३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीका पालिका सभापतिहरू नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
वर्तमान नेतृत्व र मनोवृत्ति लिएर मतदाताकहाँ जान नसकिने उल्लेख गर्दै उनीहरूले चुनावअघि महाधिवेशनको माग गरेका हुन् ।
‘हाम्रो पार्टीको यही नेतृत्व र मनोवृत्तिले मतदाताको घर आगनमा जान सक्ने परिस्थिति नभएको यथार्थलाई अवगत गराउँदै जारी केन्द्रीय समितिको बैंठकले निर्वाचनभन्दा अघि नै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दछौं,’ सिन्धुलीका ८ पालिका सभापतिहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नियमित महाधिवेशन नभएको खण्डमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको स्मरण गराउँदै निर्वाचन अगावै विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकले सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।
हस्ताक्षर गर्नेमा कमलामाई नगरपालिकाका कमल पोखरेल, दुधौली नगरपालिकाका बलराम कार्की, फिक्कल गाउँपालिकाका रामबहादुर कार्की, तीनपाटन गाउँपालिकाका सोमप्रसाद घिमिरे, गोलञ्जोर गाउँपालिकाका मोतिराज सापकोटा, मरिण गाउँपालिकाका रामबहादुर वाइवा, घ्याङलेख गाउँपालिकाका गणेश पुलामी र सुनकोशी गाउँपालिकाका चन्द्र श्रेष्ठले छन् ।
हरिहरपुरका सभापति बमबहादुर स्याङ्बाले भने विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।
प्रतिक्रिया 4