खाना खाइसकेपछि हामीमध्ये धेरैको आ–आफ्नै बानी हुन्छ । कसैलाई खाना सकिएलगत्तै एक कप चिया चाहिन्छ, कोही मोबाइल हेर्दै सोफामा पल्टिन्छन्, कसैलाई चुरोटको तलतल लाग्छ । कतिपय भने खाना खाएलगत्तै जिम वा व्यायामतिर लाग्छन् ।
यीमध्ये सबै बानी सबैका लागि हानिकारक हुन्छन् भन्ने होइन । तर खाना खाएपछि गरिने केही गतिविधिले विशेषगरी एसिडिटी, छाती पोल्ने, अमिलो डकार आउने वा ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज (जीईआरडी) भएका व्यक्तिमा समस्या बढाउन सक्छन् ।
त्यसैले खाना खाएपछि के गर्ने र के नगर्ने भन्ने विषयमा आफ्नै शरीरको प्रतिक्रिया बुझ्नु महत्वपूर्ण हुन्छ । विशेषगरी बारम्बार एसिडिटी वा रिफ्लक्सको समस्या हुने व्यक्तिले खानाको मात्रा, समय र खानापछिको गतिविधिमा ध्यान दिनुपर्छ ।
१. खाना खाएलगत्तै पल्टिने वा सुत्ने
खाना खाएपछि तुरुन्तै पल्टिने बानी एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिका लागि विशेष समस्या बन्न सक्छ । पेटमा खाना र अम्लीय पदार्थ रहेको अवस्थामा सुत्दा वा पल्टिँदा पेटमा जम्मा भएको कुरा माथि अन्ननलीतर्फ फर्किने सम्भावना बढ्छ । यसले छाती पोल्ने, घाँटीसम्म अमिलो पानी आउने, अमिलो डकार आउने वा पेट असहज हुने समस्या निम्त्याउन सक्छ । ठूलो मात्रामा खाना एकैपटक खाएपछि यस्तो समस्या झन् बढ्न सक्छ ।
अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीले जीईआरडी भएका व्यक्तिलाई सुत्नुभन्दा कम्तीमा २–३ घण्टा अगाडि खाना सक्न सुझाव दिन्छ । त्यसैले खाना खाएपछि तुरुन्तै ओछ्यानमा पल्टिनुभन्दा केही समय सिधा बस्नु राम्रो हुन्छ । विशेषगरी बारम्बार रिफ्लक्स हुने व्यक्तिले एकैपटक धेरै खाना खानुभन्दा सानो–सानो मात्रामा पटक–पटक खाने बानी बसाल्नु पनि उपयोगी हुन सक्छ ।
२. खाना खाएलगत्तै भारी व्यायाम गर्ने
खाना खाएपछि शरीर पाचन प्रक्रियामा व्यस्त हुन्छ । यस्तो अवस्थामा तुरुन्तै उच्च तीव्रताको व्यायाम, दौड, जिम वा पेटमा धेरै जोड पर्ने अभ्यास गर्दा केही मानिसमा पेट भारी हुने, पेट दुख्ने, ऐंठन हुने, वाकवाकी लाग्ने वा असहजता हुन सक्छ । त्यसैले भारी खाना खाएलगत्तै जिम जानुभन्दा केही समय पर्खनु राम्रो हुन्छ । सामान्यतया भारी व्यायामका लागि पर्याप्त अन्तर राख्नु उपयुक्त हुन्छ । तर खाना खाएपछि हल्का हिँडडुल गर्दा भने समस्या हुँदैन । शरीरले सहज मानेको गतिमा छोटो र हल्का हिँडाइ गर्न सकिन्छ ।
३. खाना खाएपछि धेरै अगाडि झुक्ने, भारी सामान नउठाउने
खाना खाएलगत्तै बारम्बार अगाडि झुक्ने, पेटमा दबाब पर्ने गरी काम गर्ने वा भारी सामान उठाउने बानीले केही व्यक्तिमा पेटको अम्ल माथि अन्ननलीतर्फ फर्किने अर्थात् एसिड रिफ्लक्सको समस्या बढाउन सक्छ । विशेषगरी खाना खाएपछि भुइँमा बसेर अगाडि झुकिरहने, भारी सामान उठाउने वा पेटमा दबाब पर्ने गतिविधि गर्दा असहजता महसुस हुने व्यक्तिले खाना खाने बित्तिकै तत्काल यस्ता काम नगर्नु बेस हुन्छ । खाना खाएपछि केही समय शरीरलाई सिधा राख्नु र सहज गतिविधि गर्नु उपयुक्त हुन्छ ।
४.खाना खाएपछि चुरोट पिउने
कतिपय मानिस खाना खाएपछि चुरोट पिउनुलाई आराम गर्ने वा पाचनमा सहयोग गर्ने बानीका रूपमा लिन्छन् । तर धूमपानले पाचनमा सहयोग गर्छ भन्ने धारणा सही होइन ।
धूमपानले अन्ननली र पेटबीचको तल्लो भागको मांसपेशीको काममा असर पारेर पेटको अम्ल माथि फर्किने सम्भावना बढाउन सक्छ । धूमपानले एसिड रिफ्लक्स र छाती पोल्ने समस्या बढाउन सक्ने कुरा विभिन्न अनुसन्धानमा देखिएको छ ।
अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीले पनि जीईआरडीका लक्षण भएका व्यक्तिलाई धूमपान तथा सुर्तीजन्य पदार्थबाट बच्न सुझाव दिएको छ । त्यसैले खाना खाएपछि मात्र होइन, समग्र स्वास्थ्यका लागि पनि धूमपानबाट टाढा रहनु महत्वपूर्ण हुन्छ ।
५.खाना खाएपछि रक्सी पिउने
खाना खाएपछि रक्सी पिउने बानी पनि विशेषगरी एसिडिटी वा रिफ्लक्सको समस्या भएका व्यक्तिका लागि उपयुक्त नहुन सक्छ । रक्सीले केही व्यक्तिमा रिफ्लक्सका लक्षण बढाउन सक्छ । विशेषगरी जीईआरडी, ग्यास्ट्राइटिस, कलेजोको रोग वा प्यान्क्रियाटाइटिसको इतिहास भएका व्यक्तिले रक्सीबाट टाढा रहनुपर्छ् ।
त्यसैले ‘खाना खाइसकेपछि थोरै रक्सी पिउँदा केही हुँदैन’ भन्ने सोच सबैका लागि लागू हुँदैन । व्यक्तिको स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई ध्यान दिनुपर्छ ।
६.खाना सकिनेबित्तिकै चिया वा कफी पिउने
खाना खाएपछि चिया पिउने बानी धेरैको हुन्छ । तर पहिले नै एसिडिटी वा रिफ्लक्सको समस्या भएका व्यक्तिमा चिया–कफीले लक्षण बढाउन सक्छ । विशेषगरी क्याफिन केही व्यक्तिका लागि रिफ्लक्सको ट्रिगर बन्न सक्छ । यसको अर्थ सबैले चिया वा कफी बन्द गर्नुपर्छ भन्ने होइन । मुख्य कुरा व्यक्तिको संवेदनशीलता, मात्रा र समय हो ।
यसका साथै चिया र कफीमा पाइने केही यौगिकले खानाबाट प्राप्त हुने गैर–हेम आइरनको अवशोषण कम गर्न सक्छन् । अनुसन्धानले खाना सँगै चिया पिउँदा आइरनको अवशोषण घट्न सक्ने र केही समयको अन्तर राख्दा यो प्रभाव कम हुने देखाएको छ ।
त्यसैले आइरनको कमी वा रक्तअल्पताको जोखिम भएका व्यक्तिले खाना खाएलगत्तै चिया वा कफी पिउनुभन्दा करिब १–२ घण्टाको अन्तर राख्नु उपयोगी हुन सक्छ । तर स्वस्थ व्यक्तिले चिया वा कफी पिउँदैमा अनिवार्य रूपमा समस्या हुन्छ भन्ने होइन । मुख्य कुरा मात्रा र व्यक्तिगत संवेदनशीलता हो ।
७.खाना खाएपछि धेरै मिठाई खाने
खाना खाएपछि तुरन्तै मिठाई तथा गुलिया खानेकुरा खाने चलन पनि कतिपयमा छ । तर हरेक पटकको खानापछि धेरै मिठाई, गुलिया पेय वा चिनी धेरै भएको परिकार खाने बानीले अनावश्यक क्यालोरी थप्न सक्छ । विशेषगरी तौल व्यवस्थापन गरिरहेका, मधुमेह भएका वा रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुपर्ने व्यक्तिले गुलियोको मात्रा र आवृत्तिमा ध्यान दिनुपर्छ ।
‘खाना खाएपछि मिठाई खानै हुँदैन’ भन्ने होइन । मुख्य कुरा मात्रा, खानाको समग्र गुणस्तर र व्यक्तिको स्वास्थ्य अवस्था हो ।
८.लामो समय निष्क्रिय बस्ने
खाना खाएपछि केही समय आराम गर्नु स्वाभाविक हो । तर खाना खाइसकेपछि घण्टौँसम्म एकै ठाउँमा बसिरहने बानीलाई स्वस्थ जीवनशैलीको हिस्सा मान्न सकिँदैन ।
यसको अर्थ खाना खाएपछि तुरुन्तै दौडिनुपर्छ भन्ने पनि होइन । शरीरले सहज मानेअनुसार १०–१५ मिनेट हल्का हिँडडुल गर्नु राम्रो विकल्प हुन सक्छ । विशेषगरी खाना खाएपछि पेट फुल्ने, भारीपन वा असहजता महसुस हुने व्यक्तिले आफ्नो शरीरको प्रतिक्रियाअनुसार हल्का गतिविधि गर्न सक्छन् । तर भारी व्यायामका लागि भने केही समयको अन्तर राख्नुपर्छ ।
खाना खाएपछि के गर्ने ?
खाना खाएपछि पाचन सहज राख्न केही सामान्य कुरामा ध्यान दिन सकिन्छ । तुरुन्तै पल्टिनुभन्दा केही समय सिधा बस्ने । विशेषगरी रातिको खाना खाएपछि सुत्ने समयबीच पर्याप्त अन्तर राख्ने । तिर्खाअनुसार पानी पिउने । पानी आवश्यक छ, तर एकैपटक अत्यधिक पिउनु आवश्यक छैन ।
चिया–कफीको मात्रा र समय हेर्ने । एसिडिटी बढ्छ भने खाना खाएलगत्तै नपिउने । आइरनको कमी भएका व्यक्तिले खाना र चियाबीच अन्तर राख्ने।
हल्का हिँडडुल गर्ने । शरीरले सहज मानेको गतिमा हिँड्न सकिन्छ, तर खाना खाएलगत्तै कडा व्यायाम नगर्ने । धूमपान नगर्ने । यसले रिफ्लक्स मात्र होइन, मुटु, फोक्सो र समग्र स्वास्थ्यमा गम्भीर असर पार्छ । मिठाई सीमित गर्ने । विशेषगरी मधुमेह वा तौलसम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो खानपानअनुसार मात्रा नियन्त्रण गर्ने ।
प्रतिक्रिया 4