हिजोसम्म सिंगो थियो गाउँ
सिङ्गो थियो बस्ती
आकाश जस्तै फराकिला आँगनमा खेल्थे केटाकेटीहरू
गोठमा बाँधिएका हुन्थे वस्तुभाउ
स्कुल जाने हतारोमा
स-साना नानीहरू कुरिरहेका हुन्थे स्कुल बस
आमाहरू भान्सामा व्यस्त हुन्थे
आइहाल्यो-
बाढीको पहाड र खस्यो शिरमाथि
पल्टायो घर, बगायो गाडी र मान्छेहरू
निमेसमै गाउँ माटो भयो
माटो कुन्नी के भयो ?
यतैकतै छन् झैं लाग्छ
दराज, पलङ र भाँडाकुँडा
झोला, किताब र टिफिन बक्स
यतिबेला
भत्किएका छन् पुलहरू
जसले जोड्थे सम्बन्धहरूलाई
यतिबेला
हराएका छन्, सडकहरू
जसले जोडिथे- हराएका यात्रुहरूलाई
ठीक यतिबेला
पहाडको पेटभित्र
अँध्यारो सुरुङमा थुनिएको छ कामदार
पुरिएका भग्नावशेष भित्र निसास्सिएका छन् लासहरू
हराएको छ मानिसको सम्झना
म सोचिरहेछु –
घर बन्न सक्छ फेरि
पुल उठ्न सक्छ फेरि
सडक खुल्न सक्छ फेरि
स्कुल रंगिन सक्छ फेरि
म सोचिरहेछु –
आमाको काखबाट बगेको सन्तान कुन दिन फर्कन्छ ?
बुबाको काँधबाट झरेको सपना कुन इँटाले उठाउँछ ?
माटोमुनि पुरिएको नाम फेरि कुन बिहानले बोलाउँछ?
म समयलाई प्रश्न सोध्न चाहन्छु
हाँसिरहेको देश ठूलो हुन्छ कि
रोइरहेको रित्तो रित्तो गाउँ ?
प्रतिक्रिया 4