिफाइनरीमा भएका आक्रमणले आपूर्तिमा असर पारेको उनले बताए।

अमेरिकी डिजेल निर्यात सीमित गरी घरेलु भण्डार बढाउने विकल्पप्रति ३० भन्दा बढी अमेरिकी कर्पोरेट, निर्माण तथा ऊर्जा क्षेत्रका सङ्घले विरोध गरेका छन् । त्यस्तो कदमले घरेलु प्रशोधन घट्नुका साथै मूल्य बढ्न सक्ने उनीहरूको चेतावनी छ ।

युरोपेली साझेदार मुलुकका भण्डारबाट डिजेल आपूर्ति बढाउन खोज्दा अमेरिकी निर्यात नियन्त्रण गर्नुको सट्टा बजारमा समग्र उपलब्धता बढाउन सकिने अपेक्षा गरिएको छ । यद्यपि ट्रम्पले कुन युरोपेली मुलुकसँग सम्पर्क गरिने वा कति परिमाणमा डिजेल माग गरिने भन्नेबारे स्पष्ट पारेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?