+
+
Shares

वीरमा दुर्लभ शल्यक्रिया : मस्तिष्कमा फुलेका ६ रक्तनली एकैपटक बन्द गरियो

एनेरिज्म फुटिसकेको अवस्थामा बिरामीको ज्यान मात्रै जोखिममा हुँदैन, मस्तिष्कमा रक्तस्रावका कारण दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने सम्भावना पनि हुन्छ ।

मनिषा थापा मनिषा थापा
२०८३ भदौ २७ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीर अस्पतालका चिकित्सकले रिता देवीको मस्तिष्कका सात एनेरिज्ममध्ये छवटालाई करिब सात घण्टाको शल्यक्रियामा क्लिपिङ गरेका छन् ।
  • दुईतर्फी एनेरिज्म एउटै शल्यक्रियात्मक करिडोरबाट उपचार गर्नु दुर्लभ भएको भन्दै प्रा. डा. राजीव झाको टोलीले जोखिम मोलेर अपरेशन गरेको छ ।
  • अपरेशनपछि रिता देवी होसमा आएर बोलिरहेकी र खाना खाइरहेकी छन्, अस्पतालले अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

२७ भदौ, काठमाडौं । करिब १० दिनदेखि ४७ वर्षीया रिता देवीको टाउको लगातार दुखिरहेको थियो। दुखाइ कम नभएपछि उनी वीर अस्पताल पुगिन्। परीक्षण गर्दा चिकित्सकले मस्तिष्कमा एउटा रक्तनली फुटेर रक्तस्राव भएको पत्ता लगाए।

थप जाँचका लागि गरिएको सीटी एन्जियोग्राफीले अवस्था झन् गम्भीर देखायो- उनको मस्तिष्कका विभिन्न स्थानमा सातवटा एनेरिज्म रहेछन्। त्यसमध्ये एउटा फुटिसकेको थियो।

मस्तिष्कको दुवैपट्टि रहेका एनेरिज्मलाई एउटै शल्यक्रियात्मक बाटोबाट उपचार गर्नु चिकित्सकका लागि ठूलो चुनौती थियो। जोखिमका बाबजुद वीर अस्पतालको न्युरो विभागले शल्यक्रिया गर्ने निर्णय गर्‍यो।

शल्यक्रियाको नेतृत्व गरेका न्युरोसर्जन प्रा. डा. राजीव झा र उनका टिमका लागि यो नियमित शल्यक्रिया थिएन । ‘धेरै नै चुनौती र धेरै नै स्ट्रेसले भरिएको थियो,’ उनी भन्छन्, ‘विस्तारै, धैर्य गर्दै गर्नुपर्ने काम थियो । अन्तत: सफल भयौं ।’

एउटा फुटिसकेको थियो, अरू पनि भेटिए

एनेरिज्म भनेको रक्तनलीको भित्तामा कमजोरी आएर त्यसको कुनै भाग असामान्य रूपमा फुल्नु हो । मस्तिष्कमा यस्तो हुँदा त्यसलाई ब्रेन एनेरिज्म भनिन्छ ।

यस्तो फुलेको रक्तनली फुट्यो भने मस्तिष्कमा रक्तस्राव हुनसक्छ, जुन गम्भीर अवस्था हो । रिता देवीको पनि टाउको दुख्नुको कारण त्यहीमध्ये एउटा एनेरिज्म फुटेर भएको रक्तस्राव थियो ।

‘उहाँलाई १० दिनदेखि टाउको दुखेको रहेछ । जाँच गर्दा एउटा फुटेको रहेछ,’ डा. झा भन्छन्, ‘पछि सीटी एन्जियोग्राफी गरेर हेर्दा अरू ठाउँमा पनि नफुटेका एनेरिज्महरू देखिए ।’

अर्थात्, टाउको दुख्ने एउटा कारण तत्काल देखिएको थियो । तर परीक्षणले भविष्यमा पनि जोखिम निम्त्याउन सक्ने थप समस्या देखाइदियो । मस्तिष्कमा एउटैभन्दा धेरै एनेरिज्म हुनु आफैंमा असामान्य मानिन्छ । डा. राजीवका अनुसार मल्टिपल एनेरिज्म करिब २० प्रतिशत केसमा देखिन सक्छ ।

तर, एउटै बिरामीमा धेरै एनेरिज्म देखिनु र तिनलाई एउटै शल्यक्रियामा व्यवस्थापन गर्नु फरक कुरा हो । ‘मल्टिपल एनेरिज्म भनेको अलिकति दुलर्भ हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो अस्पतालमा पनि मल्टिपल एनेरिज्मका केस आएका छन्, तर एकैचोटि यति धेरै गरेको चाहिँ यो आठ-दस केसको मात्रै अनुभव होला ।’

चुनौती एनेरिज्मको संख्या मात्रै थिएन

मस्तिष्कका दुवैपट्टि रहेका एनेरिज्ममा एउटै शल्यक्रियात्मक करिडोरबाट पुग्नु यो शल्यक्रियाको अर्को जटिल पक्ष थियो ।

सामान्यतया मस्तिष्कको एउटा भागमा शल्यक्रिया गर्न त्यसैअनुसार पहुँच बनाइन्छ । तर यस बिरामीमा एउटा पक्षबाट प्रवेश गरेर अर्को पक्षमा रहेका एनेरिज्मसम्म पुग्नुपर्ने अवस्था थियो ।

‘दायाँपट्टिको एनेरिज्म पनि बायाँबाट गरेको चाहिँ दुर्लभ हो,’ डा. झा भन्छन्, ‘एउटै सर्जिकल करिडोरबाट अर्को साइडमा पुगेर गर्नु संसारमै रेयरली गरिने काम हो ।’

प्राडा झाका अनुसार मानिसहरूलाई मस्तिष्कको एकातर्फबाट अर्को भागमा पुग्न सहज हुँदैन। त्यसका लागि पर्याप्त अनुभव, योजना र शल्यक्रियाका क्रममा अत्यन्तै सावधानी आवश्यक हुन्छ ।

यसअघि वीर अस्पतालको टोलीले मल्टिपल एनेरिज्मका बिरामीमा तीन, चार वा पाँचवटासम्म एनेरिज्म क्लिपिङ गरिसकेको थियो ।

तर छवटा एनेरिज्म एकैपटक क्लिपिङ गरिएको भने यो वीरकै लागि पनि पहिलो पटक थियो ।

‘हामीले पहिला पनि आठ वटा जति गरिसकेका छौं,’ डा. झा भन्छन्, ‘तर पहिला तीन-चारवटा, पाँचवटासम्म एनेरिज्म गरेका थियौं । यो छवटा चाहिँ पहिलोपटक हो ।’

उनका अनुसार एउटै बिरामीमा सातवटा एनेरिज्म भेटिनु पनि असामान्य हो ।

‘एउटा बिरामीको सातवटा एनेरिज्म खासै पहिला नेपालमा कतैतिर देखिएको खबर पनि पढेको वा सुनेको छैन,’ उनी भन्छन्, ‘त्यसले गर्दा पनि यो केसलाई विशेष र दुर्लभ बनाएको छ ।’

सात घण्टा लामो शल्यक्रिया

एनेरिज्मको उपचारका विभिन्न विधि छन् । कुन बिरामीमा कुन विधि प्रयोग गर्ने भन्ने कुरा एनेरिज्मको स्थान, आकार, अवस्था र बिरामीको समग्र स्वास्थ्यमा निर्भर हुन्छ। यस बिरामीमा भने चिकित्सकहरूले क्लिपिङ गर्ने निर्णय गरे ।

क्लिपिङमा मस्तिष्कको रक्तनलीमा बनेको एनेरिज्मको फुलेको भागमा विशेष किसिमको क्लिप लगाइन्छ । त्यसले एनेरिज्ममा रगतको प्रवाह रोक्न मद्दत गर्छ र भविष्यमा त्यो फुट्ने जोखिम कम गर्ने उद्देश्य हुन्छ ।

तर मस्तिष्कको रक्तनलीमा काम गर्दा सानो गल्तीले पनि गम्भीर परिणाम निम्त्याउन सक्छ । त्यसैले, करिब सात घण्टा चलेको शल्यक्रियामा चिकित्सकहरूलाई प्रत्येक चरणमा सावधानी अपनाउनुपर्ने थियो ।

‘धेरै नै स्ट्रेस थियो,’ डा. झा भन्छन्, ‘धेरै ठूलो हिम्मत चाहिन्छ, धेरै धैर्य चाहिन्छ । थोरै गल्ती परिणाम दुःखद हुनसक्थ्यो ।’

उपचारमा संलग्न न्यूरोसर्जन डा. नम्रता खड्का भन्छिन्, ‘दुर्लभ केस र त्यत्रो क्लिपिङ गरेपछि अप्रेसनपश्चात जे पनि हुनसक्थ्यो । मनमा चिसो त पसेकै थियो । सबैको मेहेनतले नतिजा राम्रो भयो । ’फर्स्ट क्लास छ, मजाले गफ गरिराख्नुभएको छ ।’

चिकित्सकहरूको त्यो चिन्ता अहिले केही कम भएको छ । शल्यक्रियापछि बिरामीको अवस्था सुधारोन्मुख छ। उनी होसमा छिन्, कुराकानी गरिरहेकी छन् र खाना खाइरहेकी छन् ।

‘फर्स्ट क्लास छ, फाइन छ,’ प्राडा झा भन्छन्, ‘मजाले गफ गरिराख्नुभएको छ, खाइराख्नुभएको छ ।’ जटिल मस्तिष्क शल्यक्रियापछि बिरामी सामान्य अवस्थामा फर्किएको देख्नु चिकित्सकका लागि किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यही एउटा वाक्यले पनि देखाउँछ ।

किनकि, एनेरिज्म फुटिसकेको अवस्थामा बिरामीको ज्यान मात्रै जोखिममा हुँदैन, मस्तिष्कमा रक्तस्रावका कारण दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने सम्भावना पनि हुन्छ । अस्पतालका अनुसार फुटेको एनेरिज्मका कारण भएको मस्तिष्क रक्तस्राव गम्भीर अवस्था हो । यसमा मृत्युको जोखिमसँगै दीर्घकालीन स्नायुसम्बन्धी अशक्तताको जोखिम पनि हुन्छ ।

त्यसैले, छवटा एनेरिज्ममा सफलतापूर्वक क्लिपिङ गरेपछि बिरामीको अवस्था स्थिर हुनु चिकित्सकका लागि शल्यक्रियाको महत्वपूर्ण परिणाम हो । शल्यक्रियाअघि चिकित्सकहरूका लागि चुनौती थियो, यति धेरै एनेरिज्ममा क्लिपिङ गरेपछि बिरामीको अवस्था कस्तो होला ? शल्यक्रिया सफल भए पनि तत्कालको परिणाम हेर्नुपर्ने थियो ।

यस्तो केसमा चिकित्सकका लागि शल्यक्रिया सुरु गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यसको परिणाम कुर्नु पनि उत्तिकै तनावपूर्ण हुने डा. खड्का बताउँछिन् । ‘यत्रो ठूलो कोसिसपछि अप्रेसन गरेको हुन्छ,’ डा. खड्का भन्छिन्, ‘अप्रेसनपछि बिरामी हाँसेको, बोलेको देख्दा हाम्रो लागि पनि ठूलो राहत मिलेको छ ।’

किन हुन्छ ‘मल्टिपल एनेरिज्म ?’

एउटै व्यक्तिमा धेरै एनेरिज्म किन बन्छन् भन्ने प्रश्नको एउटै उत्तर हुँदैन । डा. खड्काका अनुसार कतिपय अवस्थामा यसको सम्बन्ध रक्तनलीको कमजोरीसँग हुन सक्छ । केही अवस्थामा वंशानुगत पक्ष पनि जोडिन सक्छ ।

मल्टिपल एनेरिज्म भएका बिरामीमा शरीरका अन्य भागमा पनि समस्या छ कि छैन भनेर हेर्नुपर्ने न्यूरोसर्जन डा. खड्का बताउँछिन् । ‘कहिलेकाहीँ मल्टिपल एनेरिज्म रक्तनलीको कमजोरी भएर पनि भएको हुन्छ,’ उनी भन्छिन्, ‘त्योसँगै पोलिसिस्टिक किड्नी डिजिजजस्तो किड्नीमा पनि मल्टिपल सिस्ट देखिन सक्छ, लिभरमा पनि देखिन सक्छ । त्यो पनि खोज्नुपर्छ । धेरै परीक्षण पछि बल्ल निष्कर्षमा पुग्न सकिन्छ ।’

यसको अर्थ मल्टिपल एनेरिज्म भएका हरेक बिरामीमा मिर्गौला वा कलेजोमा समस्या हुन्छ भन्ने होइन । तर सम्भावित सम्बन्धका कारण चिकित्सकले आवश्यक परीक्षण गर्न सक्छन् । यसअघि पनि वीरको न्यूरो विभागले एनेरिज्मका बिरामीमा क्लिपिङ गर्दै आएको छ । अस्पतालले यसअघि यही प्रविधिबाट नौ जना बिरामीमा एनेरिज्म क्लिपिङ गरिसकेको जनाएको छ ।

तर यसअघिका अनुभवमा एकैपटक तीनदेखि पाँचवटासम्म एनेरिज्ममा क्लिपिङ गरिएको थियो । पछिल्लो बिरामीमा भने सातवटा एनेरिज्म पहिचान भएकामध्ये छवटालाई एउटै शल्यक्रियामा क्लिपिङ गरिएको डा. झा बताउँछन् ।

यसलाई चिकित्सकहरूले संख्या बढी भएको कारण मात्रै दुर्लभ मानेका छैनन् । एउटै शल्यक्रियात्मक पहुँचबाट मस्तिष्कका दुवैपट्टि पुगेर काम गर्नुपरेको पक्षले पनि यसलाई जटिल बनाएको हो ।

अस्पतालले यो उपलब्धिलाई न्युरोसर्जरी तथा मस्तिष्कका रक्तनलीसम्बन्धी शल्यक्रियाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

शल्यक्रियामा प्रा. डा. राजीव झाको नेतृत्वमा डा. नम्रता खड्का, डा. योगेन्द्र देवकोटा, डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा. मनोज विष्ट, डा. ललका सैजिङ शेर्पा, डा. आर्यन यादव, डा. ऋतु प्रधान, डा. सन्दीप किरण प्रधान र डा. गौरव रन बज्राचार्यलगायत सहभागी थिए । नर्सिङ टोलीमा सन्ध्या गौतम, अस्मी मगर र पञ्चु भान्छर सहभागी थिए।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?