+
+
Shares

विशेष महाधिवेशन पक्षधरको प्रश्न- केन्द्रीय समितिको म्याद थप्नुको उद्देश्य के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २०:२६

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको समयावधि थप्नुले समयमै महाधिवेशन सम्पन्न हुँदैन कि भन्ने संशयलाई आधार दिएको बताएको छ ।

सोमबार साँझ कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयप्रति विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी अपिलमा यस्तो आशंका व्यक्त गरिएको हो ।

केन्द्रीय समितिले सोमबार प्रस्ताव गरेको २६–२८ पुसको महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको उनीहरूले बताएका छन् ।

‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि वहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरू अवरुद्ध गरिएमा वा भएमा २९ असोजमा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ,’ अपिलमा उल्लेख छ ।

अपिलमा अगाडि भनिएको छ, ‘२८ पुसमा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ?  यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संसयलाई आधार दिएको छ । यसबीच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ ।’

लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र नभएर पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया भएको विशेष महाधिवेशन पक्षधरको भनाइ छ ।

तोकिएको समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनका लागि तयार रहन आग्रह गर्दै उनीहरूले १५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको बताएका छन् ।

हेर्नुहोस् अपिल :

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मंसिर १५ गतेको निर्णयप्रति विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी

साझा धारणा एवं अपिल

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०८२ मंसिर १५ गते बसेको बैठकले गरेको पार्टीको १५औं महाधिवेशनको कार्यतालिका र अन्य निर्णयहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामीले १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्नुपर्छ भन्ने माग गत महासमिति बैठकदेखि स्पष्ट रूपमा राख्दै आएका छौँ । गत भाद्र २३–२४ पछिको गम्भीर राजनीतिक संकटका बेला पनि हामीले तत्काल केन्द्रीय समितिको  बैठक बोलाएर महाधिवेशनको ठोस कार्यतालिका बनाउनुपर्छ भनेर जोडदार आवाज उठाएका थियौं । तर, विडम्बना केन्द्रीय नेतृत्वले महाधिवेशनप्रति देखाएको उदासीनता र ढिलासुस्तीले पार्टीको आन्तरिक जीवनलाई गम्भीर संकटतर्फ धकेलेको यथार्थलाई हामी सबैले महसुस गरेका छौँ । यही वास्तविकताबाट निर्देशित हुँदै, हामी २,४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थियौं । यो निवेदन केवल दबाबको अस्त्र मात्र थिएन, यो त समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्वको स्मरण पनि थियो ।

एकातिर देश गम्भीर राजनीतिक संकटको भुमरीमा फसिरहेका बेला पनि केन्द्रीय समिति मौन बस्नु, अर्कोतिर असोज २८ मा सुरु भएको बैठकलाई अनावश्यक रूपमा मंसिर १५ सम्म लम्ब्याएर उपलब्ध एक महिना १८ दिन खेर फालियो । अन्ततः विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबाब स्वरूप १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा हामीले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छौं । यो घोषणा विशेष महाधिवेशलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो ? समयक्रमले नै जवाफ दिनेछ ।

हामी सबै जानकार छौं – गत भदौ २६ मा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ मा आम निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । त्यसअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु हाम्रो संवैधानिक, राजनीतिक र नैतिक दायित्व हो । यो दायित्व पूरा गर्न हामी कोही पनि पछि हट्नु हुँदैन, पछि हट्ने छैनौं ।

केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६–२८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालीका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको छ । हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि वहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान वमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।  पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्त सम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ?  यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यस बीच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौं । लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो । यो त पार्टीलाई नागरिकको बदलिँदो आकाङ्क्षासँग जोड्ने सेतु हो, नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गर्दछ ।

अन्त्यमा, देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथिहरू, समर्थक एवं शुभेच्छुकहरूलाई यस बीचमा उत्पन्न हुन सक्ने हरेक प्रतिकूलताको सामना गर्दै एकजुट भएर १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्दछौं । यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनको लागि तयार रहन समेत हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौं । १५औं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम हो । यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथिहरूलाई हार्दिक आभार प्रकट गर्दछौँ ।  साथै,  पार्टीको समग्र सुधार, रुपान्तरण र पुनर्गठनका लागि तपाईंहरूको साथ र समर्थन सधै रहिरहने विश्वास व्यक्त गर्दछौँ ।

जय नेपाल !

मिति : २०८२ मंसिर १५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?