१५ मंसिर, काठमाडौं । महाधिवेशन चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको नेपाली कांग्रेस महाधिवेशनको मिति तोक्दै चर्किएको विवादलाई सकसपूर्ण रूपमा बैठान गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सम्बन्धी प्रस्तावलाई सोमबार बसेको केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको छ ।
चुनावअघि महाधिवेशन गर्नै नहुने अड्डी कसिरहेका संस्थापन पक्षका नेताहरू पुसभित्रको कार्यतालिकामा सहमत बनेका छन् ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्कनुअघि चुनावअघि महाधिवेशन गर्नै नहुने अडान राख्ने नेताहरू समेत अन्तत: नियमितको पक्षमा उभिएका छन् ।
कांग्रेस पदाधिकारी बैठक, केन्द्रीय समिति बैठक एवं केन्द्रीय समिति रोकेर भइरहेका शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न सकिने विकल्पसहित प्रस्ताव राख्दा देउवा पक्षका नेताहरू तयार भएका थिएनन् ।
महामन्त्री थापाले केन्द्रीय समितिमा १६ देखि १९ पुससम्म नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए । सोमबार पारित भएको नियमित महाधिवेशनको मिति महामन्त्री थापाले प्रस्ताव गरेको भन्दा १० दिनपछि हुने गरी तय गरिएको छ ।
नेता प्रदीप पौडेल केन्द्रीय समिति बैठक लम्ब्याएर डेढ महिना विवादमा समय खेर फालिएको बताउँछन् । तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव हुने र बैठक लामो नचलाऔं भने पनि सुनवाइ नभएको सुनाए ।
‘बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेल भन्छन्, ‘तर यसलाई गम्भीर रूपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’

निधि र सिटौला पक्ष कसरी भयो सहमत ?
चुनावअघि महाधिवेशन गर्न समयको चाप हुने भन्दै निरन्तर कार्यतालिकाको विपक्षमा रहेका नेताहरू पनि पुसभित्रै महाधिवेशन गर्न सहमत भएका छन् ।
पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका आए त्यसलाई बहुमतले विफल पार्ने भन्दै निर्णय गरेको पक्ष पनि अन्तत: चुनावअघिकै महाधिवेशनको पक्षमा उभिएको छ ।
चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले महाधिवेशन गर्ने गरी नै कार्यतालिका आए विपक्षमा किन रहनु भनेर सहमत भएको बताए ।
उनी भन्छन्, ‘महाधिवेशन वा चुनाव मध्येमा एकका लागि तयार गरौं भनेका हौं । महाधिवेशन गर्न सकिन्छ भनेर कार्यतालिका आउने भएपछि सहमत भयौं ।’
पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको नेतृत्वमा चुनावअघि महाधिवेशन गर्न नहुने पक्षधरको बैठक पटक-पटक बसेको थियो । उक्त समूहले नियमित महाधिवेशनको कार्यतालिका ल्याए बहुमतले विफल पार्ने चेतावनी समेत सभापति देउवालाई दिँदै आएका थिए ।
नियमित कार्यतालिका ल्याउने निर्णयमा सभापति देउवा पुगिसक्दा आइतबार उक्त समूहको बैठक बसेर चुनावपछि महाधिवेशन गर्नुपर्ने निर्णय पारित गरेको थियो ।
सभापति देउवा स्वयं महाधिवेशनका पक्षमा देखिएपछि संस्थापन पक्षका कतिपय केन्द्रीय सदस्यहरू निधि र सिटौलाका विचारबाट असहमत बनिसकेका थिए ।
कांग्रेस नेताहरूका अनुसार सभापति देउवाले दुई पूर्वपदाधिकारी निधि र सिटौलालाई आमन्त्रण गरेर नियमितका पक्षमा उभिन निर्देशन दिएका थिए ।
नेताहरूका अनुसार सभापति देउवाले नियमित महाधिवेशनको विपक्षमा निधि र सिटौला उभिएर व्यवधान खडा गर्न खोजे विशेष महाधिवेशन आफैंले आह्वान गर्ने चेतावनी उनीहरूलाई दिएका थिए । सभापति देउवाको निर्देशन अनुसार संस्थापन पक्षका नेताहरू नियमित महाधिवेशनमा एकढिक्का देखिए ।
चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापनका केन्द्रीय सदस्यहरूले कार्यतालिकाको स्वागत गरेका छन् ।
देउवा पक्षबाट गत महाधिवेशनमा केन्द्रीय सदस्य बनेकाहरूले २८ जनाको समूहले नियमित महाधिवेशन गर्न शीर्ष नेताहरूको ध्यानाकर्षण गराउँदै आएको थियो ।
उक्त समूहको अगुवाई गर्ने केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले कार्यतालिका अनुसार नियमित महाधिवेशन समयमै गर्न सकिने विश्वास गरे ।
शेर्पाले भने,‘विशेष महाधिवेशन माग्ने साथीहरू पनि महाधिवेशन भएन भनेर बोल्ने अवस्था छैन । तोकिएको समयमा नियमित महाधिवेशन गर्न सकिन्छ ।’

आठ तहको अधिवेशन १० दिनमा कति सम्भव ?
कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु गर्नका लागि सबैभन्दा जटिल विषय क्रियाशील सदस्यता टुंगिनु हो । क्रियाशील सदस्यताको टुंगो लागेपछि मात्रै संरचनागत अधिवेशनको प्रक्रिया सुरु हुन्छ ।
कांग्रेसका विगतका महाधिवेशन क्रियाशील सदस्यता टुंगिएर केन्द्रीय महाधिवेशन सकिने अवधि छ महिनाको तोकिने प्रचलन जस्तै बनेको थियो ।
कार्यतालिका तोकिएपनि कार्यान्वयन नभएसँगै पटक पटक कार्यतालिका संशोधन गरिँदै आएको थियो । यसपटक डेढ महिनाको अवधि राखेर मिति तय गरिएको छ ।
कार्यतालिका तय गर्दा समयावधि छोट्याइएको छ । एक केन्द्रीय सदस्य भन्छन्,‘महामन्त्रीले डेढ महिनाअघि देखि नियमित महाधिवेशन गर्न सकिन्छ । गरौं भन्दा तयार भएनन् । समय धेरै अघि बढिसक्यो । यो अवधिमा सबै प्रक्रिया सकेर महाधिवेशन गर्न सकिएला जस्तो लाग्दैन ।’
मंसिर २० गतेबाट सदस्यताको प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ । नयाँ सदस्यता वितरण मंसिर २० गतेबाट सुरु गर्ने मंसिर २५ गतेबाट सदस्यता नवीकरणको प्रक्रिया सुरु गरेर पुस ८ भित्र जिल्ला समितिले केन्द्रमा पठाउनु पर्नेछ ।
यसअघि केन्द्रीय समितिले नवीकरणको समयावधि असोज मसान्तसम्मको अवधि तोकिएको थियो । १० दिन भित्रमा वडादेखि केन्द्रसम्म आठ तहको अधिवेशन गर्ने गरी समयतालिका बनाइएको छ ।
पुस १६ गते वडा, १७ गते गाउँ/नगर, १९ गते प्रदेश सभा क्षेत्र, एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको २१ गते, एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा २२ गते, सात प्रदेश समितिको २३ र २४ गते र महाधिवेशनको मिति पुस २६ देखि २८ गतेसम्म तोकिएको छ ।
तहगत महाधिवेशनको प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता छानबिन समिति र विधान मस्यौदा समिति गठन हुनुपर्दछ । साथै निर्वाचन समितिले पूर्णता पाउनु पर्दछ । यी समितिले कहिले गठन हुने यकिन छैन ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानबिन र विधान मस्यौदा समिति गठन गर्न आवश्यक परामर्श गरेर सभापति/कार्यवाहकले निर्णय लिने उल्लेख गरे ।
सोमबार सार्वजनिक भएको निर्णयमा क्रियाशील सदस्यता छानबिन समितिले गठन भएकै दिनदेखि कार्य प्रारम्भ गर्ने उल्लेख छ । तर, सभापति देउवाको परामर्श लिएर कार्यबाहक सभापति खड्काले उक्त समिति कहिलेसम्म गठन गर्ने अनिश्चित छ । विधान संशोधन मस्यौदा, सदस्यता छानबिन समिति गठन र निर्वाचन समितिले निर्णय गर्दा सर्वसम्मत गर्नुपर्ने कार्यादेश दिइएको छ ।

‘नियमितमा आलटाल गरे विशेष महाधिवेशन’
डेढ महिना लगाएर सकिएको केन्द्रीय समितिले निर्णय गर्दा विशेष महाधिवेशनको प्रसंग उल्लेख गरिएको छैन । २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २४ सय ८८ प्रतिनिधिले लिखित प्रस्ताव दर्ता गराएका थिए । विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको तीन महिनाभित्र आव्हान गर्नुपर्दछ ।
विशेष महाधिवेशनको मागको अवधि सकिनै लाग्दा नियमित हुने गरी कार्यतालिका ल्याइएको छ । नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न व्यवधान पुर्याए विशेष महाधिवेशन हुने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बताउँदै आएका छन् ।
महामन्त्री शर्मा भन्छन्,‘सभापति नियमित महाधिवेशनका लागि तयार हुनुभएको छ । कार्यतालिका कार्यान्वयन गराउने तिर नेताहरू नलाग्ने हो भने उहाँहरूले सभापतिलाई नै विशेषतिर धकेलेको ठहरिन्छ ।’
नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको आवश्यकता नरहेको संस्थापन पक्षको निचोड छ । प्रवक्ता महत भन्छन्, ‘मूल कुरो अधिवेशन समयमा हुनुपर्यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि । त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’
बैठकमा प्रस्ताव पेश वा निर्णयहरू सुनाउँदा मूलतः महामन्त्रीले प्रस्तुत गर्ने प्रचलन छ । महाधिवेशनको कार्यतालिकाको प्रस्तावलाई निर्णायार्थ आज बैठकमा पेस गरेनन् ।
महामन्त्री थापा निकट एक केन्द्रीय सदस्यका अनुसार नियमित कार्यतालिकाको प्रस्ताव आफूले पेश नगर्ने जानकारी गराइसकेका थिए ।
उनका अनुसार सोमबार बिहान पार्टीका सिमिति नेताहरूको भेटघाटमा महामन्त्री थापाले नियमित कार्यान्वयन गर्न संस्थापन पक्ष तयार नभएर आलटाल गरे विशेष महाधिवेशन हुने जानकारी गराएका थिए ।
महामन्त्री थापाको भनाई उधृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘कार्यतालिका पहिलो काम नै गर्नुभएन भने उहाँहरूको भित्रि चाहना थाहा भइहाल्छ । महाधिवेशन नगर्ने नियत प्रष्ट भएसँगै विशेष महाधिवेशनको तयारी हुन्छ ।’
महामन्त्री थापाले विशेष महाधिवेशनको अडान निरन्तर नराखेको भए सभापति देउवा नियमितका लागि तयार नहुने स्पष्टै रहेको जानकारी गराएका थिए ।
केन्द्रीय सदस्य मधु आचार्य पार्टी पङ्ति सक्रिय भएर लागेको अवस्थामा नियमित महाधिवेशन गर्न सकिने बताउँछन् । आचार्य भन्छन्,‘सबै लागौं, सफल बनाऔं । अन्यथा, सबैलाई थाहै छ– विशेष महाधिवेशनको निवेदन ज्यूँदैछ ।’
सभापति देउवा नेतृत्वको समितिको चार वर्षे कार्यकाल यही मंसिर मसान्तमा सकिन्छ । विधान अनुसार एक वर्ष म्याद थप्न सकिन्छ । दुई महिनाका लागि अवधि थपेर माघ मसान्तसम्मको लागि पुर्याइएको छ ।
कदाचित्, पुसभित्र नियमित महाधिवेशन भएन भने कार्यतालिका लम्ब्याउने नियतले एक महिना बढी अवधि थपिएको बुझाई समेत कांग्रेस नेताहरूमा छ ।
तस्वीरः आर्यन धिमाल
प्रतिक्रिया 4