१४ असोज, काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरण थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार सीएनआईवाईईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् ।
फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १ सय वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका नयाँ अवसर सिर्जना गरिने छ ।
समझदारीपत्रमा सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरे ।
यस साझेदारी अन्तर्गत सीएनआईवाईईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाहरूको सञ्जाल मार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार र अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्ने छ ।
यो सहकार्य काठमाडौंमा मात्र सीमित नरही नेपालका विभिन्न सहर तथा उदीयमान उद्यमशीलता केन्द्रहरूमा विस्तार गरिने छ । नवप्रवर्तन र उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्याउँदै स्थानीयस्तरमै नयाँ व्यवसाय र उद्यमी जन्माउने लक्ष्य यस साझेदारीले लिएको छ ।
प्रतिक्रिया 4