१६ असोज, काठमाडौं । नेशनल मेडिकल कलेजका आवसीय चिकित्सक पढ्ने वातवरण बनाइदिन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन् ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेपछि उनीहरू काठमाडौं आएका हुन् ।
‘५२ जना छौँ । अहिले सानोठिमीमा ४० जना आएका छौँ । सबैजना वीरगञ्जबाट आएका हौँ,’ आवसीय चिकित्सक विवेक भट्टराईले भने, ‘त्यहाँ पढ्ने वातवरण छैन । डर र धम्की दिइएको छ । अनुत्तीर्ण गर्ने, थेसिसमा साइन नगर्ने जस्ता धम्की आएको छ ।’
पढ्ने वातवरण नभएपछि आफूहरू न्याय खोज्न आयोग पुगेको उनले बताए ।
‘चिकित्सा शिक्षा आयोगको जाँच दिएर सरकारले पठाएको हो । अर्को ठाउँमा पढ्न पाउनु पर्यो,’ उनले भने ।
आयोगमा आएका स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सक हुन् ।
कलेज यसअघि पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले आज नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे ।
सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइएका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू (विद्यार्थीहरू) को भविष्य अन्योलमा पार्न मिल्दैन ।’
प्रतिक्रिया 4