मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेलाको टोलीले अमेरिकाको लस एन्जलसस्थित बलिउड एआई कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउने बताएको छ । अभिनेत्रीको अनुमति नलिई उनको नाम, तस्बिर र भिडियो प्रयोग गरेको आरोप लगाउँदै टोलीले कम्पनीसँग ७ हजार करोड भारु क्षतिपूर्ति माग गरेको जनाएको छ ।
उक्त एआईका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शीराज हसनले भने उक्त दाबीलाई हास्यास्पद बताएका छन् ।
के हो विवाद ?
यो विवाद बलिउड एआईले उर्वशीको अन्तर्वार्ता लिएपछि सुरु भएको हो । अन्तर्वार्ताका क्रममा उनलाई ‘बलिउड र कृत्रिम बुद्धिमत्ताबारे तपाईंको धारणा के छ ? भनेर सोधिएको थियो ।
जवाफमा उर्वशीले भनेकी थिइन्, ‘बलिउड ? मलाई लाग्छ, एआई यस्तो विषय हो, जससँग बलिउड जुधिरहेको छ र बलिउड यस्तो क्षेत्र हो, जसलाई म माया गर्छु । त्यसैले म बलिउडलाई माया गर्छु ।’
उक्त अन्तर्वार्ता भाइरल भएपछि उर्वशीको टोलीले मंगलबार इन्स्टाग्राममार्फत आधिकारिक वक्तव्य जारी गर्दै लस एन्जलसस्थित एआई कम्पनीमाथि गम्भीर आरोप लगाएको हो ।
वक्तव्यमा भनिएको छ, ‘हामी उपयुक्त कानुनी उपाय अपनाइरहेका छौं । यसअन्तर्गत लस एन्जलसस्थित कम्पनीसँग हाल ७ हजार करोड भारु क्षतिपूर्ति माग गरिएको छ ।’
टोलीले अगाडि भनेको छ, ‘आफ्नो एआई कम्पनी बनाउनुहोस् । आफ्नो ब्रान्ड बनाउनुहोस् तर अनुमतिबिना उर्वशीको नाम आफ्नो व्यवसायमा समावेश नगर्नुहोस् टोली उर्वशी ।’
शीराज हसनले दिए जवाफ
बलिउड एआई र हलिउड एआईका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शीराज हसनले इन्स्टाग्राम पोस्टमार्फत उर्वशीको टोलीको दाबीको जवाफ दिएका छन् ।
हसनले भनेका छन्, ‘उर्वशी, हामीले तपाईंको मुखमा यी शब्द राखेका थिएनौं । मेरो सुझाव छ, जवाफ दिनुअघि कृत्रिम बुद्धिमत्ता र बलिउडको मनोरञ्जन व्यवसायको भविष्यबारे आफूलाई शिक्षित गर्नुहोस् ।’
उनले अगाडि भनेका छन्, ‘बलिउड एआई र हलिउड एआई मनोरञ्जनको भविष्य हुन् । एआई चलचित्र, भर्टिकल ड्रामा र यस्ता डिजिटल कलाकार, जो कहिल्यै बूढा हुँदैनन्, धेरै भाषा बोल्छन् । २४ घण्टा काम गर्छन् र जसमा कुनै अहंकार हुँदैन ।’
हसनले थप भने, ‘तपाईं आफ्नो जवाफसँग लड्न सक्नुहुन्छ, तर आउँदै गरेको परिवर्तनसँग लड्न सक्नुहुन्न । यसलाई अपनाउनुहोस् । बलिउडमा मनोरञ्जन उद्योगको विकास भइरहेको छ ।’
एआईको दुरुपयोगप्रति सलमानले पनि जनाएका थिए असन्तुष्टि
हालै अभिनेता सलमान खानले रियालिटी कार्यक्रम ‘बिग बोस २०’ मा एआईको दुरुपयोगप्रति असन्तुष्टि जनाएका थिए ।
सलमानले भनेका थिए, ‘एआईको दुरुपयोग भइरहेको छ । कसैले तपाईंको एआई आवाज लिएर अरू कसैलाई गाली गरिदियो । तपाईंलाई थाहा छ, यी मानिसले धेरै व्यक्तिका एआई भिडियो बनाइरहेका छन् । मसमेत एआई भिडियोमा देखिन्छु । केही मानिसलाई म कस्तो छु भन्ने थाहा हुँदैन, उनीहरूले सलमान खान पबमा थियो भनेर पोस्ट गरिदिन्छन् । जसलाई वास्तविकता थाहा छ र जसले यस्तो भिडियो बनाएको छ, उनीहरू कस्ता मानिस हुन् ?’
उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई जेल पठाउनुपर्ने बताएका थिए । ‘एक-दुई जना जेल नपरेसम्म यो सबै रोकिनेवाला छैन । यसका लागि कानुन ल्याउनुपर्छ । सामाजिक सञ्जालमा पनि सेन्सरसिप हुनुपर्छ । म यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिनेछु,’ सलमानले भनेका थिए ।
एआईको दुरुपयोगविरुद्ध अदालत पुगे बलिउड कलाकार
कृत्रिम बुद्धिमत्ता र डिपफेकको बढ्दो प्रयोगबीच बलिउडका धेरै कलाकार आफ्नो व्यक्तित्वसम्बन्धी अधिकारको संरक्षणका लागि अदालत पुगिसकेका छन् ।
अमिताभ बच्चनले आफ्नो नाम, अनुहार, आवाज र चर्चित संवादको अनधिकृत प्रयोगविरुद्ध अदालतबाट संरक्षण लिएका छन् । सलमान खानले पनि आफ्नो नाम, तस्बिर, आवाज तथा एआईसँग सम्बन्धित अनधिकृत प्रयोगविरुद्ध अदालतको ढोका ढकढक्याएका छन् ।
अनिल कपूरले आफ्नो आवाज, तस्बिर र पहिचानको प्रयोगमा रोक लगाउन माग गरेका छन् । ऐश्वर्या राय बच्चनले डिपफेक र स्वरूप परिवर्तन गरिएका तस्बिरविरुद्ध कानुनी कदम चालेकी छन् ।
ऋतिक रोशनले पनि आफ्नो पहिचान र एआईसँग सम्बन्धित नक्कली सामग्रीको प्रयोगविरुद्ध अदालतको सहारा लिएका छन् । अक्षय कुमारले आफ्नो आवाज, तस्बिर र पहिचानको अनधिकृत प्रयोगविरुद्ध कानुनी कदम चालेका छन् ।
ज्याकी श्रफले आफ्नो नाम, आवाज र ‘भिडू’ जस्ता पहिचानसँग जोडिएका शब्दको अनधिकृत प्रयोगविरुद्ध संरक्षण पाएका छन् ।
यसैगरी अभिषेक बच्चन, करण जौहर, सोनाक्षी सिन्हा, अर्जुन कपूर र श्रुति हासनले पनि आफ्नो पहिचानको दुरुपयोगविरुद्ध कानुनी राहत मागेका छन् ।
प्रतिक्रिया 4