+

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

२०८३ असोज  १० गते १२:२६ २०८३ असोज १० गते १२:२६

नेपालको स्वास्थ्यको इतिहासमा विभिन्न रेकर्ड कायम गरेको वैद्य परिवार हुर्किएको वैद्यचोक अहिले गुमनाम छ ।

Shares
नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरको ऐतिहासिक वैद्यगल्लीमा वैद्य परिवारले आयुर्वेदिक र एलोप्याथिक दुवै सेवा दिँदा त्यो स्थान प्रख्यात बनेको विवरण छ।
  • राजवैद्य रामदासका छोरा रत्नदासले वि.सं. १९५९ मा कलकत्ताबाट डाक्टरी पास गरी नेपालको पहिलो आधुनिक चिकित्सक बनेको लेखमा उल्लेख छ।
  • त्रिपुरेश्वरमा रामदासकै परिवारले खोलेको ‘धन्वन्त्रालय मेडिकल स्टोर’ नेपालकै पहिलो एलोप्याथिक औषधि पसल रहेको थियो ।

काठमाडौंको त्रिपुरेश्वर चोकबाट पूर्वतिर थापाथली चोकतर्फ लाग्दा बायाँपट्टि ऐतिहासिक ‘वैद्यचोक’ रहेको छ । आजभोलि त्यही चोकनजिकै सडक छेउमा पसल गरी बस्नेहरूलाई पनि यसको बारेमा कुनै जानकारी छैन ।

हुन त त्यो चोकसम्म पुग्ने बाटोको नाम नै वैद्यगल्ली राखिएको छ । सरकारी निकायले राखेका नाम अंकित सूचना पाटीहरू पनि खुइलिएर निकै पूराना भएका छन् । १०० वर्षअगाडि गुलजार रहने वैद्यगल्ली तथा वैद्यचोक आजभोलि बिरानो र सुनसान छ ।

वैद्य भन्नाले आयुर्वेदीय चिकित्सा विधिको ज्ञाता भन्ने बुझिन्छ । तिनै चिकित्सा पेशामा संलग्न व्यक्तिहरूको बसोबास रहेको स्थान भएकाले त्यस स्थानलाई ‘वैद्यचोक’ भनिएको देखिन्छ ।

प्रधानमन्त्री जंगबहादुर राणाको समयका प्रख्यात राजवैद्य चक्रपाणीका भाइ दण्डपाणीका सन्तानहरूले त्रिपुरेश्वरमा आएर आफ्नो पेशा गरेका थिए । वैद्य दण्डपाणीका छोरा रामदास राजवैद्य भए । तिनै राजवैद्य रामदासका जेठा छोरा रत्नदासले परम्परागत आयुर्वेदिक चिकित्सा प्रणाली छाडी पाश्चात्य एलोपेथिक पद्धति रोजे ।

कलकत्ताको कर्माइकल मेडिकल कलेजबाट वि.सं.१९५९ सालमा डाक्टरी पास गरेर नेपालको आधुनिक चिकित्साको पहिलो चिकित्सक हुने सौभाग्य रत्नदासले प्राप्त गरे । उनी चिकित्सक भएको खबर राष्ट्रिय समाचार बन्यो । वि.सं. १९५९ साउन ८ गते सोमबारको गार्खापत्रले यसबारे सम्पदकीय लेखेको देखिन्छ । त्यसमा ‘रामदास वैद्यका छोरा रत्नदास कलकत्ताको कलेजमा डाक्टरी पास भयो भन्ने सुनिन्छ । क्या खुसीको बात’ भनी सम्पादकीयमा प्रशंसा गरिएको देखिन्छ ।

रत्नदासले डाक्टरी पास गरेको विषयमा वि.सं. १९५९ साउन ८ गते सोमबारको गार्खापत्रमा छापिएको सम्पादकीय ।

तिनै रत्नदासका जेठा र माइला छोरा रघुवर र भरतराजले पनि एलोप्याथी चिकित्सामा ‘डाक्टरी’ पास गरे । यसरी सोही स्थानमा बसेका वैद्य परिवारले आयुर्वेदिक चिकित्सा र एलोप्याथिक चिकित्सा सेवा बिरामीलाई प्रदान गरेकाले सो स्थान ‘वैद्यचोक’ ले प्रख्यात बन्यो ।

त्रिपुरेश्वरमा खुलेको पहिलो आधुनिक औषधि पसल

राजवैद्य रामदासले त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पनि वैदाङ्ग सेवा प्रदान गरे । छोरा सत्नदासले कलकत्ताबाट एलोप्याथी चिकित्सा पढेर आएपछि उनकै पहलमा त्रिपुरेश्वरमा ‘धन्वन्त्रालय मेडिकल स्टोर’ नामको औषधि पसल खोले । जसलाई ‘डिस्पेन्सरी’ पनि भन्थे । सो औषधि पसलमा सेतु नामका कम्पाउण्डरले औषधि वितरण गर्थे ।

उक्त औषधि पसलमा उपचार गर्न काठमाडौं शहर र काँठ क्षेत्र पाँगा, लुभु, गोदावरीतिरका समेत मानिसहरू आउने गर्थे । दिनमा मात्रै नभएर रातमा समेत बिरामीहरुको भीड लाग्थ्यो ।

डा.रत्नदासले एउटा बिरामीसँग केही शुल्क लिन्थे । पैसा नहुनेलाई निःशुल्क जाँच गरी औषधिसमेत निःशुल्क दिन्थे ।

त्यसबेला धेरै मानिसहरू पेटमा जुका परेर बिरामी पर्थे । रत्नदासको घरको दक्षिणपट्टि त्रिपुरेश्वरको सडकको छेउमा एकलाइनको एकतले टहरामा खोलिएको त्यो औषधि पसल नै नेपालका लागि एलोप्याथिकको पहिलो औषधि पसल थियो ।

रामदाश वैद्यले वि. सं. १९५२ मा वैद्य चोकमा स्थापना गरेको आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रतिमा ।

वि.सं.२०२० सालमा त्रिपुरेश्वरको सडक विस्तार गर्दा त्यो औषधि पसल भत्काउनु परेको थियो ।

वैद्य परिवारले आयुर्वेदिक क्षेत्रबाट एलोप्याथिक चिकित्सा पद्धतिको पेशा अपनाए । तर पनि त्यो औषधि पसलको नाम दुवै चिकित्सा विधालाई मिलाएर ‘धन्वन्त्रालय मेडिकल स्टोर’ राखेको देखिन्छ ।

आज भन्दा करिब १२० वर्ष अगाडि आधुनिक चिकित्साको औषधि पसल खोली व्यवसाय सुरु गरिएको थियो त्रिपुरेश्वर क्षेत्रमा । सायद त्यसैको प्रभावले हुन सक्छ, अहिले पनि त्यस क्षेत्रमा थुप्रै चिकित्सालय छन् । औषधि तथा स्वास्थ्य उपकरण बिक्रि गर्ने थलोको रुपमा परिचित छ ।

उतिबेला ‘धन्वन्त्रालय मेडिकल स्टोर’ रहेको स्थान वरपर अहिले दर्जनौं औषधि पसल, विभिन्न अस्पताल, तथा स्वास्थ्य सामग्री बिक्री गर्ने पसल छन् ।

वैद्यचोकमा रहेको रामदाश र उनका ५ जना छोराहरुको प्रतिमासहितको शिलालेख ।

प्रभावशाली वैद्यचोकमा वैद्यहरू

सिम्रौनगढका राजा हरिसिंह देवले आफ्ना छोरा गोविन्द नन्दन देवलाई आयुर्वेद शास्त्र पढाइ वि.सं. १३८१ मा भक्तपुरमा बसाएका थिए । लोकको उद्धार गर्नुपर्छ भनी देव चिकित्सक बनाई उनलाई त्यहाँ राखिएको थियो भन्ने इतिहासमा भेटिन्छ । उनकै १३औँ पुस्ता सन्तान राजवैद्य रामदाश हुन् । (जयदेव वैद्य, सबैको जयहोस्, २०७९ : ९)

श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाका पालादेखि राणकालभरि प्रमुख राजवैद्य पद यही परिवारमा धेरै वर्षसम्म कायम रह्यो । भीम शमशेरबाहेक अरू सबै राणा प्रधानमन्त्रीहरूले यही परिवारका व्यक्तिलाई राजवैद्य बनाए । राणा शासनको अन्त्यपछि बीपी कोइराला प्रधानमन्त्री हुँदा पनि उहाँको निजी चिकित्सक यही परिवारका भरतराज वैद्य थिए । यही वैद्य परिवारबाट नेपालको पहिलो डाक्टर रत्नदाश भए ।

रत्नदाश चन्द्र शमशेरका निजी चिकित्सक भए । चन्द्र शमशेरका लागि औषधि उपचार गर्ने मात्रै नभएर दिनमा कति भात दिनुपर्छ भन्ने कुराको समेत डा.रत्नदासबाट सिफारिस हुन्थ्यो । यसरी राणा प्रधानमन्त्रीहरूलाई रिझाएका वैद्य परिवारलाई राणा प्रधानमन्त्रीहरूले मधेशमा प्रशस्त जमिन बिर्ता दिएका थिए ।

जंगबहादुर र चन्द्र शमशेरसँग बेलायत जान पाउनेमा पनि यही परिवारका वैद्य चक्रपाणी र उनका भाइका छोरा डा. रत्नदास रहे ।

वैद्य परिवारको पुरानो घर ।

नेपालका पहिलो कृषि इन्जिनियर हुतराज वैद्य रत्नदासका कान्छा छोरा हुन् । उनले बागमती नदी र बागमती सभ्यता संरक्षणको अभियान चलाएका थिए । यही कारण उनलाई सम्मानपूर्वक ‘बागमती बा’ भन्ने गरिन्थ्यो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने अवसर एकै दाजुभाइ डा. रघुवर वैद्य र डा. भरतराज वैद्यले प्राप्त गरे । वीर अस्पतालको मेडिकल सुररिटेन्डेन्टदेखि टोखाको सेनेटोरियम र विराटनगर अस्पताल, पोखरा अस्पताल र नेपालगन्ज अस्पतालको नेतृत्व गर्ने अवसर उनीहरूले पाए ।, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनबाट प्राप्त हुने अवसरहरू पनि उनीहरूले पाए ।

डा.रघुवर र डा. भरतराजले कलकत्तामा पढ्दा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेको गुठीबाट मासिक ७० भारु भत्ता पाउँथे ।

दुवै दाजुभाइ वि.सं. २०१७ असार ३ गते एकैदिन नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भएका थिए (नेग ४, ३–३–२०१७) । उनीहरूका सहोदर भाइ कृषि इन्जिनियर हतराम वैद्य पनि सोही मितिमा प्रथम श्रेणीमा बढुवा भएका थिए ।

वैद्यचोकमा हुर्किएको प्रभावशाली वैद्य परिवार नेपालमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने सवालमा मनकारी देखिएको छ । नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नहोस् भनी डा.रघुवर वैद्यको इच्छाअनुसार मधुरा ‘रत्न छात्रवृत्ति’ स्थापना गरिएको थियो ।

वि.सं. २०५५ सालदेखि हालसम्म निरन्तर गरिब तथा जेहेन्दार एक जना विद्यार्थीलाई प्रत्येक वर्ष एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने गरिएको छ। डा.रघुवर नेपाल चिकित्सक संघका संस्थापक पनि हुन् ।

गुमनाम वैद्य चोक

नेपालको स्वास्थ्यको इतिहासमा विभिन्न रेकर्ड कायम गरेको वैद्य परिवार हुर्किएको वैद्यगल्ली तथा वैद्यचोक अहिले गुमनाम छ । वि.सं. २०५४ सालमा म नेपालको प्रथम इन्जिनियर हुतराम वैद्यसँग वैद्य परिवारको कम्पाउण्डमा छिरेको थिएँ ।  ३८ वर्षपछि त्यस कम्पाउण्डभित्र छिरेर हेर्नै मौका मिल्यो । त्यसबेलाको चमक अहिले केही पनि छैन ।

राजवैद्य रामदाश वैद्य ।

राजवैद्य रामदाशले वि.सं. १९५२ मा स्थापना गरेको वैद्यचोकस्थित मार्बलको धन्वन्तरीको प्रतिमा, मन्दिर र शिलालेख अभिभावकविहीन जस्तो देखिन्छ । त्यस जमानाको दरबारजस्ता घरहरूको कुनै रौनकता छैन । तत्काल नभत्किउन भनेर काठको टेको लगाइएको छ । चराले छाडेको गुँडजस्तै उराठलाग्दो देखिन्छ वैद्यगल्ली ।

चोकबाट बाहिर निस्किएर त्यही कम्पाउण्डसँगै जोडिएको कफी पसलका मालिकलाई सोधेँ– यहाँ वैद्यचोक कहानेर पर्छ ? उनले खासै चासो नलिइकन जवाफ दिए– थाहा छैन । यसबाटै थाहा हुन्छ त्यस्तो ऐतिहासिक स्थलको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन भन्ने कुरा ।

आशा गरौँ नेपालको पहिलो चिकित्सक जन्माउने ‘वैद्यचोक’ को संरक्षणमा कसैले त पक्कै चासो राख्ला ।

वैद्य गल्ली
डा. झलक गौतम
लेखक
डा. झलक गौतम
जनस्वास्थ्यविद्

डा. गौतम स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा राष्ट्रिय खोप कार्यक्रमका पूर्वप्रमुख हुन् । उनले जनस्वास्थ विषयमा स्नातकोत्तर गरेका छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

कहिले नसुत्ने मस्तिष्क

कहिले नसुत्ने मस्तिष्क

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

गाईको घिउ कि भैंसीको घिउ : मुटुको स्वास्थ्यका लागि कुन राम्रो ?

गाईको घिउ कि भैंसीको घिउ : मुटुको स्वास्थ्यका लागि कुन राम्रो ?