+
+
Shares

मलाई मेरो वर्तमानमा बाँच्न दिनुस : एलिना चौहान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १२:११

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा आफू र पूर्वपतिको नाम जोडेर टिप्पणी हुन थालेपछि चौहानले फेसबुकमार्फत आफ्नो वर्तमानलाई विगतका सम्बन्धबाट परिभाषित नगरिदिन आग्रह गरेकी हुन् ।

‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्’ उनले लेखेकी छन्, ‘कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु ।’

आफू विगतलाई पछाडि छाडेर धेरै अगाडि बढिसकेको उल्लेख गर्दै चौहानले पुराना तस्बिर र सम्बन्धलाई बारम्बार समाचारमा जोड्दा पुराना घाउ पुनः बल्झिने बताएकी छन् ।

‘मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु । तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ उनले भनेकी छन् ।

उनले आफ्नो विगतलाई वर्तमानको परिचय नबनाउन आग्रह गर्दै जीवनको एउटा अध्यायलाई सम्पूर्ण जीवनका रूपमा प्रस्तुत नगर्न भनेकी छन्।

‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन । कृपया त्यो अध्याय बन्द गरिदिनुस्’ चौहानले लेखेकी छन् ।

आफ्नो पहिचान स्थापित गर्न अरू कसैको नाम आवश्यक नरहेको पनि उनको भनाइ छ । ‘यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु, मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन,’ उनले लेखेकी छन् ।

चौहानले विगतसँग जोडिएका व्यक्ति वा सम्बन्धलाई बारम्बार अगाडि ल्याएर आफ्नो वर्तमानको परिचय नबनाइदिन आग्रह गरेकी छन्।

साथै, उनले भ्रामक तथा आफ्नो आत्मसम्मानमा आँच पुर्‍याउने सामग्री प्रकाशन वा प्रसारण गरिए कानुनी उपचारमा जाने चेतावनी दिएकी छन् ।

‘यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्‍याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु’ चौहानले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?