+
+
Shares
रसुवा स्थलगत :

थातथलो छाडेर काजकिरिया

काजकिरिया गर्ने प्रक्रिया पनि सजिलो भइरहेको छैन । पहिलो त मृत्यु संस्कार गर्न गाउँमा ठाउँको अभाव छ । दोस्रो– काजकिरिया चलाउने पुरोहितको ।

सइन्द्र राई पुष्पराज चौलागाईं सइन्द्र राई, पुष्पराज चौलागाईं
२०८३ भदौ १८ गते १०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको उत्तरगया गाउँपालिका–५ पहरेबेँसीका बाढीपीडितले ८ दिनदेखि सम्पर्कविहीन आफन्त फर्कने आशा छोडेर काजकिरिया गर्ने तयारी गरेका छन्।
  • स्थानीयका अनुसार पहरेबेँसीमा ४९ घर बगेका छन् र उत्तरगया–४ का मात्रै ५४ जना सम्पर्कविहीन छन्।
  • परिवारलाई काजकिरिया गर्न ठाउँ र पुरोहितको अभाव छ भने विस्थापितहरू माझगाउँ र कुवापानीका शिविरमा बसिरहेका छन्।

१८ भदौ, रसुवा । हराएका आफन्त फर्कने आशामा आठ दिनसम्म उनीहरूले बाटो हेरिरहे ।

खोजीमा निस्किएका टोली कतै पुगेको खबर सुन्दा झिनो आशा पलाउँथ्यो- सायद मेरो मान्छे भेटिए कि !

तर ७ रात बित्यो । आफन्तको कुनै खबर आएन ।

अब भने उत्तरगया गाउँपालिका–५, पहरेबेँसीका धेरै बाढी पीडित आशा मार्न थालिसकेका छन् । र, स्वीकार्न कठिन पर्ने निर्णय गरिरहेका छन्– हराएकाहरू फर्किने आशा मारेर काजकिरिया गर्ने ।

पहेरेबेंसीका रामचन्द्र थापा मगरका अनुसार, कोशी किनारमा थुप्रै शव भेटिएका छन् । तर ती मध्ये पहेरेबेँसीका स्थानीयले एउटा शव मात्र चिने, र सतगत गरिसके ।

अरु हराएकाहरू बाढीले कहाँ पुयार्‍ए ? अत्तोपत्तो छैन ।

‘आज आठ दिन बित्यो । छरछिमेक सबैको छलफलपछि सम्पर्क विहिन हुनुभएको मानिस फर्किनुहुन्न भन्ने निर्णयमा पुगेर काजकिरियामा जुटेका छौं,’ रामचन्द्रले अनलाइनखबरसँग भने ।

पहेरेबेँसीमा ४९ घर बगेका छन् । केही घरको भग्नावशेष बाँकी छ । यो गाउँमा चार सय बढी बसोबास गर्थे भन्ने अनुमान छ ।

उनीहरू मध्ये बाढीमा कति मानिस परे ? यकिन तथ्यांक छैन । स्थानीयले संकलन गरेको विवरणअनुसार उत्तरगया–४, पहेरेबेँसीका मात्रै ५४ जना सम्पर्क विहीन छन् । अन्य ठाँउबाट आएको मानिस जोड्दा ७० बढी पुग्ने स्थानीयको अनुमान छ ।

करिया बस्न पनि समस्या

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार आफन्त फर्कंदैन भन्ने विश्वास गर्नेहरूले अन्त्येष्टिको प्रक्रिया अगाडि बढाएको बताउँछन् । ‘जसलाई आफन्त अब भेटिन्न भन्ने लागेको छ, उहाँहरुले त्यस्तो प्रक्रिया अगाडि बढाउनुभएको छ,’ उनले भने ।

तर यो प्रक्रिया पनि सजिलो भइरहेको छैन । पहिलो त मृत्यु संस्कार गर्न गाउँमा ठाउँको अभाव छ । दोस्रो– काजकिरिया चलाउने पुरोहितको ।

‘पुरानो ठाउँको केही अस्तित्व नै छैन । काजक्रिया सगोलमा बस्न मिल्दैन,’ पालिकाका उपाध्यक्ष चमेली गुरुङ भन्छन्, ‘ठाँउ नै नभएकाले काजकिरिया गर्न भनेर कोही आफन्तकोतिर लागे, कोही काठमाडौं जानुभयो ।’

पहेलेबेँसीका विस्थापितहरू दुईवटा शिविरमा बाँडिएका छन् । एउटा माझगाँउ र अर्को कुवापानी । तलको शिविरमा ५० जना हाराहारीमा बसेका छन् । कुवापानीमा २५ जना जति छन् ।

यस्तो अवस्थामा काजकिरिया गर्ने परिवारलाई छुट्टै ठाउँ उपलब्ध गराउनु सम्भव छैन । अझ एउटै परिवारमा धेरै जनाको मृत्यु हुँदा समस्या थपिएको छ ।

आठौँ दिनमा कुशको मानिस बनाएर अन्त्येष्टि गर्ने, क्षेत्रबास (किरिया) बस्ने र त्यसपछि परम्पराअनुसार काजकिरियाका काम अघि बढाउने तयारी उनीहरूले गरेका छन् । १३ दिनभित्र सबै संस्कार पूरा गर्नुपर्ने भएकाले अब ढिला गर्ने अवस्था छैन ।

त्यसैले उनीहरू समय पर्खेर बस्न सक्ने अवस्थामा छैनन् । शव नभेटिए पनि अब समुदायका मानिसहरू मिलेर संस्कार अघि बढाउने निष्कर्षमा पुगेका छन् ।

एकै परिवारका धेरै सदस्य गुमाएका परिवारलाई छुट्टाछुट्टै काजकिरिया गर्नुपर्ने हुन्छ । क्रियापुत्रीका लागि अलग ठाउँ चाहिन्छ । सेतो लुगा लगाएर छुट्टै बस्नुपर्ने परम्परा भएकाले एउटै कोठामा धेरै जना राखेर काजकिरिया गर्न सम्भव छैन ।

त्यसैले २० भन्दा बढी परिवार काठमाडौं र अयन्त्र लागेका छन् । बुधबार अनलाइनखबरको टोलीले बुझ्दा २० जना जति काठमाडौँ जाने तयारीमा थिए ।

बाढीपहिरोमा ठूलो संख्यामा मानिसको मृत्यु भएपछि मृत्यु संस्कार गराउने पण्डितहरू पाउनै मुस्किल छ । पहिले संस्कार गराउँदै आएका पण्डितहरू आफैं शोकमा छन् ।

परिवार नै गुम्यो

पहेरेबेँसीको हरेक घरका मानिस बेपत्ता छन् । बाढीले बाँचेका कतिपय परिवार उत्तरगया गाउँपालिका–५, को माझगाउँमा बसिरहेका छन् । उनीहरूलाई स्कूलमा शिविर बनाएर राखिएको छ ।

शिविर साँघुरो छ । कोही भुइँमा बसेका छन्, कोही भित्तामा अडेस लागेर ।

सुत्केरी त्यही छन्, बिरामी त्यहीँ । बालबालिका, वृद्धवृद्धा त्यही छन् । सबैको साझा चिन्ता छ – अब कहाँ जाने, के गर्ने ?

बाढीले घर बगाएको छ । घरसँगै थुप्रै आफन्तहरू । कसैका आमा–बुबा रहेनन् । कसैका श्रीमान् । कसैले छोराछोरी गुमाए । कतिपय परिवार नै हराएका छन् ।

पहेरेबेँसीका दुई बालबालिकाका शवै परिवार नै गुमेका छन् । उनीहरू आफन्तको शरणमा छन् ।

एउटा परिवारका १० जना सदस्य नै सम्पर्कविहीन छन् । एक बालक मात्रै बाँकी छन् । अर्को परिवारमा चार जना मध्ये तीन जनालाई बाढीले लग्यो, एउटा सानी नानी मात्रै बाँचेकी छन् ।

‘कोही आफन्तको घरमा छन्, कोही काठमाडौं पुगेका छन् । कतिपय परिवारमा स–साना बालबालिका मात्रै छन् । बुबा आमा सबैलाई बाढी लगेको छ,’ रामचन्द्रले भने ।

यस्ता पीडादायक घटना पहेरेबेँसीमा मात्र होइन, नुवाकोट र रसुवाको हरघरमा भेट्न सकिन्छ । ‘दुई बालबालिको परिवार नै सम्पर्कमा हुन हुन्न,’ रामचन्द्रले भने, ‘उनीहरूलाई अहिले आफन्तले लैजानुभएको छ ।’

तस्वीर : कमल प्रसाईं र चन्द्रबहादुर आले/अनलाइनखबर 

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?