+
+
Shares

वरिष्ठ संगीत गुरु जिबेश चाम्लिङ राईको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १२:२९

काठमाडौं । वरिष्ठ संगीतकर्मी जिबेश चाम्लिङ राईको निधन भएको छ । बुधबार राति काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

६५ वर्षिय राईको उक्त अस्पतालमा ब्रेन ट्यूमरको उपचार भैरहेको थियो ।

संगीत गुरुको रुपमा प्रसिद्ध राई अहिलेका चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईका पिता समेत हुन् । यी दुईजना छोरी पनि बुवाको संगीत साधनाबाट प्रेरित थिए ।

संगीत गुरु मात्र नभएर राई संगीतकार पनि हुन् । उनले थुप्रै गीतहरूमा संगीत भरेका छन्, जसमध्ये धेरै बालगीत छन् । उनका समकालिन संगीतकार शान्तिराम राईका अनुसार, जिबेशले काठमाडौंका १२ विद्यालयमा संगीत शिक्षकको रुपमा काम गरेका थिए ।

‘स्कुलमा बालबालिकालाई गीत सिकाउने काममा उनको जिन्दगीको धेरै समय बितेको छ । विद्यालयमा प्रशिक्षकको रुपमा काम गरेर उहाँले घरमा चुल्हो बाल्ने काम गर्नुभएको थियो’ शान्तिरामले भने ।

‘उहाँ संगीतमा राम्रो ज्ञान भएको संगीतकार हो । उनी मिलनसार थिए । प्रिय साथी थिए । तर, पछिल्लो समय उनी निराशावादी कुरा गर्न थालेका थिए’ उनले भने ।

मोरङको मिक्लाजुङ गाउँपालिकास्थित रमिते जन्मथलो भएका जिबेश सानैदेखि संगीतमा अभ्यस्त रहेको संगीतकार वसन्त सापकोटाले बताए ।

जिबेशका एक छोरा, दुई छोरी र दुईजना श्रीमती छन् । शुक्रबार दिउँसो जन्मथलोमै उनको अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?