+
+
Shares

कांग्रेसमा नियमित महाधिवेशन धकेल्न खोज्दा फेरि विशेष महाधिवेशनको आवाज

विधानमा स्पष्ट व्यवस्था भएबमोजिम ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विषयलाई लत्याउनु लोकतन्त्रलाई आदर्श मान्ने दलका लागि उपयुक्त मान्न सकिँदैन ।

केशव सावद केशव सावद
२०८२ पुष ११ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै सम्पन्न नहुने भएपछि विशेष महाधिवेशन बाध्यकारी बन्दै गएको छ।
  • ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन आह्वान नगर्नु लोकतान्त्रिक दलका लागि उपयुक्त नहुने नेताहरूको भनाइ छ।
  • यसबीच महामन्त्री गगन थापाले विधान अनुसार विशेष महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका छन् ।

११ पुस,  काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै सम्पन्न हुन नसक्ने परिस्थिति सिर्जना हुँदै जाँदा विशेष महाधिवेशन बाध्यकारी बन्दै गएको छ ।

पार्टी नेतृत्व पूर्वनिर्धारित तिथिमा नियमित महाधिवेशन गर्न इच्छुक नदेखिएका कारण कांग्रेसमा विशेष महाधिवेशन बाध्यकारी बन्दै गएको हो ।

निर्धारित कार्यतालिकाअनुसार नियमित महाधिवेशन सम्पन्न गर्नेगरी मूल नेतृत्वले सक्रियता नबढाए विधानमा भएको व्यवस्थाअनुसार माग गरिएको विशेष महाधिवेशन टार्नु लोकतान्त्रिक दल कांग्रेसका लागि प्रत्युत्पादक बन्ने देखिन्छ ।

केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको तिथि–मिति घोषणा गरे पनि कांग्रेसमा विशेष अधिवेशनको माग भने निष्क्रिय भएको छैन । यो विषय पार्टी नेतृत्वदेखि आमकार्यकर्तामा जगजाहेर छ ।

तथापि, संस्थापन पक्ष नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ ।

तर, विधानमा स्पष्ट व्यवस्था भएबमोजिम ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विषयलाई लत्याउनु लोकतन्त्रलाई आदर्श मान्ने दलका लागि उपयुक्त मान्न सकिँदैन ।

केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार वडादेखि केन्द्रसम्मको अधिवेशन गर्नका निम्ति कांग्रेसमा जुन गाम्भीर्य र संवेदनशिलता देखिनुपर्ने हो, त्यो देखिएको छैन ।

सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिनु, आफूनिकट नेतालाई अधिवेशनमा लाग्न कडाइका साथ निर्देशन नदिनु र संस्थापन पक्षको पकड भएका जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा भएको ढिलाइले त्यसको पुष्टि गर्छ ।

कांग्रेसमा यतिबेला संस्थापन पक्षको मूल ध्येय महाधिवेशन कार्यतालिकाको समय पछाडि लैजाने देखिन्छ । ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले तालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गर्न नसक्दा संस्थापनलाई थप बल पुगेको छ ।

संस्थापन पक्ष विशेष अधिवेशनको मागलाई निष्क्रिय बनाउने र प्रतिनिधिसभा निर्वाचन अगावै महाअधिवेशन नगर्ने प्रयासमा रहेको इतर समूहका नेताहरूको आरोप छ ।

‘समय पछाडि लैजाने जुन प्रयास भइराखेको छ, यो विशेष अधिवेशन निष्क्रिय बनाउने र निर्वाचन अगाडि अधिवेशन नगर्ने प्रयास हो,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।

अधिवेशन सम्पन्न गर्नुलाई पार्टीको जिम्मेवारीका रूपमा चित्रण गर्दै उनले महाधिवेशन अधिवेशन सम्पन्न नगरी आमनिर्वाचनको तयारी गर्न नसकिने जिकिर गरे ।

‘अधिवेशन पार्टीको जिम्मेवारी हो, अधिवेशन सम्पन्न नगरी निर्वाचनको तयारी गर्न सक्दैनौं,’ नेता पौडेलले भने, ‘निर्वाचनमा हामी मत बढाउन सक्दैनौं भन्ने यथार्थलाई बुझेर निर्वाचनभन्दा अगाडि अधिवेशनको सुनिश्चितता गर्नुबाहेक अर्को विकल्प छैन ।’

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेमध्येका अर्का नेता मधु आचार्य अबको विकल्प विशेष महाधिवेशन मात्रै रहेको बताउँछन् । ‘नियमित महाधिवेशन गर्न नसकिने हो भने विधानत: आह्वान भएको विशेष महाधिवेशनमा जानुपर्छ,’ केन्द्रीय सदस्य आचार्यले भने ।

नियमित महाधिवशेन गर्न नसकिए विशेषमा जानैपर्ने बाध्यकारी अवस्था रहेको उनको भनाइ छ । २९ असोजमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको थियो ।

कांग्रेसको विधानअनुसार माग गरिएको मितिले तीन महिना भित्र विशेष महाधिवेशन आह्वान गरिसक्नुपर्छ । उक्त अवधि २८ पुसबाट सकिन्छ । ‘केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गरोस्,’ आचार्यको भनाइ छ, ‘नत्र मागकर्ताले नै आह्वान गर्छन् ।’

महामन्त्री गगन थापानिकट विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेताहरू तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेका छन् । पार्टीले विधानको अनुशासन नमाने विशेष महाधिवेशनका हस्ताक्षरकर्ताले विधान उल्लंघन गरेर भए पनि पार्टीलाई नयाँ बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

महामन्त्री थापानिकट नेता शंकर तिवारीले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘पार्टी विधानभन्दा माथि कोही छैन । विधानको दफा १७ (२) को पालना पार्टी केन्द्रले गरोस् । केन्द्रले विधानको अनुशासन नमाने विशेष महाधिवेशनका हस्ताक्षरकर्ताले विधान कार्यान्वयन गरेर भए पनि पार्टीलाई नयाँ बनाउनु पर्नेछ ।’

उनले केन्द्रीय नेतृत्वले विचार नपुर्‍याए विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूले आफैं निर्णय गर्ने चेतावनी दिएका छन् । ‘समय छँदै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र कांग्रेस केन्द्रले विचार पुर्‍याओस्,’ उनले भने, ‘होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूले आफैं निर्णय गर्ने छन् ।’

महामन्त्री थापा पार्टी नेतृत्वले आलटाल गरेर महाधिवेशन नगर्न खोजे विधानअनुसार विशेष महाधिवेशन हुने बताइरहेका छन् । गत बुधबार (९ पुस) सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले अनावश्यक विवाद गरेर समय खेर फालिएको भन्दै विषेश महाधिवेशनतर्फ लक्षित अभिव्यक्ति दिएका थिए ।

‘हामीले अनावश्यक विवाद गरेर समय खेर फालिसक्यौं । अब फेरि गर्ने कुरा हुँदैन,’ सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले भनेका थिए, ‘यसरी नै जाने, महाधिवेशन गर्न नखोज्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, विधानअनुसार विशेष महाधिवेशन हुन्छ ।’

त्यसको दुई दिनअघि (७ पुस)मा महामन्त्री थापाले धुम्बाराही ब्यांक्वेटमा  काठमाडौं–४ का कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा मूल नेतृत्वतर्फ इंगित गर्दै पार्टी अधिवेशनको प्रक्रियालाई नियतवश अवरुद्ध गराउने काम भए विशेष महाधिवेशन हुने चेतावनी दिएका थिए ।

‘अधिवेशनको प्रक्रियालाई नियतवश अवरुद्ध गराउने काम भइराख्छ भने त्यो बेलामा देशभरका साथीहरू आएर पार्टीको विशेष महाधिवेशन गराउनेतर्फ लाग्ने अवस्था बन्छ,’ उनको चेतावनी थियो, ‘त्यो विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्छ ।’

महामन्त्री थापाले बिहीबार पनि संस्थापन पक्षलाई प्रष्ट ढंगले भनिसकेका छन्– महाधिवेशन गरेर नेतृत्व चयन भएन भने म चुनाव लड्दिनँ । ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ उनले बैठकमा भनेका छन् ।

थापाले नेतृत्व परिवर्तन नगरी प्रतिनिधिसभा निर्वाचनमा जाने अवस्था आए आफू चुनाव नलड्ने उद्घोष बैठकमा गरेको नेताहरू बताउँछन् । ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ,’ महामन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

कांग्रेस नेता पौडेल पनि महाधिवेशन नगरी सभापति देउवाकै नेतृत्वमा निर्वाचन गए कांग्रेसको शर्मनाक हार हुने दाबी गर्छन् । ‘निर्वाचन जित्नका निम्ति महाधिवेशन नगरी हुँदैन,’ उनी भन्छन्, ‘महाधिवशेन गरिएन भने निर्वाचनमा कांग्रेसको शर्मनाक हार हुन्छ ।’

पौडेलले महाधिवेशन नगरी निर्वाचनमा जाँदा हुने सम्भावित पराजयको यथार्थ बुझ्दाबुझ्दैै पनि अधिवेशन अनिश्चित गराउने काम भइरहेकोप्रति खिन्नता प्रकट गरे । ‘यो यथार्थ बुझ्दाबुझ्दै पनि अझै अधिवेशन अनिश्चित गराउने काम किन भइरहेको छ ?,’ पौडेलको प्रश्न छ, ‘अधिवेशनतिर नभएर अन्तैतिर समय खर्च गर्ने काम किन भइरहेको छ ?’

केन्द्रीय कार्यसमितिले तय गरेको तालिका प्रभावित हुने स्थिति बने फेरि विशेष अधिवेशनको दबाब बढेर जाने महामन्त्री थापानिकट नेताहरू बताउँछन् । पार्टीमा दबाब बढ्दै जाँदा नियमित अधिवेशनभन्दा विशेष अधिवेशनबाट नेतृत्व चयन भए अन्तरविरोध बढेर जाने र त्यसले निर्वाचनमा बढी प्रभाव पार्न सक्ने कतिपयको भनाइ छ ।

‘विशेष अधिवेशनलाई निष्क्रिय बनाउने र निर्वाचनमा पार्टीको मत बढाउने एक मात्र उपाय नियमित अधिवेशन हो,’ पौडेलको भनाइ छ, ‘अधिवेशन अनिश्चित बनाउने, समय पाबन्दीका कारण गर्न सकिएन भन्ने बनाउन जुन कोसिस भइरहेको छ, त्यसले पार्टीलाई धेरै ठूलो नोक्सान पुर्‍याउँछ । यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ ।’

विशेष महाधिवेशनका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियानको नेतृत्व गर्ने नेतामध्ये गुरुराज घिमिरेले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित हुँदा कांग्रेस १६ मंसिरअघिकै अवस्थामा पुगेको बताए ।

२८ असोजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक १६ पुससम्म महाधिवेशन नियमित कि विशेष र चुनाव अगावै कि चुनाव पछि भन्ने बहसमा रुमल्लिएको थियो । तत्कालीन विवाद स्मरण गर्दै नेता घिमिरेले भने, ‘अहिले पनि त्यही अवस्था भयो ।’

नेता घिमिरेले नियमित अधिवेशन सम्भव नभए नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन नै सबैभन्दा उपयुक्त र वैधानिक विकल्प भएको दाबी पनि गरे । पार्टी भित्र देखिएको अन्योल, सांगठनिक निष्क्रियता र समसामयिक राष्ट्रिय मुद्दाहरूमा नेतृत्वले देखाएको उदासिनताप्रति उनले आपत्ति जनाए ।

‘इतिहासमा कांग्रेस यति धेरै अन्योलको अवस्थामा कहिल्यै पुगेको थिएन,’ नेता घिमिरेले भने, ‘हाम्रा क्रियाकलाप, हाम्रा कर्मले हाम्रो ऐतिहासिक प्रतिष्ठामा ठूलो ह्रास आएको छ ।’

नेता घिमिरेले पार्टी भित्र उठेको नेतृत्व परिवर्तनको माग सम्बोधन गर्ने उत्तम विकल्प विशेष महाधिवेशन भएको बताए । ‘विशेष महाधिवेशन वैकल्पिक र उपयुक्त बाटो हो,’ उनले भने, ‘अहिले पार्टी भित्र उठिरहेको नेतृत्व परिवर्तनको आवाज सम्बोधन गर्ने सबैभन्दा उपयुक्त माध्यम विशेष महाधिवेशन हो ।’

पार्टीलाई अनिर्णयको बन्दी बनाउनुको सट्टा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले निकास दिनुपर्ने उनको भनाइ छ । विशेष महाधिवेशन पक्षधरले बैठकको निर्णय पखिरहेको उनले बताए ।

‘कार्यसम्पादन समितिको बैठकले के गर्छ, के टुङ्गोमा पुग्नु हुन्छ, बैठक किन राखिएको हो, त्यसको निष्कर्ष के आउँछ, हामीले हेरिराखेछौं,’ नेता घिमिरेले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?