News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसिया र फिलिपिन्सको नेपोबेबी ट्रेन्डपछि नेपालमा टिकटक र रेडिटमार्फत नेता-कर्मचारीका छोराछोरीको ‘लक्जरी लाइफ’ देखाउने भिडियोहरू फैलिएका छन्।
- सामाजिक सञ्जाल दर्ता नगरेका प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयपछि २६ वटा एप रोकिँदा रेडिट र टिकटकमा आक्रोश र जेनजी आन्दोलनको तयारी तीव्र भयो।
- भदौ २३ को जेनजी आन्दोलन कसले आह्वान गर्यो भन्ने अझै खुलेको छैन, तर भदौ २२ मा आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनका लागि प्रशासनसँग अनुमति मागेका थिए।
२२ भदौ, काठमाडौं । संसद् भवन चारैतिरबाट जेनजी प्रदर्शनकारीको घेरामा थियो। आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले अनियन्त्रित बल प्रयोग गरिरहेको थियो ।
ठीक त्यहीबेला प्रहरीको एउटा भ्यान संसद् भवन अगाडि प्रदर्शनकारीको भीड छिचोल्दै अगाडि बढ्न खोज्छ । अरुलाई त केही हुँदैन, तर आन्दोलनमा सहभागी नै नभएका एक जना युवालाई ठक्कर लाग्छ ।
सामान ‘डेलिभरी’को काम गर्दै आएका २१ वर्षीय अफ्फन कुर्नियावन लड्छन्, तर पनि भ्यान रोकिदैन । अफ्फनलाई निर्ममतापूर्वक किचेर भ्यान भाग्छ ।
यो घटना नेपालको होइन । गत वर्ष नेपालमा जेनजी आन्दोलन हुनु ठीक १० दिनअघि २८ अगस्टमा इन्डोनेसियाको जकार्तास्थित संघीय संसद् भवन अगाडिको दृश्य हो ।
अफ्फनको ‘स्पट डेथ’ ले आन्दोलनकारीलाई यति धेरै आक्रोशित बनाउँछ, २९ तारिखमा माकास्सरस्थित प्रान्तीय संसद् भवनमा आगो लगाइदिन्छन् । प्रहरी कार्यालय र सरकारी भवनहरू आन्दोलनकारीको निशानामा पर्छन् । बहालवाला मन्त्री र राजनीतिकर्मीका घरघरमा तोडफोड र लुटपाट हुन्छ ।
क्यानेडियन ब्रड्कास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार प्रदर्शन थप चर्किँदै जान्छ र १० जना प्रदर्शनकारीको मृत्यु हुन्छ, दर्जनौं घाइते हुन्छन् ।

जनताले चर्को कर र महँगीको मार खेपिरहेका बेला सरकारले सांसदहरूको भत्ता बढाउने निर्णय गरेपछि त्यसविरूद्ध हप्तौंदेखि युवा सडकमा थिए । र, आन्दोलनको अगुवाई गर्दै थियो, जेनजी पुस्ता । नेता र तिनका परिवारसँग आम जनताको जीवनशैली तुलना गरिएका भिडियोले जनतालाई सडकसम्म ल्याइ पुर्याएको थियो।
जेनजी पुस्ताले चलाएको ह्यासट्याग गेलापइन्डोनेसिया (अध्याँरो इन्डोनेसिया) र रिसेटइन्डोनेसिया (इन्डोनेसियालाई नयाँ बनाऔं) ट्रेन्डिङमा थिए।
आन्दोलनले हिंस्रक रुप लिंदै जाँदा अर्बौंको क्षति र शान्ति सुरक्षा थप बिग्रिँदै गयो । ३१ अगस्टमा इन्डोनेसियाली राष्ट्रपति प्राबोओ सुबियान्तो अन्य राजनीतिक दलका नेतासँग उभिएर देशको नाममा सम्बोधन गर्छन् र सांसदरूको भत्ता बढाउने निर्णय फिर्ता भएको सुनाउँछन् ।
इन्डोनेसियाबाट १४ सय किलोमिटर पर रहेको फिलिपिन्सका जेनजी पुस्ता पनि त्यही बेला सञ्जाल हुँदै सडकमा उत्रिएका थिए। बाढी नियन्त्रण आयोजनामा ठूलो भ्रष्टाचार भएको भन्दै उनीहरू ‘हाम्रो करको पैसा खोइ ?’ भन्दै सडकमा आएका थिए । एकातिर बाढी नियन्त्रण र बचाउमा विनियोजित ठूलो रकम खर्च भइरहेको थियो भने अर्कोतिर मानिसहरू बाढीमा डुबिरहेका थिए।
जेनजी पुस्ताले नेता र ठेकेदारका फोटो र भिडियो खोजीखोजी सञ्जालमा अपलोड गर्न शुरू गरेका थिए। पछि उनीहरूका परिवार र नातागोताका समेत विलासी जीवन ‘एक्सपोज’ गर्दै थिए । ह्यासट्याग नेपोबेबीसँगै ‘हाम्रो देशलाई डुबाउने बाढी होइन, लोभ रहेछ’, ‘हामी बाढीमा डुबिरहेका छौँ, तर उनीहरूका छोराछोरी लक्जरी लाइफ बिताइरहेका छन्’ले सञ्जालको संसार तातिरहेको थियो ।

फिलिपिन्सको आन्दोलनले चार चरणमा पार गरेको थियो । अगस्टको पहिलो साता बाढी नियन्त्रण आयोजनामा भ्रष्टाचार भएको सूचना सतहमा आयो, दोस्रो साता पीडित नागरिकका जीउधनमा क्षति भएको भिडियो सार्वजनिक हुन थाले, तेस्रो साता नेता र ठेकेदारका छोराछोरीको जीवनशैली उजागर हुन थाले । र, चौथो साता जेनजीसहितका पुस्ता सडक संघर्षमा आए । फिलिपिन्सका युवाको आक्रोश सडकमा उर्लिएको समाचार अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरे ।
करिब चार हजार किलमिटर टाढा इन्डोनेसिया र त्योभन्दा पनि टाढा फिलिपिन्समा नेपो बेबी ट्रेन्ड चलेपछि अचानक नेपालका सामाजिक सञ्जालमा पनि त्यही ट्रेन्ड प्रकट हुन थाल्यो, जसबाट देखाउन खोजिएको थियो- नेपालकै नेता-कर्मचारीहरूका छोराछोरीले ‘लक्जरी लाइफ’ बाँचिरहेका छन् ।
इन्डोनेसिया र फिलिपिन्सको नेपोबेबी ट्रेन्ड कसरी नेपाल आइपुग्यो ? यो विषयमा अनलाइनखबरले सोधखोज गरेको छ । नेपाली सन्दर्भमा नेपो बेबीसम्बन्धित पहिलो भिडियो टिकटकबाट पोस्ट भएको भेटियो ।
‘भेल्भेट मफिन’ नामक आईडीबाट सेप्टेम्बर २ मा अपलोड भएको उक्त भिडियो साढे तीन लाख भन्दा बढीले हेरेका छन् । कमेन्टमा अधिकांशले यस्ता भिडियो अझै बाहिर ल्याउनुपर्छ भनेका छन् । कतिपयले नेपालमा यस्तो ट्रेन्ड शुरू गरेकोमा खुशी हुँदै ‘अब नेपालको पालो’ भनेका छन्।

भिडियोमा पनि एकातिर नेपोबेबीको नाममा शेरबहादुर देउवाका छोरा जयवीरदेखि प्रचण्ड नातिनी स्मिता दाहालको जीवनशैली देखाइएको थियो । यो भिडियोमा फिलिपिन्समा मुद्दा बनाइएका बाढिपहिरोसँगै सम्बन्धित पीडितहरूको पीडा र सास्ती बयान गरिएको थियो। अर्थात् भिडियो जहाँबाट अपलोड भए पनि फिलिपिन्सबाट प्रभावित भएको देखिन्छ ।
यो आईडीबाट सेप्टेम्बर २ पछि एकैपटक सेप्टेम्बर ६ मा तीनवटा भिडियो अपलोड भएका थिए । ती सबै नेपोबेबी लक्षित थिए।

ती भिडियोहरूमा नेता र सम्पन्न परिवारका छोराछोरीको तस्वीर राखेर भनिएको थियो, ‘हामी यहाँ मेहनत र संघर्ष गर्नुपरिरहेको छ जसले गर्दा यिनीहरूको पासपोर्ट अझै मोटो हुँदैजाओस्’, ‘हाम्रो संघर्ष, उनीहरूको मोजमस्ती’, ‘सर्वसाधारण नेपालमा मौलिक अधिकार पनि प्रयोग गर्न पाएका छैनन्, तर यिनीहरू शानदार जिन्दगी बाँचिरहेका फोटो भिडियो अपलोड गरिरहेका छन्।’
‘भेल्भेट मफिन’ सँगै ‘वेकअप नेपाल’, ‘नेपाल जेनजी’ जस्ता आईडीबाट टिकटकमा नेपोबेबीसम्बन्धित भिडियो अपलोड भएका थिए । तर ती आईडी भने अहिले डिलिट गरिएका छन्।
त्यसताका ७५४५७०९७८७२४६३६५९०८ नामक आईडी निकै सक्रिय थियो । त्यसमा राखिएका भिडियो पनि डिलिट गरिएका छन् ।
‘भेल्भेट मफिन’ सँगै ‘वेकअप नेपाल’, ‘नेपाल जेनजी’ आइडीले सुरुवात गरे पनि त्यसबाट प्रभावित भएर सेप्टेम्बर ४ पछि भने सर्वसाधारणले अनगिन्ती आईडीबाट नेपोबेबी सम्बन्धित भिडियो सेयर र पोस्ट गर्न थाले ।
पहिलो भिडियो टिकटकमा आएको हो । तर, इन्डोनेसिया र फिलिपिन्सको प्रसंगमा ‘रेडिट’ नामक सामाजिक सञ्जालमा नेपालीहरुले अलि अघिदेखि नै जोडतोडले बहस गरिरेहका थिए । रेडिट यस्तो सामाजिक सञ्जाल हो जहाँ व्यक्तिले आफ्ना असली पहिचान खुलाउँदैनन्। परिचय लुकाएरै सबैले आफ्ना भनाइ राखिरहेका हुन्छन् ।
खासमा सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै रेडिटमा जेनजी पुस्ताले आक्रोस पोख्न शुरू गरिसकेका थिए।

२०८१ चैत ७ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरू नेपालमा एक महिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी दिएको थियो। सोही दिन रेडिटको सबरेडिट ‘नेपाल सोसल’ ग्रुपमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको सूचना पोस्ट भएको थियो।
एक जना प्रयोगकर्ताले लेखेका थिए, ‘यस्तो निर्णय सरकारले जनताका लागि गरेको हो ? तिनीहरूले आफ्नो फाइदाका लागि गरेका हुन्।’
ट्रिगर प्वाइन्ट
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ताकेता गरे पनि धेरैजसो सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता हुन आएनन् । सूचीकृत हुन थप म्याद दिने भनेर सरकारले पून: सूचना जारी गर्यो। भदौ १२ मा सूचना जारी गरेर सात दिनको म्याद दिइएको थियो । तर भदौ १८ सम्म नेपालमा दर्ता हुन नआएको भन्दै १९ गतेको मन्त्रिपरिषद् बैठकले त्यस्ता सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो।
मन्त्रिपरिषद्कै निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्यो।
बन्द हुनेमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस, मास्टडोन, रम्बल, मिवी, भिके, लाइन, इमो, जालो, हाम्रोपात्रो र सोल थिए।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले देशैभर कोलाहल मच्चियो। तर एकैपटक सबै एप बन्द भएनन् । रेडिट भने चलिरहेकाले कारण सरकारको यो निर्णयबारे खरो बहस रेडिटमा चलिरहेको थियो।

सरकारले प्रतिबन्धको घोषणा गरेकै दिन दिउँसो ११:०५ बजे रोस्टी नामक रेडिट प्रयोगकर्ताले लेखेका थिए, ‘समाजिक सञ्जालको प्रतिबन्धले अधिकांश ती नेपाली व्यवसायीहरू बाँच्न सक्दैनन् जो फेसबुक र इन्स्टाग्रामको सहारामा आफ्ना व्यवसाय चलाइरहेका छन्।’
१२:२० बजे सोमयमोनि नामक रेडिट प्रयोगकर्ताले लेखेका थिए, ‘मलाई लाग्दैन सरकारले कुनै सामाजि सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्छ।’
अक्युलिथम नामक प्रयोगकर्ताले ०४:०५ बजे लेखे, ‘ह्या बन्द गर्दैनन् हौ, सक्नु परेन ? बन्द गर्नै सक्दैन।’
पहिलो दिन नै साँझ ५:२९ बजे एक प्रयोगकर्ताले लेखेका थिए, ‘भइगो बन्द। दिमाग … मा हुनेहरूले बन्द गरिहाल्छ नि। सब चोरहरूलाई बाँधेर … टाइम आइसक्यो ।’
दिन ढल्किँदै गएपछि रेडिटमा आक्रोश बढ्दै थियो। सबैले आक्रोश व्यक्त गर्ने माध्यम मात्रै खोजिरहेका थिए । कतिपय भिपिएन प्रयोग गरेर सञ्जालमै व्यक्त गरिरहेका थिए भने कतिपय चिया पसलमा।
सोही दिन इन्स्टाग्राममा सामाजिक अभियन्ता ‘ई:’ ले स्टाटस राखेको देखिन्छ। सम्भवत अलिक परिचित अनुहारहरूमा उनी पहिलो व्यक्ति हुन् जसले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्नुपर्ने संकेत गरे । उनले सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङको राजीनामा पनि मागेका थिए।

‘अहिले म मनाङको याक खर्कमा छु। यहाँ अधिकांश मान्छे मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ता छन्। जसमार्फत उनीहरू परिवार र आफन्तसँग कुराकानी गर्न पाउँछन्। यहाँका कतिपय मान्छेको व्यवसाय नै समाजिक सञ्जालबाट चल्छ। तर सरकारको यो निर्णयले उनीहरू संवाद र व्यापार नै ठप्प हुने स्थिति बनेको छ,’ ‘ई:’ले लेखेका थिए, ‘सरकारको यो निर्णयको के असर पर्छ सरकारलाई हेक्का छ? मलाई लाग्दैन। त्यसैले यो बिन्दुमा एउटा अभियान र मागको जरूरी छ जसले सञ्चार मन्त्रीको राजीनामा आओस्। हामी त्यो मन्त्रालयमा कुनै युवा मन्त्री देख्न जरूरी छ जसले इन्टरनेटको प्रभाव र महत्त्व बुझेको होस्।’
‘ई:’ को उक्त पोस्टमा झन्डै तीन हजार लाइक्स छ भने करिब एक दर्जन कमेन्ट । कमेन्टमा रिजनटूबीफाउन्डले ‘ई:’ को समर्थन गर्दै लेखे- ‘प्रोटेस्ट’ । जियाबुल मुस्तफाले लेखे, ‘हामीले इन्डोनेसिया, मलेसिया र फिलिपिन्सजस्तै विद्रोही आन्दोलन गर्नुपर्छ जसले यी पूराना र वृद्ध नेतालाई फाल्न सकौं। एनफ ईज एनफ! कहिले ठीक हुन्छ यो देश?’
आन्दोलन आह्वान कसले गर्यो, मिति कसले तोक्यो ?
आवाज उठेको थियो, तर त्यसले आन्दोलनको रुप लिएको थिएन । अब आन्दोलन गर्नुपर्छ भन्ने अभिव्यक्ति आइरहेका थिए, तर आन्दोलनको आह्वानकर्ता भएको भेटिएन । १९ भदौ अर्थात ४ सेप्टेम्बरमा समाजिक सञ्जाल बन्द गर्ने निर्णय भएकै दिनदेखि भने आन्दोलको तयारी हुन थाल्यो । ६ सेप्टेम्बरको बेलुका त आन्दोलनको घोषणा नै भयो । मिति तोक्नेहरू अहिलेसम्म गुमनाम छन् ।
रोचक त के छ भने आन्दोलनपछि जो जेनजी अगुवाका रुपमा परिचित भए, उनीहरू नै यो आन्दोलनको आह्वान र मिति कसले तोकेको थियो भन्ने विषयमा जानकार छैनन्।
जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, अनिल बानियाँ, युजनराज भण्डारी, धीरज जोशी, माजिद अन्सारी, प्रदीप ज्ञवाली, मोनिका निरौला, मनिष खनाल, रिजन राना मगर, अर्नव चौधरी, प्रकाश बोहोरा, अमित खनाल, भावना राउत, ओजस्वी थापा, निमेश श्रेष्ठ, आदित्य कर्ण र आकृति घिमिरेसँग हामीले सोधेका थियौं- जेनजी आन्दोलन आव्हान कसले गरेको हो ?
उनीहरू सबैको एउटै जवाफ भेटियो, ‘ठ्याक्कै थाहा भएन, मैले सामाजिक सञ्जालबाटै थाहा पाएको हुँ।’

सन् २०११ मा रानी मुखर्जी र विद्या बालन अभिनित भारतीय सिनेमा रिलिज भएको थियो- ‘नो वान किल्ड जेसिका’
वास्तविक घटनामा जेसिका लाल नामक एक युवतीको हत्या भएको थियो। त्यसमा संलग्न व्यक्तिहरूका विषयमा चौतर्फी चर्चा भएपनि अदालतबाट पुष्टी हुन सकेन।
घटनामा को संलग्न थिए भन्ने कानूनी रूपमा प्रमाण पुग्न नसकेको वास्तविक कथामा सिनेमाको टाइटल जुरेको थियो- नो वान किल्ड जेसिका ।
जेनजी मुभमेन्टका अगुवा धेरै भएपनि शुरूआत कसले गरेको थियो भन्ने पुष्टी हुनसकेको छैन। त्यसैले यो स्टोरीको पनि हेडलाइन जुरेको छ- ‘नो वान स्टार्टेड जेन जी मुभमेन्ट’
भदौ २२ मा सबल गौतम र पुरुषोत्तम यादव जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेका थिए- शान्तिपूर्ण आन्दोलनको अनुमति माग्न । सबल भने सेप्टेम्बर ८ (भदौ २३) को मिति आफूहरूले नै तोकेको बताउँछन् ।
सामाजिक सञ्जाल बन्द भएकै दिन आफूले टिकटकमा ‘वेकअप नेपाल’ नामक आईडी बनाएर नेपोबेबीसँग सम्बन्धित भिडियो राखेको र त्यहीरात भदौ २३ का लागि मिति तोकेको दाबी गर्छन् ।
‘हामी ६ जना जतिले मिति तोकेका थियौं । सबै मेरा स्कुलका साथी हुन्, २० वर्षभन्दा कम उमेरका। पछि पुरूषोत्तम यादवजी पनि इच्छुक भएको भन्दै जोडिनु भएको हो,’ सबलले भने, ‘सोसल मिडियामा प्रतिबन्ध भएकाले नेपोबेबी ट्रेन्डलाई हामीले सडकसम्म ल्याउने प्रयास गरेका हौं । सडक प्रदर्शन शनिबार राख्यौं भने विदा भनेर मान्छे नआउलान भन्ने थियो । त्यही भएर सोमबार तोक्यौं। तर सोचेको भन्दा आन्दोलन धेरै फरक भइदियो। हाम्रो हातबाट पनि फुत्कियो।’

डिस्कर्डमा शुरूदेखि सक्रिय रहेका एक प्रयोगकर्ताका अनुसार शुरूमा सेप्टेम्बर ६ मा नै आन्दोलन गर्ने छलफल भएको थियो । शनिबार पर्ने भएका कारण जेनजी पुस्ताका लागि सहज हुने विश्वास थियो । तर शनिबार अलिक चाँडै हुने र सूचना सबैसामु नपुग्ने भएकाले सेप्टेम्बर ८ सोमबारका लागि छलफल भएको ती प्रयोगकर्ता बताउँछन् ।
‘त्यो साँझ त हामी डिस्कर्डमा जम्मा १५–१६ जना मात्रै थियौं। छलफल भयो र नाम त मलाई त्यति याद छैन तर त्यही रात एआईबाट ‘मिति सेप्टेम्बर ८, स्थान संसद् भवन’ लेखिएका पोस्टर सार्वजनिक गरियो । ती प्रयोगकर्ताले भने, ‘भोलिपल्ट त डिस्कर्डमा अचानक १० हजारभन्दा बढि मान्छे देखापरे। प्राय सबै स्ल्याङ भाषाको बढि प्रयोग गर्थे। हेड हण्ट (ताकीताकी हान्नुपर्छ )गर्नुपर्छ । कप्सले चिन्यो भने बाहिर जान र्याक हुन्छ त्यसैले पूरै कभर हुने खालको मास्क प्रयोग गर्नुपर्छ भन्ने कुरा भएको थियो ।’
आन्दोलनमा सक्रिय जेनजी आदित्य कर्णका अनुसार समाजिक सञ्जालमा मितिसहितको पोस्टर देखेपछि उनले सेप्टेम्बर ६ मा जुम मिटिङ आयोजना गरे ।
जसमा अभियन्ता ई: लगायतका सचेत युवाहरु थिए । त्यही मिटिङमा कर्णले नयाँ बानेश्वरस्थित संसद् भवन त निषेधित क्षेत्र पर्ने र केही गरी आन्दोलनलाई माइतीघरमा डाइभर्ट गर्नैपर्ने तर्क दिएको बताउँछन् ।
‘म सक्रियताका साथ नै लागेर निषेधित क्षेत्रबारे सूचना फैलाएँ,’ कर्णले अनलाइनखबरसँग भने, ‘धेरै हदसम्म आन्दोलनमा आउनेहरूलाई माइतीघरतिर मोड्न सकियो तर पुग्ने नियत भएकाहरु पुगिछाडे।’

जेनजी पुस्तालाई भदौ २३ मा सडकमा आउन प्रेरित गर्ने अर्को घटना भदौ २१ मै भएको थियो। एमालेको विधान महाधिवेशनमा सहभागी हुन आएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएर भागेको थियो ।
मन्त्रीको गाडीले ठक्कर दिएको र बालिकाको अवस्था नबुझी भागेको आक्रोशमा स्थानीयले ललितपुरको हरिसिद्धिमा केहीबेर सडक नै अवरुद्ध पारेर प्रदर्शन गरेका थिए।
यो घटनाले थप आक्रोश तब पैदा गर्यो जब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको प्रतिरक्षा गर्दै घटनालाई राजनीतिकरण नगर्न भने ।
‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ,’ ओलीले भनेका थिए, ‘भवितव्य घट्ना भएको हो। त्यस्तो क्षति पनि भएको छैन। कहिलेकहिले यस्ता अप्रिय घटना हुन्छन्।’
संख्या अनुमानित थियो, हिंसाको अनुमान थिएन
सरकारको समाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर, लिंक्डइन, स्न्यापच्याट जस्ता सबै प्लेटफर्म बन्द भएपनि टिकटक भने बन्द भएको थिएन । टिकटक पहिल्यै नेपालमा दर्ता भइसकेका कारण सरकारले यसलाई सक्रिय नै छोडेको थियो । त्यसैले पनि यी सबै प्लेटफर्मका प्रयोगकर्ता टिकटकतर्फ ओइरिएका थिए।
सेप्टेम्बर ६ अघिसम्म सामाजिक सञ्जाल टिकटकका चर्चित अनुहार आफ्ना दैनिक ‘कन्टेन्ट क्रिएसन’ मै व्यस्त देखिन्थे। टिकटकमा उनीहरू रुचिअनुसारकै विषयमा भिडियो अपलोड गरिरहन्थे। तर टिकटकका तिनै ‘इन्फ्लुएन्सर’को अकाउन्टबाट सेप्टेम्बर ६ देखि एकै किसिमको भिडियो ‘अनिवार्य’ जस्तोगरी अपलोड भयो । भिडियोमा सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते काठमाडौँको बानेश्वर र माइतीघरमा हुने ‘मास प्रोटेस्ट’मा सहभागी हुन आह्वान गरिएको हुन्थ्यो।
टिकटकमा झन्डै एक लाख ४० हजार ‘फलोअर्स’ भएका रवि चन्द ठकुरीले आफ्ना अकाउन्टमा भिडियो अपलोड गर्दै सबै युवालाई भदौ २३ गते आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए। उनले भिडियोमा अहिले आन्दोलनमा सहभागी नभए देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए।

‘मलाई फलो गर्नेहरू सबै जना भोलि माइतीघर पुग्नुहोला। देशको मुहार फेर्नुपर्छ अब,’ उनको आह्वान थियो, ‘भ्रष्टाचारविरुद्ध अहिले उठ्नुभएन भने, कहिल्यै उठ्न सक्नुहुन्न। सीयू टुमरो। लेट्स फाइट टुगेदर।’
त्यस्तै, अर्की इन्फ्लुएन्सर सुरुचि बुढाथोकीले भदौ २३ गते सबै युवालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेकी थिइन्। उनले आक्रोश व्यक्त गर्दै पुराना पुस्तालाई राजनीतिबाट बिदा नगरेसम्म देश नबन्ने बताएकी थिइन्।
‘अब बाजेहरूलाई सरकारबाट हटाउनैपर्छ। बाजेहरू भएसम्म सधैँ यस्तै रहने हो,’ उनले भनेकी थिइन्, ‘अब हामीलाई प्रतिनिधित्व गर्ने युवा चाहिन्छ। यिनी मनलाग्दी गरिरहने अनि हामी विदेश गएर दुःख गर्नुपर्ने ?’
यस्ता कैयन् टिकटक अकाउन्टबाट सेप्टेम्बर ८ मा हुने आन्दोलनमा सहभागिताका लागि आह्वान भए पनि आन्दोलनको उद्देश्य र अजेन्डा भने खुलाइएको थिएन । तर, पोस्ट गरिएका भिडियो र ब्यानर हेर्दा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित हुन लागेको बुझिन्थ्यो।
भदौ २३ को मिति तोकेर बनाइएका भिडियो र ब्यानरमा ‘दी फाइनल रिभोलुसन’, ‘वी आर पन्चिङ अप’, ‘स्टप करप्सन’, ‘टाइम फर युथ’ तथा ‘इनफ ईज इनफ’जस्ता नारा उल्लेख थिए।
इन्फ्लुएन्सर मात्रै होइन, फलोअर्स नगन्य भएकाहरू एकाउन्टमा इन्गेजमेन्ट असाधरण थियो । ब्रिफ नेपाल, सेभ नेपाल, डिफेक्टर, फाइन्डिङ माई वर्ल्ड र ट्रुथ टकजस्ता अनेकन् टिकटक अकाउन्टबाट भदौ २३ को आन्दोलनमा सरिक हुन भनिएको पोस्टमा लाखौँ भ्यूज र हजारौँको संख्यामा ‘लाइक’ थियो।
यो आन्दोलनको आयोजना ‘जेनजी’ पुस्ताले गरेको ब्यानर र भिडियोबाट स्पष्ट भए पनि यसको नेतृत्व कसले गरिरहेको भने खुलेको थिएन । यद्यपि, यसको पृष्ठभूमिमा ‘कन्टेन्ट क्रिएटर’ निमेस श्रेष्ठ र राइड सेयरिङ तथा पार्सल डेलिभरी एप ‘पठाओ’का प्रमुख कार्यकारी अधिकृत अशिममान सिंह बस्न्यात देखिन्थे।

सामाजिक सञ्जालबाट मात्रै परिवर्तन नआउने बताउदै बस्नयातले पोस्ट गरेको भिडियोमा दुई लाखभन्दा बढी भ्युज छ भने २२ हजार जति लाइक आएको थियो ।
बस्न्यातले २० भदौमा दिउँसो आफ्नो टिकटक अकाउन्टबाट आह्वान गरेका थिए- ‘डिजिटल प्रिजेन्टेसन जति आवश्यक छ त्योभन्दा धेरै भौतिक उपस्थिति हो ।
तपाईंहरू भौतिक रूपमा नआएसम्म परिवर्तन आउँदैन,’बस्न्यातले भनेका थिए, ‘सोमबार हुने आन्दोलनमा म आफैँ आउँछु। शान्तिपूर्ण आन्दोलनमार्फत देशका धमिरालाई हल्लाउन तपाईं मेरो साथ दिनूस्, म तपाईंको दिन्छु।’
आन्दोलनका लागि अपिल गर्ने जति टिकटकमा असली अकाउन्ट थिए, त्यति नै संख्यामा फेक अकाउन्ट पनि बनाइएको थियो। खासगरी युवतीहरू आन्दोलन शान्तिपूर्ण हुनुपर्ने पक्षमा देखिन्थे भने केही युवकले पनि उनीहरूको तर्कलाई समर्थन गरेको देखिन्थे।
कतिपयले भने आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै सुरक्षाका लागि सतर्क रहन आह्वान गरेका थिए। त्यस्तै, छद्म अकाउन्टबाट भने उत्तेजना फैलाउने भिडियो पनि अपलोड भइरहेका थिए ।
विशेषगरी ‘सेप्टेम्बर ८’ नाम राखेर बनाइएका अकाउन्टबाट सिंहदरबार र संघीय संसद् भवन जलेका, संसद् भवन कब्जा गरिएका र टियर ग्याससहित गोली बर्सिरहेका ‘एआई’ निर्मित भिडियो अपलोड भएका थिए। यसरी ६ र ७ सेप्टेम्बरमा राखिएका एआई तस्वीरजस्तै दृश्य ८ र ९ सेप्टेम्बरमा वास्तविकतामा परिणत भए ।

युट्युबमा ६ लाख बढी ‘सब्सक्राइबर’ र टिकटकमा एक लाख बढी फलोअर्स रहेको इन्डेप्थ स्टोरी ‘आईडीएस’ले आफ्नो टिकटक अकाउन्टबाट सोमबारको आन्दोलनलाई लक्षित गरेर बांग्लादेशको हिंसात्मक आन्दोलनको भिडियो सेयर गरेको थियो, हुन त यो भिडीयो पहिले नै अपलोड भएको थियो तर आन्दोलनको पूर्वसन्ध्यामा पुन: सेयर गरिएको थियो ।
भिडियोको शुरूआतमै भनिएको थियो, ‘विद्यार्थी आन्दोलनले उग्ररूप लिएपछि बांग्लादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर बाध्य हुन्छिन्। त्यसपछि विद्यार्थीले प्रधानमन्त्री निवास नै कब्जा गर्छन्।’
जेनजी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगका प्रतिवेदनले पनि जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाएका भन्दै केही सोसल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको ठहर गरेको छ । प्रतिवेदनमा भ्रामक सूचना फैलाउनेमा मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेको नामै किटिएको छ ।
मानवअधिकार आयोगका प्रतिवेदनले पनि आन्दोलनको क्रममा फिल्म निर्देशक निश्चल बस्नेत, भ्लगर सिसन बानियाँ, टिभी शो निर्देशक अमनप्रताप अधिकारी, कन्टेन्ट क्रिएटर भिक्टर पौडेल, भाग्य न्यौपाने, विवेक थपलिया, आशिका तामाङ, अशिममान बस्नेत, टंक दाहाललगायतका इन्फ्लुएन्सरको भूमिकामाथि थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको थियो।

राजावादी आन्दोलनमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि सेप्टेम्बर ८ को आन्दोलनलाई आफ्नो समर्थन रहेको र आफू उपस्थित पनि हुने घोषणा गरेका थिए।
यद्यपि, जेनजीहरूले भिडियो मात्र बनाएनन्, उनलाई सम्झाउन घरसम्मै गएपछि प्रसाईले आफू नआउने बताए ।
यसरी सामाजिक सञ्जाललाई जुरुक्कै उठाएको आन्दोलन सडकमा कसरी प्रकट हुन्छ भनेर सुरक्षा संयन्त्रले कस्तो तयारी गरेको छ भनेर सञ्चारमाध्यमले त्यही बेला चासो राखेका थिए ।
काठमाडौँ प्रहरी परिसरका तत्कालीन प्रवक्ता प्रहरी उपरीक्षक एसपी अपिलराज बोहोराले आफूहरू तयारी अवस्थामा रहेको बताएका थिए । सुरक्षा व्यवस्थालाई ख्याल गरी काठमाडौँ प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको उनको भनाइ थियो।
‘शान्तिपूर्ण आन्दोलन भनिए पनि हामीले निगरानी गरेअनुसार संसद् भवन र सिंहदरबार जलाउने जस्ता भिडियो प्राप्त गरेका छौँ। त्यसैले त्यो क्षेत्रलाई संवेदनशील रूपमा विशेष निगरानी गर्छौँ,’ बोहोराले भनेका थिए, ‘अन्य दिनको तुलनामा बढी प्रहरी खटाउने त स्वभाविक नै भयो, तर आन्दोलन उग्र भए नियम र कानूनविरूद्ध जानेलाई कारबाहीको दायरामा ल्याउन भने पछाडि हट्दैनौँ।’
तर आह्वाकर्ताले भनेजस्तै आन्दोलन शान्तिपूर्ण किन भएन ? उत्तेजित कसले बनायो ? राज्यसंयन्त्रको तयारी फितलो र प्रतिक्रिया किन बर्बर भयो ? यी प्रश्नको जवाफ खोतल्ने कोशिस गर्नेछौं, अर्को स्टोरीमा । शृंखला जारी छ ।
प्रतिक्रिया 4