+
+
Shares

तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैन : सडक डिभिजन चरिकोट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:५६

१४ असोज, काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन् ।

उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए ।

चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ । बन्द रहेको नाका खुलाउनका लागि चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रमुख भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए ।

उनले सडकमा सुधार गर्नुपर्ने भएमा पनि एकदुई दिनमा नै सुधार गरी नाका सञ्चालनमा ल्याउन सकिने बताए ।

भण्डारीकाअनुसार वर्षायाममा समेत नेपालतर्फको सडकबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए । वर्षा रोकिएसँगै अहिले दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम सुरु गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण चिनियाँ पक्षले सवारी आवागमन रोकेको भएपछि वास्तविक अवस्था त्यस्तो नरहेको उनको दाबी छ ।

नाका बन्द हुनुको कारण नेपालतर्फको सडकको अवस्था भएको भन्ने चर्चा चलेपछि चिनियाँ प्राविधिक टोलीसहितको संयुक्त अनुगमन गरिएको उनले बताए ।

भण्डारीले नाका खुलेको अवस्थामा नेपालतर्फको सडकले सवारी आवागमनमा अवरोध नगर्ने दाबी गरे ।

उनले भने, ‘सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन र त्यसलाई अलिकति सुधार गर्नुपर्ने भयो भने एक–दुई दिनमा हामीले त्यो सुधार पनि गर्छौँ । अहिलेसम्म बर्खा नै थियो । हामीले वान वे पास गरिरहेका थियौँ, त्यो वान वे पासलाई अहिले पनि समस्या छैन । बर्खा रोकिएपछि हामीले यसलाई टु वे पास गर्नसक्छौँ ।’

उनले अगाडि थपे, ‘हामीले दुई–तीन दिनमा यो सबै क्लियर गर्छौँ । यहाँबाट जुनसुकै गाडी लैजानका लागि आवश्यक तयारी गर्छौँ । नाका खोलेको अवस्थामा एक घण्टा पनि गाडी रोकिने अवस्था छैन । सरासर गाडीहरू जाने अवस्था छ । नाका खोल्यो भने बाटोले रोकिने अवस्था छैन ।’

यसबीचमा ४५ फिटका ५७ वटा कन्टेनरसमेत नेपालतर्फबाट पास गरिएको उनको भनाइ छ ।

उनले बाटोमा अड्किएका लोडेड सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाइसकिएको बताए ।

सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उनले स्पष्ट पारे ।

कोदारी राजमार्गमा पहिलो गएपछि तातोपानी नाका बन्द रहेको छ । यस्तै १० भदौको रसुवा बाढीका कारण केरुङ नाका र हालैको बाढीले पहिरो जाँदा मुस्ताङका कोरला नाका समेत बन्द रहेको छ ।

चीनतर्फका मुख्य नाका बन्द भएपछि सरकारले तातोपानी नाका सञ्चालनका लागि पहल गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?