सरकारी अस्पतालमा उपचारका लागि पुगेका बिरामीले चिकित्सकको प्रेस्क्रिप्सन बोकेर औषधि खोज्दै अस्पताल परिसरमै रहेका विभिन्न काउन्टर धाउनुपर्ने अवस्था अझै पूर्ण रूपमा अन्त्य भएको छैन । धेरै सरकारी अस्पतालमा आफ्नै फार्मेसी भए पनि ती सेवा अझै पूर्ण रूपमा संस्थागत, व्यवस्थित र बिरामी केन्द्रित बन्न सकेका छैनन्।
फार्मेसीलाई अस्पतालको औषधि बिक्री गर्ने काउन्टरमा मात्र सीमित गर्ने कि चिकित्सकीय उपचार प्रणालीकै अभिन्न अंग बनाउने ? भन्ने अहिलेको मूल प्रश्न हो ।
यही प्रश्नको उत्तर खोज्दा अस्पताल फार्मेसी संस्थागत हुन नसक्नुका पछाडि नीति, बजेट, जनशक्ति, खरिद प्रणाली, स्टक व्यवस्थापन, व्यवस्थापकीय प्राथमिकता, अनुगमन र पेशागत संस्कृतिसम्मका विभिन्न पक्ष जोडिएका देखिन्छन् ।
कानुनमा व्यवस्था, कार्यान्वयन कमजो
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९ (४) ले प्रत्येक सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी सुपथ मूल्यमा औषधिको नियमित उपलब्धता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । ऐनले औषधिको समुचित प्रयोग र स्तरीय उपचार पद्धतिको पालना गर्नुपर्ने जिम्मेवारी पनि स्वास्थ्य संस्था तथा सेवा प्रदायकलाई दिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेको थियो । निर्देशिकाले दक्ष फार्मेसी जनशक्तिमार्फत अस्पतालकै फार्मेसी सञ्चालन गरी बिरामीलाई सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने अवधारणालाई अघि सारेको छ । यसमा औषधि खरिद, भण्डारण, वितरण, बिरामी परामर्श तथा ड्रग तथा थेराप्युटिक कमिटी (डिटिसी) र अस्पताल फर्मुलरी जस्ता पक्षलाई महत्व दिइएको छ।
अर्थात् नेपालमा अस्पताल फार्मेसीका लागि कानु तथा नीतिको अभाव छैन । मुख्य चुनौती व्यवहारिक कार्यान्वयनमा हो ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नं. ८५(घ) मा सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रम समेटिएको छ । जसअनुसार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा हाल अस्पतालका फार्मेसीलाई ‘सुलभ फार्मेसी’ नामबाट समेत सञ्चालन गर्न थालिएको छ । यसले सरकारी अस्पतालको औषधि सेवालाई थप सुलभ र बिरामीकेन्द्रित बनाउने नीतिगत प्राथमिकता देखाउँछ।
फार्मेसीलाई काउन्टरमा सीमित गर्ने प्रवृत्ति
आधुनिक अस्पतालमा फार्मेसी औषधि दिने ठाउँ मात्र होइन । औषधिको छनोट तथा खरिददेखि भण्डारण, वितरण, औषधि उपयोगको समीक्षा, औषधिको साइडइफेक्टको निगरानी र चिकित्सकसँग सहकार्य गर्नेसम्म यसको भूमिका हुन्छ ।
तर धेरै अस्पतालमा फार्मेसी सेवा अझै मुख्यतः औषधि वितरणमा सीमित छ । बिरामीको औषधि उपचारलाई सुरक्षित, प्रभावकारी र लागत प्रभावी बनाउन आवश्यक क्लिनिकल फार्मेसी, औषधि उपयोग समीक्षा, औषधि -औषधि अन्तरक्रिया पहिचान, प्रतिकूल असरको निगरानी तथा औषधि परामर्श जस्ता सेवाहरू पर्याप्त रूपमा संस्थागत हुन सकेका छैनन् ।
कतिपय अस्पतालमा अन्तरंग र बहिरंग फार्मेसी सेवा व्यवस्थित छैनन् । कतै डिटिसी र अस्पताल फर्मुलरी प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । यसले अस्पताल फार्मेसीलाई स्वास्थ्य सेवाको अभिन्न अंगभन्दा औषधि वितरण गर्ने संरचनाका रूपमा मात्र सीमित गरेको छ ।
पर्याप्त र दक्ष जनशक्तिको प्रश्न
अस्पताल फार्मेसी संस्थागत बनाउन सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक हो, पर्याप्त र दक्ष फार्मेसी जनशक्ति । औषधि वितरणसँगै बिरामीलाई सही प्रयोगबारे परामर्श दिने, औषधि अन्तरक्रिया पहिचान गर्ने, प्रतिकूल असरको रिपोर्टिङ गर्ने, औषधि उपयोगको समीक्षा गर्ने, चिकित्सक, नर्ससँग सहकार्य गर्ने हो भने अस्पतालमा पर्याप्त फार्मासिस्ट आवश्यक हुन्छ ।
त्यसका लागि केवल दरबन्दी सिर्जना गर्नु पर्याप्त हुँदैन । फार्मासिस्टको जिम्मेवारी, अधिकार, निर्णय प्रक्रियामा सहभागिता, निरन्तर व्यावसायिक विकास र अन्य स्वास्थ्यकर्मीसँगको समन्वय पनि सुनिश्चित हुनुपर्छ।
अस्पताल फार्मेसीलाई संस्थागत गर्ने क्रममा शय्या संख्या, सेवा भार र औषधि खपतका आधारमा जनशक्ति निर्धारण गर्ने कार्यभारमा आधारित जनशक्ति योजना उपयोगी हुन सक्छ।
औषधि खरिद : सस्तोभन्दा प्रभावकारी प्रणाली आवश्यक
सरकारी अस्पतालमा औषधि खरिद गर्दा सार्वजनिक खरिद प्रक्रियाअनुसार हुनुपर्छ । यो कानुनअनुसार जसले सस्तो दर लगाउँछ उसैलाई खरिदको जिम्मा दिनुपर्ने हुन्छ ।
तर औषधि सामान्य वस्तुजस्तो मात्र होइन । खरिदमा मूल्यसँगै गुणस्तर, आपूर्तिको विश्वसनीयता, समयमै उपलब्धता, सेल्फ लाइफ, भण्डारण आवश्यकता र उपचारमा पर्ने प्रभावलाई पनि ध्यान दिनुपर्छ।
औषधिको आवश्यकता पहिचानदेखि स्पेसिफिकेसन तयार गर्ने, खरिद, प्राप्ति, परिमाण तथा गुणस्तर जाँच, भण्डारण र वितरणसम्म फार्मासिस्टको प्राविधिक सहभागिता आवश्यक हुन्छ । अस्पतालमा कुन औषधिको खपत कति छ, कुन औषधि अभाव हुन लागेको छ र कुन औषधिको मौज्दात पर्याप्त छ भन्ने जानकारी फार्मेसीसँग हुन्छ । त्यसैले खरिद योजना बनाउँदा फार्मेसी, स्टोर, खरिद र वित्त शाखाबीच प्रभावकारी समन्वय आवश्यक छ।
समन्वय कमजोर हुँदा एकातिर आवश्यक औषधि अभाव हुन सक्छ भने अर्कोतिर आवश्यकता भन्दा बढी खरिद भएर औषधि म्याद गुज्रिने र सार्वजनिक स्रोत खेर जाने जोखिम बढ्छ । त्यसैले सस्तो खरिदभन्दा गुणस्तरीय, आवश्यक र समयमै उपलब्ध हुने खरिद प्रणाली महत्वपूर्ण हुन्छ ।
औषधि अभाव हुँदा बिरामी निजी फार्मेसीतिर
सरकारी अस्पतालको फार्मेसीमा बिरामीले खोजेको औषधि नपाएपछि निजी फार्मेसीमा जानुपर्ने धेरै देखिन्छ । यस्तोमा अस्पताल फार्मेसीको मूल उद्देश्य कमजोर हुन्छ।
निजी फार्मेसीसँगको सम्बन्ध
अस्पताल परिसरमा निजी फार्मेसी तथा साझा फार्मेसी सञ्चालन गर्ने पुरानो अभ्यासले पनि हस्पिटल फार्मेसीको संस्थागत विकासमा प्रभाव पारेको छ। केही अस्पतालमा फार्मेसीको स्थान निजी पक्षलाई भाडामा दिने वा अस्पताल परिसरमै निजी फार्मेसी सञ्चालन गरिएको पनि पाइन्छ ।
सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भएपछि यस्तो संरचनाको औचित्य पुनर्विचार गर्नुपर्ने देखिन्छ । तर यसको अर्थ निजी क्षेत्रको फार्मेसी व्यवसायलाई निषेध गर्नु होइन । अस्पतालको औषधि सेवा कसको प्राथमिक जिम्मेवारीमा रहने ? भन्ने मूल प्रश्न हो ।
यदि अस्पतालको आफ्नै फार्मेसी कमजोर छ र बिरामी औषधिका लागि बाहिर निर्भर हुनुपर्छ भने औषधि सेवा अस्पतालको उपचार प्रणालीभन्दा बाहिर जान सक्छ । त्यसैले सरकारी अस्पतालको आफ्नै फार्मेसीलाई सक्षम र विश्वसनीय बनाउनु पहिलो आवश्यकता हो।
आर्थिक मोडल र स्टक व्यवस्थापन
अस्पताल फार्मेसीलाई संस्थागत बनाउन आर्थिक रूपमा दिगो प्रणाली पनि आवश्यक हुन्छ । औषधि खरिद, नियमित पुनःपूर्ति, मौज्दात व्यवस्थापन, म्याद व्यवस्थापन र जनशक्तिका लागि निरन्तर स्रोत चाहिन्छ।
फार्मेसीलाई केवल आम्दानीको स्रोतका रूपमा हेर्दा बिरामी केन्द्रित सेवा कमजोर हुन सक्छ । केवल खर्च गर्ने विभागका रूपमा हेर्दा आवश्यक औषधि र जनशक्तिमा पर्याप्त लगानी हुन सक्दैन । त्यसैले अस्पताल फार्मेसीलाई बिरामीको उपचार र औषधि सुरक्षामा योगदान गर्ने स्वास्थ्य सेवा इकाइका रूपमा हेर्नुपर्छ ।
स्टक व्यवस्थापनमा पनि दुईवटा समस्या एकैपटक आउन सक्छन् , कुनै औषधि सकिनु र औषधिको म्याद गुज्रिनु । मागको सही अनुमान नहुनु, म्यानुअल अभिलेख, खरिद प्रक्रियामा ढिलाइ वा खपतको पर्याप्त विश्लेषण नहुँदा समस्या आउन सक्छ । त्यसैले एबिसी-भेन विश्लेषण, न्यूनतम अधिकतम मौज्दात स्तर, फेफो प्रणाली, डिजिटल स्टक व्यवस्थापन र औषधि खपतको पूर्वानुमानलाई नियमित अभ्यासमा ल्याउन आवश्यक छ।
ड्रग तथा थेराप्युटिक कमिटी र अस्पताल फर्मुलरीको भूमिका
अस्पताल फार्मेसीलाई संस्थागत बनाउन ड्रग तथा थेराप्युटिक कमिटीलाई सक्रिय बनाउनु आवश्यक छ । कमिटीले अस्पतालमा कुन औषधि राख्ने, अस्पताल फर्मुलरी कसरी बनाउने, औषधिको समुचित प्रयोग कसरी प्रवर्द्धन गर्ने तथा औषधिको प्रतिकूल असर र उपयोगको समीक्षा कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
तर डिटिसी गठन गर्नु मात्र पर्याप्त हुँदैन । यसको नियमित बैठक, प्रमाणमा आधारित निर्णय र निर्णयको कार्यान्वयन आवश्यक हुन्छ । त्यसैले अस्पताल फार्मेसी संस्थागत गर्नु भनेको एउटा कोठामा औषधि राख्नु मात्र होइन । यसको पछाडि चिकित्सक, फार्मासिस्ट, नर्स, प्रशासन र व्यवस्थापनलाई जोड्ने संस्थागत संरचना आवश्यक हुन्छ।
बिरामी परामर्श र औषधि सुरक्षा
अस्पताल फार्मेसीको महत्वपूर्ण पक्ष हो, औषधि प्रयोग सम्बन्धी परामर्श । बिरामीले औषधि पाएपछि कसरी खाने, कति दिन खाने, खाना अघि वा पछि खाने, मात्रा छुटेमा के गर्ने, सम्भावित प्रतिकूल असर के हुन सक्छ र औषधि सुरक्षित रूपमा कसरी राख्ने भन्ने जानकारी पाउनु उपचारकै हिस्सा हो।
फार्मेसीले औषधि वितरणसँगै औषधि सुरक्षा, औषधि-औषधि अन्तरक्रिया, उच्च जोखिमयुक्त औषधि, उस्तै देखिने वा उस्तै सुनिने औषधि तथा डिस्पेन्सिङ त्रुटि रोकथामका कुरा बिरामीलाई बुझाउन सक्छ । त्यस्तै, औषधि प्रयोगपछि देखिने प्रतिकूल असर पहिचान, अभिलेखीकरण र रिपोर्टिङ गर्ने प्रणाली आवश्यक हुन्छ । यसका लागि स्पष्ट कार्यविधि र जिम्मेवारी तोकिनुपर्छ ।
स्वास्थ्य बीमासँग जोड्नुपर्ने फार्मेसी
सरकारी अस्पतालका फार्मेसीलाई स्वास्थ्य बीमा प्रणालीसँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता पनि छ । बीमाबाट पाउने औषधि अस्पतालमै नियमित उपलब्ध गराउन सकिए उपचार खर्च र बिरामीको आर्थिक भार घटाउन सहयोग पुग्न सक्छ।
यसका लागि औषधिको सूची, मौज्दात व्यवस्थापन, खरिद, खर्च शोधभर्ना र बीमा दाबी प्रणालीबीच डिजिटल तथा संस्थागत समन्वय आवश्यक हुन्छ।
डिजिटल प्रणालीबिना सुधार कठिन
आधुनिक अस्पताल फार्मेसीका लागि अस्पताल सूचना प्रणाली र फार्मेसी सूचना प्रणालीबीच प्रभावकारी समन्वय आवश्यक छ । इलेक्ट्रोनिक इन्भेन्टरी, बारकोडमा आधारित डिस्पेन्सिङ, ब्याच ट्र्याकिङ, म्याद सकिनुअघि सूचना दिने प्रणाली, वास्तविक समयको स्टक निगरानी तथा इलेक्ट्रोनिक प्रेस्क्रिप्सनसँगको एकीकरणले फार्मेसी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सक्छ ।
यसबाट कुन औषधि कति मौज्दातमा छ, कुन औषधि अभाव हुन लागेको छ, कुन औषधिको म्याद सकिन लागेको छ र कुन औषधिको खपत कति छ भन्ने जानकारी तत्काल प्राप्त गर्न सकिन्छ । यसले खरिद योजना, स्टक व्यवस्थापन र म्याद समाप्ति नियन्त्रणलाई तथ्यमा आधारित बनाउन सहयोग गर्छ ।
प्रतिक्रिया 4