News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालय, बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
- प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा मात्र करिब १७ हजार बालबालिका प्रभावित भएको अनुमान छ ।
- लेखले विपद् व्यवस्थापनमा बाल संरक्षण, विद्यालयस्तरीय पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याएको छ।
विपद् सबैका लागि जोखिम हो, तर बालबालिकाका लागि यसको असर अझ गहिरो र दीर्घकालीन हुन सक्छ । नेपाल प्राकृतिक तथा जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको देश हो । भूकम्प, बाढी, पहिरो, आगलागी र महामारीजस्ता विपद्ले हरेक वर्ष नेपालमा जनधनको ठूलो क्षति पुर्याउँदै आएका छन् ।
विभिन्न समयमा आएका यस्ता विपद्ले नेपाललाई गम्भीर असर पुर्याएका छन् । विपद् पश्चातको पुनर्निर्माणमा आशातीत प्रगति हुन सकिरहेको छैन । जुनसुकै प्रकारका विपदमा पनि सबैभन्दा बढी जोखिम बालबालिकामा पर्ने गरेको अनुभव हामीसँग छ ।
विगतका विपद्का घाउमा खाटा बस्न नपाउँदै भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्यायो । यो हेर्दा नेपालमा विपद् व्यवस्थापनसँगै बाल संरक्षणलाई विपद् प्रतिकार्यको केन्द्रमा राख्नुपर्ने आवश्यकता अझ स्पष्ट बनाएको छ।
बाढीले गाउँ, बस्ती, घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा अन्य पूर्वाधारमा अकल्पनीय क्षति पुर्याएको छ । बाढीका कारण हजारौँ मानिसहरूले ज्यान गुमाएको आशंका गरिएको छ । यसको यकीन तथ्यांक आउन अझै केही समय लाग्ने अवस्था छ ।
बाढीबाट ज्यान गुमाउने बालबालिकाको संख्या पनि आकलन गर्न सकिएको छैन । बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका त्रिशुली नदीको तटीय क्षेत्रका विद्यालयहरू पूर्णरूपमा नष्ट भएका छन् ।
ती क्षेत्रका विद्यालयमा कति बालबालिका अध्ययनरत थिए, कति बालबालिका सकुशल छन् र कति बाढीमा परेर बेपत्ता भएका छन् भन्ने पनि यकिन तथ्यांक आउन सकेको छैन । प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा मात्र करिब १७ हजार बालबालिका प्रभावित भएको समाचार आएका छन् । यसबाट बाढीका कारण हजारौँको संख्यामा बालबालिकाले ज्यान गुमाएको र बेपत्ता भएको अनुमान लगाउन सकिन्छ ।
यो विपद्को घटना केवल प्राकृतिक विपद् मात्र होइन; बालबालिकाको सुरक्षा, अधिकार, मानसिक स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध र भविष्यसँग जोडिएको बाल संरक्षणको संकट पनि हो ।
बालबालिका शारीरिक, मानसिक र सामाजिक रूपमा वयस्कभन्दा बढी निर्भर हुन्छन् । आकस्मिक बाढी वा पहिरोजस्ता घटनामा उनीहरू आफैंले जोखिम पहिचान गरेर सुरक्षित स्थानमा जान, आवश्यक सामग्री जुटाउन वा परिवारसँग सम्पर्क गर्न नसक्ने अवस्था हुन सक्छ ।
भोटेकोशी बाढीले देखाएको एउटा महत्त्वपूर्ण पक्ष यसको अकस्मिक र तीव्रता हो । यस्तो अवस्थामा केही मिनेटको चेतावनीले जीवन र मृत्युबीचको फरक पार्न सक्छ । नुवाकोटको त्रिशुली माध्यमिक विद्यालयमा बाढी आउनुअघि विद्यालयले तत्काल विद्यार्थीलाई सुरक्षित स्थानमा सार्दा सयौँ विद्यार्थीको जीवन जोगियो । यो घटनाले बालमैत्री पूर्वसूचना प्रणाली, विद्यालयस्तरीय पूर्वतयारी र प्रधानाध्यापकको सचेतताको महत्त्व देखाएको छ।
विपद्मा बालबालिका अभिभावक वा परिवारका सदस्यबाट छुट्टिन सक्छन् । कतिपय बालबालिकाले आफ्ना आमाबाबु तथा अभिभावक गुमाउन सक्छन् । यस्तो अवस्थामा उनीहरू एक्ला, असुरक्षित वा अपरिचित व्यक्तिको नियन्त्रणमा पुग्ने जोखिममा हुन्छन् । त्यसैले प्रत्येक विपद्पछि परिवारबाट विछोडिएका बालबालिकाको पहिचान, दर्ता, खोजी, पारिवारिक पुनर्मिलन र आवश्यक संरक्षण सेवा अति आवश्यक हुन्छ ।
जुनसुकै प्रकारको विपद्ले परिवार र समुदायको नियमित संरक्षण प्रणाली कमजोर बनाउँछ । संरक्षण प्रणाली उद्धार र राहतमा केन्द्रित हुँदा बालबालिकाको उचित हेरचाह गर्ने अवस्था रहदैन ।
अस्थायी शिविर, भिडभाड, होल्डिङ् सेन्टरमा अपर्याप्त प्रकाश, सुरक्षित शौचालयको अभाव तथा अपरिचित व्यक्तिहरूको उपस्थितिले बालबालिकामाथि हिंसा, यौन दुर्व्यवहार, शोषण तथा बेचबिखनको जोखिम बढाउन सक्छ । यसतर्फ सचेत हुनुपर्छ ।

युनिसेफले हालैको बाढीबाट पीडित तथा प्रभावित बालबालिकामा रोग, कुपोषण, हिंसा र शोषणको जोखिम बढेको उल्लेख गरेको छ । त्यसैले बालमैत्री सुरक्षित स्थान, उजुरी तथा रिपोर्टिङ संयन्त्र र प्रशिक्षित बाल संरक्षण कर्मचारी अतिआवश्यक हुन्छ ।
जुनसुकै प्रकारको विपद्पछि परिवारको आम्दानीको स्रोत गुम्न सक्छ । घरबार, खेती, व्यवसाय वा रोजगारी नष्ट भएपछि परिवारले आर्थिक संकट सामना गर्न सक्छ । यस्तो अवस्थामा बालबालिका विद्यालय छाडेर ज्याला मजदुरी, होटल/रेस्टुरेन्ट, यातायात, निर्माण, घरेलु काम वा अन्य जोखिमपूर्ण श्रममा संलग्न हुने सम्भावना बढ्छ । त्यसैले राहत र पुनर्स्थापनाका साथसाथै परिवारको आर्थिक पुनःस्थापनालाई पनि प्राथमिकता दिनुपर्छ, ताकि विपद्को क्षतिपूर्ति गर्न बालबालिकालाई श्रममा पठाउने अवस्था नआओस् ।
विद्यालय बालबालिकाको सिकाइको स्थान मात्र होइन यो उनीहरूको सुरक्षा, सामाजिक सम्बन्ध, मानसिक स्वास्थ्य र सामान्य जीवनको आधार पनि हो । भोटेकोशी बाढीले नदी तटीय क्षेत्रका विद्यालय पूर्ण रूपमा क्षति पुर्याएको छ । पछिल्लो आँकलन अनुसार दर्जनौं विद्यालय नष्ट वा क्षतिग्रस्त भएका छन् । हजारौं विद्यार्थीको शिक्षामा असर परेको छ । त्यसैले विद्यालय पुनः सञ्चालनलाई पूर्वाधार पुनर्निर्माण मात्र नभई बालसंरक्षण र मनोसामाजिक पुनःस्थापनाको कार्यक्रमका रूपमा हेर्नुपर्छ ।
बाढीमा सयौँ बालबालिकाले अभिभावक र परिवारका सदस्य गुमाएका छन् । घर नष्ट भएको छ । आफैं मृत्युको मुखबाट बाँच्न सफल भएका छन् । आफन्त गुमाउनु वा भविष्यबारे अनिश्चित हुनु बालबालिकाका लागि अत्यन्तै पीडादायी अवस्था हो । यसले गर्दा बालबालिकामा मानसिक स्वास्थ्य र मनोसामाजिक असर पर्छ ।
जसका कारण बालबालिकामा डर र त्रास, निद्रामा समस्या, एक्लोपन, अत्यधिक चिन्ता, मौनता वा सामाजिक दूरी, आक्रोश, पढाइमा ध्यान नजाने, घटना बारम्बार सम्झने जस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । यस्तो अवस्थामा विपद्पछिको प्रतिकार्यमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगलाई अत्यावश्यक सेवाका रूपमा लिनुपर्छ ।
विपद् व्यवस्थापन प्रायः खाना, पानी, कपडा, औषधि र आश्रयमा केन्द्रित हुन्छ । यी अत्यावश्यक छन् । तर बालबालिकाका लागि अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘बालबालिका सुरक्षित छन् कि छैनन् ? भन्ने कुरा । बालबालिकालाई सुरक्षित राख्नका लागि राहत वितरण केन्द्रमा बालमैत्री सुरक्षित स्थान हुनु आवश्यक छ । बालबालिकाको दर्ता तथा पहिचान, परिवारबाट छुट्टिएका बालबालिकाको खोजी, सुरक्षित खानेपानी र सरसफाइ, बालबालिका र लैङ्गिकमैत्री शौचालय चाहिन्छ ।

होल्डिङ् सेन्टरमा पर्याप्त प्रकाश र सुरक्षा, सुरक्षित उजुरी/रिपोर्टिङ संयन्त्र, बाल विवाह, बेचबिखन र बाल श्रम रोकथाम, मनोसामाजिक सहयोग, अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयोग्य सेवा, जोखिममा रहेका बालबालिकाको घटना व्यवस्थापनका कुरा सुनिश्चित गर्नुपर्छ ।
भोटेकोशी घटनाबाट सबैभन्दा ठूलो सिकाइ यही हो कि बाल संरक्षण विपद् आएपछि सुरु गर्ने काम होइन । स्थानीय तह, विद्यालय, प्रहरी, स्वास्थ्य संस्था, बाल संरक्षण समिति, बाल क्लब, युवा समूह, रेडक्रस तथा गैरसरकारी संस्थाले मिलेर विपद् आउनुअघि नै योजना बनाउनुपर्छ ।
यसका लागि हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा जोखिममा रहेका बालबालिकाको पहिचान, सुरक्षित स्थानको नक्सांकन, पूर्वसूचना प्रणाली, उद्धार योजना, परिवार पुनर्मिलन, बाल संरक्षण सेवा, मनोसामाजिक सहयोग, विद्यालय पुनःसञ्चालनलाई एउटै समन्वित योजनामा राख्नुपर्छ । विशेष गरी नदीकिनार, विद्यालय, बालगृह, अनाथ तथा जोखिममा रहेका बालबालिका, अपाङ्गता भएका बालबालिका र दुर्गम बस्तीलाई प्राथमिकतामा राख्नुपर्छ ।
भोटेकोशी बाढीपछि विद्यालयको भूमिका अत्यन्त महत्त्वपूर्ण देखिएको छ । समयमै सूचना पाएर शिक्षकहरूले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजान सकेमा विद्यालय स्वयं जीवन बचाउने पहिलो संस्थामध्ये एक बन्न सक्छ ।
हरेक विद्यालयमा: विद्यालय विपद् व्यवस्थापन योजना, विद्यार्थीको अद्यावधिक सम्पर्क विवरण, अभिभावक सम्पर्क प्रणाली, आपतकालीन उद्धार अभ्यास, सुरक्षित खुला स्थान, शिक्षक तथा बाल क्लबका सदस्यलाई प्राथमिक उपचार तालिम, बालमैत्री पूर्वसूचना प्रणाली, मनोसामाजिक सहयोग प्रणाली हुन आवश्यक छ।

विपद् व्यवस्थापनमा बालबालिकालाई केवल ‘सहायता पाउने व्यक्ति’ का रूपमा मात्र हेर्नु हुँदैन । उनीहरू आफ्नो समुदायका जोखिमबारे महत्त्वपूर्ण जानकारी दिने सहभागी पनि हुन् । तसर्थ बालबालिकालाई हाम्रो समुदायमा सबैभन्दा जोखिमपूर्ण ठाउँ कुन हो ? बाढी आयो भने हामी कहाँ जाने ? कुन बाटो सुरक्षित छ ? कसलाई फोन गर्ने ? विद्यालयमा हामीलाई कसरी सुरक्षित राख्न सकिन्छ ? अपाङ्गता भएका साथीलाई कसरी सहयोग गर्ने ? जस्ता ज्ञान दिन आवश्यक छ ।
भोटेकोशी बाढीले हामीलाई एउटा कठोर सत्य सम्झाएको छ—विपद् कहिले, कहाँ र कति तीव्रताका साथ आउँछ भन्ने कुरा सधैं अनुमान गर्न सकिँदैन विज्ञहरूले हिमनदीजन्य जोखिम बढ्दै गएको र प्रभावकारी पूर्वसूचना तथा जोखिम निगरानी अझ बलियो बनाउनुपर्ने बताएका छन् । त्यसैले अब नेपालको विपद् व्यवस्थापनको दृष्टिकोण: ‘विपद् आएपछि उद्धार गर्ने’ बाट ‘विपद् आउनुअघि जोखिम घटाउने र बालबालिकालाई सुरक्षित राख्ने’ तर्फ परिवर्तन हुनुपर्छ ।
प्रारम्भिक विवरणमै १७ हजार बालबालिका प्रभावित भएको तथ्यले बाल संरक्षणलाई मानवीय प्रतिकार्यको केन्द्रमा राख्नुपर्ने आवश्यकता देखाउँछ । अबको पुनर्निर्माण केवल ‘भत्किएको संरचना बनाउने’ हुनु हुँदैन । पुनर्निर्माण भनेको ‘बालबालिकाका लागि अझ सुरक्षित, समावेशी र लचिलो समुदाय निर्माण गर्ने’ अवसर पनि हो ।
(मणिराम आचार्य एस्.ओ.एस्, नेपालका राष्ट्रिय अम्बड्सपर्सन हुन्)
प्रतिक्रिया 4