News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको ल्हेन्दे खोलामा गत बुधबार आएको विनाशकारी बाढीको कारण पाँच हजार मिटरमाथिबाट खसेको हिमपहिरो भएको विज्ञको विश्लेषण छ।
- डा. सुदीप ठकुरीका अनुसार ठूलो हिमचट्टान तीव्र गतिमा खस्दा ऊर्जा र तापक्रमका कारण हिउँ पग्लिएर लेदोयुक्त बाढी बनेको हो।
- उनले रसुवागढी र चमोलीको बाढीको प्रकृति मिल्दोजुल्दो रहेको र हिमतालसँगै हिमपहिरो पनि उच्च जोखिमको विषय भएको बताए।
- ठकुरीले जोखिमयुक्त स्थानको नक्शांकन, पूर्वसूचना प्रणाली र भू–उपयोग नीति कार्यान्वयन गरेर क्षति न्यूनीकरण गर्नुपर्ने बताए।
गत बुधबारको बाढीबारे विज्ञहरूले अनेक आँकडा र तथ्यांकका आधारमा घटनाको विश्लेषण गरिरहेका छन् । लाङटाङको उत्तरी भागमा रहेको ठूलो हिमढिस्को तल बजारिएपछि विनाशकारी बाढी आएकोमा विज्ञहरू एकमत छन् । तर ‘हिमाली सुनामी’ भनिएको बाढीको कारण बारे उनीहरू समेत रनभुल्ल भएको देखिन्छ ।
हिमनदी र हिमतालको गतिशीलताको विषयमा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागका सह–प्राध्यापक डा. सुदीप ठकुरी उच्च भेगबाट ठूलो मात्राको हिउँको थुप्रो बजारिएपछि विनाशकारी बाढी आएको बताउँछन् । ठकुरीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले रसुवा बाढीको कारणका बारेमा गरेको कुराकानीको सम्पादित अंश :
रसुवाको ल्हेन्दे खोलामा त्यति तीव्र र ठूलो बाढी आउनुको कारण के होला ?
कहाँबाट बाढी शुरु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले प्राप्त डाटा विश्लेषण गर्दा पाँच हजार मिटरभन्दा माथिको उचाइबाट यो घटनाको सुरुआत भएको छ ।
लामटाङ लेरुङको उत्तरी पाखामा भएको हिमनदी झण्डै पाँच हजार मिटरभन्दा माथिको उचाइमा थियो । त्यसको उत्तरपट्टि तल तीन हजार मिटर उचाइमा अवस्थित रिभर भ्याली छ । पाँच हजार मिटरबाट तीन हजार भनेपछि करिब दुई हजार मिटर तल हिमचट्टान बज्रिएको रहेछ ।
एकातिर गुरुत्वाकर्षणको बल, अर्कोतिर खसेको हिमचट्टानको आकार पनि ठूलो छ । त्यो निकै तीव्रताका साथ खसेको हुनुपर्छ । एकदमै भिरालोपन भएको ठाउँका कारण पनि गति लिन सकेको हो जस्तो लाग्छ ।
त्यो बाढी रसुवागढीको नाकातिर आउँदा निकै गति लिएको देखिन्छ । शुरुमा त झण्डै १२० किलोमिटर भन्दा पनि बढी प्रतिघण्टाको दरले बाढी हुत्तिएको थियो । तल्लो भेगमा पनि त्यही शैलीले बाढी गइरहेको छ । त्रिशूली निकै तल आइसकेपछि बाढीको गति घटेको देखिन्छ । चितवन पुगेपछि बल्ल बाढीले सामान्य रूप लिएको हुनुपर्छ ।
करिब पाँच हजार मिटरको उचाइबाट तल बजारिएपछि शुरु भएको हिमचट्टान सहितको बाढीले अस्वाभाविक वेग लियो । त्यति ठूलो हिमचट्टान तल आइसकेपछि एकाएक पानीसरह बनेर बगेको छ । किन विज्ञ र विशेषज्ञहरूले यस बारेमा स्पष्ट धारणा र दृष्टिकोण बनाउन नसकेका हुन् ?
प्राप्त सूचनाहरू विश्लेषण गर्दा माथिबाट ठूलो बरफको ढिक्का तलतिर झरेको देखिन्छ । उच्च गतिको त्यो ढिक्का तल खस्दा ठूलो ऊर्जा निस्कन्छ । अनि तल्लो भागमा तापक्रम पनि बढी हुन्छ । गति, ऊर्जा र तापक्रमले बरफको ढिक्का सहितको हिउँको थुप्रो तुरुन्तै पग्लिएको हुनुपर्छ ।
अहिले पहिरो झरिरहेको बाटो (जुन पहिरो ठोक्किंदै झरेको ठाउँ)मा कतै हिउँ वा पानीको कुण्ड हुनसक्छ । किनभने पहिले पनि हिमनदीले त्यो ठाउँ छाडेको हो । ढुंगा र गेगरहरूले ढाकेको तर भित्रपट्टि पग्लिने अवस्थामा रहेको अर्धतरल अवस्थाको ठाउँमा ठोक्किएर पहिरो खसेको हुनसक्छ ।
त्यसले हिमढिस्कोलाई तल झार्न लुब्रिकेन्टको काम गरेको हुनसक्छ । हामीले भनेका यी सबै मिसिंदा बहावले ठूलो आकार लिएको हुनसक्छ । त्यो बाढीमा पानी मात्रै छैन । त्यहाँ ढुंगा, माटो, गेगरहरू छन् । यतिसम्म कि रूखबिरुवा, पातपतिंगर र बुट्यान समेत त्यहाँ मिसिएका छन् । उच्च गतिमा आएको त्यो लेदो सहितको बाढीले तल सबै विनाश गरेको देखिन्छ ।
पृथ्वीमा योभन्दा ठूला र प्रलयकारी अरू विपत्तिहरू पनि भएका छन् । तर हिमाली क्षेत्रमा शुरु भएर यो तहको विनाश गरेको विपत्तिका उदाहरण यहाँहरूले अध्ययनका क्रममा भेट्नुभएको थियो ?
नेपालको हकमा जनधन र भौतिक संरचनाको क्षतिको हिसाबले यो तहको विनाश भएको उदाहरण भेटिंदैन । एक/दुई सय वर्षको छोटो इतिहास अध्ययन गर्दा पनि यस्ता उदाहरण भेटिंदैनन् ।
यस्ता अरू सामान्य घटनाहरू भने भेटिन्छन् । भारतको सिक्किममा केही वर्षअघि बाढी गएको थियो । नन्दादेवीको पहिरोका कारण चमोलीमा बाढी गयो । गत वर्ष रसुवागढीमा नै बाढी आएको हो । थामे, सेतीबाढी लगायतका उदाहरण हामीसँग छन् ।
तर क्षति र नोक्सानका हिसाबले यो घटना अलि ठूलो नै हो भन्ने देखिन्छ । बाढीको गति, विध्वंसक क्षमता लगायत दृष्टिकोणले हेर्दा यो बाढी अरूको तुलनामा निकै विनाशक बनेको छ । कति क्षति भएको छ, त्यसको यकिन विवरण आएको छैन । तर हिमाली क्षेत्रमा सिर्जित यो ठूलो विपत्ति नै हो ।
तपाईंले विभिन्न घटनाको उदाहरण दिनुभयो । विगतका कुन कुन घटना रसुवागढीको बाढीसँग मिल्दोजुल्दो देखिन्छन् ?
यो बाढी हो । बाढीका विभिन्न कारण हुन्छन् । सामान्य अवस्थामा पानी परेपछि बाढी आउँछ । तर हिमाली र पर्वतीय क्षेत्रमा हिमताल फुटेर, हिमपहिरोले, पहाडी क्षेत्रमा पहिरोले खोलानाला थुनिएर बाढी आउन सक्छ ।
रसुवागढीको घटनाको कारण हिमपहिरो (आइस एभालान्च) भयो । त्यसको असरस्वरुप बाढी आएको देखियो । प्रकृति हेर्दा हाम्रो र भारतको चमोलीको घटना मिल्दोजुल्दो छ । त्यहाँ पनि हिमपहिरो पछिको बाढीले विनाश गरेको देखिन्छ ।
अरू घटनाहरू अलि फरक छन् । कुनै ताल विस्फोटबाट सिर्जित छन् । भारतको केदारनाथको घटना ‘क्लाउड ब्रर्ष्ट’ हो, जहाँ छोटो समयमा भारी मात्रामा पानी परेपछि बाढी आएको थियो । सिक्किममा ताल फुटेपछि बाढी आएको थियो ।
के कारणले बाढी निम्तिएको छ भनी हामीले छुट्याउन सक्नुपर्छ । बाढीको प्रकृति हेर्दा अहिलेको रसुवागढी र भारतको चमोली बाढीको प्रकृति निकै मिल्दोजुल्दो छ । तर बाढीको आकार, त्यसले पारेको असर र अरू परिणामको हिसाबले त्यहाँको तुलनामा हाम्रो क्षति निकै ठूलो देखिन्छ ।

नेपालमा विशेषज्ञहरूले प्राय: हिमाली क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालहरू विस्फोट हुनसक्छन् र त्यसले निम्त्याउने परिणाम अकल्पनीय हुन्छ भनेर चेतावनी दिइरहेका थिए । त्यस्ता जोखिमपूर्ण हिमताल पहिचान गर्न सहज पनि थियो । तर अब त विभिन्न ठाउँमा रहेका, बगेर खस्ने तर्खरमा रहेका हिमनदीहरू पो ठूलो जोखिम रहेछन् भन्ने देखियो; हैन ?
केही वर्षअघि म आफंैले एउटा अध्ययन गरेर लेख प्रकाशित गरेको थिएँ । हिमपहिरो पनि नयाँ कुरा होइन । सन् १९२० देखि अहिलेसम्म करिब चार सय जनाले हिमपहिरोमा परेर ज्यान गुमाएका छन् । तर अहिले जुन ढंगको वितण्डा मच्चायो, यो नौलो भयो ।
नेपालभित्र करिब १५ सय भन्दा बढी हिमताल छन् । स–साना आधारका हिमताल अझै धेरै होलान् । कैयौं नयाँ तालहरू बन्ने प्रक्रियामा छन् । नेपालसँग जोडिएको तिब्बतमा रहेका, नेपाललाई असर पार्ने यस्ता हिमतालहरू अझ धेरै छन् ।
अध्ययन अनुसन्धानका नतिजाहरू अनुसार, यो क्षेत्रका करिब दुई सय ताल जोखिमपूर्ण अवस्थामा रहेको देखिन्छ । पहिले हामीले ठूलाठूला तालहरू मात्र जोखिमपूर्ण छन् भन्ने हिसाबले हेर्ने र विश्लेषण गर्ने काम हुन्थ्यो ।
पछिल्ला केही घटनाहरू, उदाहरणका लागि थामेको घटनाले साना तालहरू पनि अति नै जोखिमपूर्ण छन् भन्ने देखिएको छ । त्यो दृष्टिकोणबाट हेर्दा सबैजसो तालहरू जोखिमपूर्ण छन् भन्न सकिन्छ ।
स–साना ढिस्को खसेको भए यो हदसम्म क्षति हुने थिएन होला । तर ठूलो हिमपर्वत नै तल फेदमा बजारियो । यसरी एकमुष्ट रूपमा चट्टान खस्नुको कारण के होला ? एक दशक अघिको भूकम्पको असर, तापमान वृद्धि वा अरू केही नै कारण होला ?
हिमाली क्षेत्रका हिमनदीहरूबाट हिउँ र बरफ झर्ने नियमित प्रक्रिया हो । अहिले ठूलो आकारमा झरेर क्षति गरेको हो । विभिन्न कारणले एउटा ठूलो हिमचट्टानको ढिस्का नै तल खसेको हुनसक्छ । तापक्रम बढ्दै गएकाले जमिन र बरफको सम्बन्ध टुटेको हुनसक्छ ।
अर्कोतर्फ ‘क्रिभासेस’ पनि कारण हुनसक्छ । हिमनदीमा स–साना छिद्र वा दरार हुनसक्छन् । अहिले हिमाली क्षेत्रमा हिमपातको साटो पानी पर्न थालेको छ । त्यस्ता छिद्र वा दरारहरूमा पानी परेमा तिनले हिउँको ढिक्का तल सार्नलाई लुब्रिकेन्टको काम गर्छन् ।
तापक्रम वृद्धिका कारण पछिल्लो समयमा उच्च हिमाली भेगहरूमा हिउँ पर्नुपर्ने ठाउँमा पानी परिरहेको देखिन्छ । त्यहाँ हिउँको साटो पानी पर्दा हिमनदीलाई थप हलचल बनाउन सघाउँछ । यदि उच्च हिमाली भेगमा चिसोपन रहेछ भने त त्यहाँ परेको पानी जमिहाल्छ । तर तापमान बढेको रहेछ भने छिद्रहरूबाट पसेको पानीले चट्टानको तलपट्टिको भाग चलायमान बनाउन सहयोग गर्छ ।
पछिल्लो समय ‘प्रमा फ्रस्ट’का बारेमा बहस र छलफल हुन थालेको छ । करिब पाँच हजार मिटरको उचाइ रहेको हिमाली क्षेत्रमा प्रमा फ्रस्ट छ भन्ने गरिन्छ । त्यसको अर्थ स्थायी रूपमा चिसिएको जमिन (पर्मानेन्टली फ्रोजन ग्राउण्ड) भन्ने हो । त्यहाँको जमिनको तापक्रम जहिले पनि शून्य डिग्रीभन्दा कम नै हुन्छ ।
त्यसैले यहाँको जमिनले बरफ र हिउँलाई कसेर राखेको हुन्छ । त्यहाँ माटो वा चट्टान जे भएपनि हिउँ वा बरफसँग बाँधिएर रहेको हुन्छ । तापक्रम बढ्दै जाँदा त्यसले भुईं वा जमिनको सतहमा रहेको हिउँलाई पगाल्ने काम गर्छ । यदि त्यो भागको हिउँ वा बरफ पग्लिंदै गयो भने हिमनदीहरू झर्न थाल्छन् । भौगोलिक रूपमा कतिपय ठाउँमा चट्टानहरू कमजोर हुनसक्छन् ।
हिमपहिरो नियमित प्रक्रिया हो । विभिन्न कारणले नियमित रूपमा स–साना हिमपहिरो गएका हुन्छन् । स्थलगत अध्ययन र अरू विषय थप अनुसन्धान नगरी त्यसको कारणबारे निर्क्योल गर्न सकिंदैन ।
जोखिमपूर्ण अवस्थामा रहेका हिमतालको पहिचान गर्न सजिलो थियो । जुनसुकै ठाउँमा रहेको हिमनदी यसरी अचानक खस्न थालेपछि आगामी दिनमा जुनसुकै ठाउँमा जतिबेला पनि पहिरो खस्ने खतरा हुने भयो; हैन ?
हिमनदी र हिमपहिरोको कुरा गर्दा जलाधार क्षेत्रमा उच्च जोखिम रहेको देखिन्छ । हिमनदी र हिमतालबाटै नेपालका कैयौं ठूला खोलानाला शुरु भएका छन् । यो घटनाले हामीले अनुमान नै नगरेको ठाउँमा यस्तै घटना हुनसक्छन् भन्ने देखाएको छ ।
खुम्बु क्षेत्रको माथिल्लो भागमा यस्तै हिमनदीहरू छन् । कतिपय ठाउँमा त हिमपर्वत झुण्डिएर रहिरहेका देखिन्छन् । जतिबेला पनि झर्न सक्ने तिनीहरूले तल्लो तटीय क्षेत्रमा कुनै पनि बेला असर गर्न सक्छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मका कैयौं ठाउँमा यो खालको जोखिम देखिन्छ ।
अब नयाँ थपिएको चुनौती भनेको तिनीहरूको पहिचान गर्ने अनि कुन ठाउँ र बस्तीहरू जोखिममा छन्, त्यसका आधारमा उनीहरूलाई सुरक्षित बनाउनु नै हो ।
भारतको चमोली र अहिलेको रसुवागढी बाढी । दुवैमा विशेषज्ञहरूले कुनै हिमताल विस्फोटको अनुमान गरेका थिए । तर पछि भने ग्लासियर कोल्याप्स (हिमनदी खसेको) पुष्टि भयो । अब भने अनुसन्धानकर्ताहरूले हिमताल विस्फोटको सम्भावनाका साथसाथै हिमपहिरोलाई पनि उत्तिकै प्राथमिकता दिएर हेर्लान्; हैन ?
हो । अब हिमपहिरो र चट्टान झर्ने पनि अनुसन्धानको प्राथमिकताको विषय बन्नेभयो । हुनत उच्च हिमाली क्षेत्रबाट चट्टान, हिउँ, बरफ वा ढुंगामाटो झर्ने प्रक्रियालाई पनि हिमपहिरोका रूपमा बुझ्ने गरिन्छ । हिमाली क्षेत्रहरूमा यस्तो सबै जोखिमका सम्भावना छन् । हिमताल जोखिमपूर्ण हुन्, तर ती मात्रै नभएर हिमजन्य अरू घटना पनि जोखिमपूर्ण छन् ।
हिमाली क्षेत्रमा हिउँ पर्ने, त्यो थुप्रिंदै जाने अनि हिमनदी बनेर तल बग्ने प्रक्रिया कस्तो हुन्छ ? यदि हिमनदी स्वाभाविक रूपमा नबग्ने हो भने त हिमाली क्षेत्रमा थुप्रिने हिउँ त जहिले पनि हिमपहिरोको रूपमा तल खस्ने सम्भावना हुनेभयो; हैन ?
कम तापक्रमको ठाउँमा पानी परिरहेको हुन्छ, त्यो जमिनमा पुग्छ, भिज्छ र बग्छ । कम तापक्रम भएको हिमाली क्षेत्रमा पानीको साटो हिउँ पर्छ र जमिनमा थुप्रिन्छ । हरेक वर्ष त्यहाँको जमिनमा परेको हिउँ थुप्रिंदै जान्छ । विस्तारै त्यसरी थपिएको हिउँ आफ्नै तालका कारण खाँदिन्छ र बरफ बन्न थाल्छ ।
हरेक वर्ष बरफ बन्दै जाँदा कालान्तरमा त्यसले भिरालो ठाउँ पायो भने विस्तारै बग्न थाल्छ । त्यसलाई नै हामीले हिमनदी भनेका हुन्छौं । हिमनदीको आफ्नै जीवनचक्र हुन्छ । हिउँ पर्छ, त्यो थिचिएर बरफ बन्छ, अनि विस्तारै ओरालोमा झरेर हिमनदी बन्छ । तल्लो भेगमा पुगेपछि तापक्रम बढ्छ अनि बरफ पग्लिन्छ । माथि हिउँ बन्ने र तल बरफ पग्लिने प्रक्रिया निरन्तर भइरहेको हुन्छ ।
एउटा हिमनदी नियमित रूपमा चलेको छ कि छैन ? अथवा ऊ स्वस्थ छ कि छैन भनेर हेर्न हिमनदी बन्ने र पग्लिने प्रक्रिया बराबर रूपमा भएको हुनुपर्छ । कुनै वर्ष तातोपन बढ्यो भने हिउँ पग्लिने क्रम पनि बढ्छ ।
हिमनदी बन्ने र पग्लिने नियमित प्रक्रिया हो । तर हिमपहिरो फरक कुरा भयो । उच्च हिमाली क्षेत्रमा बनेको बरफ विस्तारै पग्लेर जान पाएर र सिधै भिरालो क्षेत्रबाट खस्यो भने त्यो हिमपहिरो भयो । त्यस्तो अवस्थामा हिमपहिरोको हिउँले हिमनदीको चक्र पूरा गर्न पाएन ।
वैज्ञानिकहरू बढ्दो तापमानलाई हिमाली क्षेत्रको प्रकोपको प्रमुख कारक मान्छन् । तर नेपालमा त्यो तहमा तापमान वृद्धि र हरित ग्यास उत्सर्जन गर्ने गतिविधि भएका छैनन् । विकसित मुलुकहरूले गरेको गल्ती हामीले भोग्नुपरेको हो ?
विश्वको तुलनामा नेपालको तापक्रम बढिरहेकै देखिन्छ । अरूले गरेको गल्ती हामीले भोग्नुपरेको छ भनिरहेका हुन्छौं । नेपालको हरितगृह ग्यास उत्सर्जन शून्य दशमलव पाँच प्रतिशत मात्रै छ, जुन निकै नगन्य हो ।
तर अन्य क्षेत्रको तुलनामा उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर बढी नै छ । त्यसमा कसको भूमिका कति छ भन्ने अर्को बहसको विषय बन्छ ।
रसुवागढीदेखि मलेखुसम्मको घटना भयो भने हामीले थेग्न नसक्ने रहेछौं । अब समुदायलाई कसरी जोगाउन सकिन्छ ?
भौगोलिक अवस्थाले पनि हामी प्राकृतिक प्रकोपबाट प्रभावित हुने ठाउँमा छौं । यस्तो अवस्थामा हामी प्रकोपबाट जोगिनुपर्ने गरी तयारीका साथ बस्नुपर्छ । अहिलेसम्म हेर्दा, बस्ती र संरचना निर्माणमा यस्तो जोखिमलाई आकलन गरेको देखिंदैन ।
अहिले नोक्सान भएका हाम्रो अधिकांश बस्ती सबै खोलाको छेउछाउमा थिए । बस्तीहरू अलिकति सुरक्षित ठाउँमा भइदिएको भए अवश्य पनि क्षति कम हुनेथियो । त्यो पक्षलाई हामीले समेट्न नसकेको हो कि भन्ने देखिन्छ ।
जहाँ बस्ती छन्, तिनलाई पूर्ण रूपमा सार्ने वा हटाउन मिल्दैन । त्यस्तो अवस्थामा हामीले क्षतिलाई कसरी न्यूनीकरण गर्ने ? भन्ने सोच्नुपर्छ । यस्तो घटना आगामी दिनमा पनि हुनसक्छ । हामीले न्यूनीकरण कसरी गर्ने ? त्यतातिर ध्यान दिनुपर्ने हुन्छ ।
कुन कुन ठाउँ जोखिमपूर्ण छन् ? त्यसको नक्शांकन हुनुपर्छ भन्ने लाग्छ । पूर्वसूचना प्रणाली पनि आवश्यक छ । जोखिमपूर्ण ठाउँमा हुने बस्ती विस्तारलाई निरुत्साहित गर्नुपर्छ । सरकारले भू–उपयोग नीतिलाई स्पष्टसँग कार्यान्वयन गर्नुपर्छ ।

पीडित क्षेत्रका बासिन्दाहरूले पुर्खौंदेखि हामी यहीं बसेका हौं, पुर्खाले पनि नदेखेको विनाश भयो भन्दैछन् । हुन पनि दुई/तीन सय वर्षयता यस्तो घटना भएको थिएन । कसरी यो तहको क्षतिको कल्पना गरेर सतर्क हुनु ?
पृथ्वीको इतिहास हेर्दा मानव जीवन निकै छोटो अवधिको हो । छोटो कालखण्ड हेरेर हामीले निर्णय गर्नु उचित नहोला । बाजेको पालादेखि केही भएको छैन, यो ठाउँ सुरक्षित छ भनेर निष्कर्ष निकाल्न नहुने रहेछ ।
सोलुखुम्बुको थामेमा नै खोला बग्ने ठाउँ छेवैमा घरहरू बनेका थिए । ठूलो बाढी आउँदा खोला बग्ने बाटो नै त्यही थियो । पछिल्लो केही पुस्ताले यस्तो प्रकोप देखेनन् होला । तर कुनै न कुनै समयमा त यस्ता घटना भएका थिए होलान् ।
हाम्रा पुर्खाहरू प्राय: डाँडातिर बस्थे । पुर्ख्यौली ज्ञानलाई उनीहरूले लागू गरिरहेका थिए । खोला किनारामा विस्तार भइरहेका बस्ती र अरू गतिविधिले पनि जोखिम बढाएको हो कि ?
घटनापछि तपाईंले नेचर जर्नलमा अर्लि वार्निङ सिस्टम (पूर्व चेतावनी प्रणाली) रहेको भए क्षति कम गर्न सकिन्थ्यो भन्नुभएको छ । यस्तो उपद्रवयुक्त घटनामा कस्तो पूर्वसूचना प्रणाली प्रभावकारी होला ?
पछिल्लो समय अर्लि वार्निङ सिस्टमका प्रयासहरू भएका छन् । मुख्य मुख्य नदीमा पानीको सतह नाप्न सेन्सरहरू राखिएको छ ।
इम्जा, च्छो–रोल्पा लगायत केही हिमतालहरूमा सेन्सर र साइरन राख्ने, पानीको सतह घटाउने कामहरू भएका छन् । केही ठाउँमा पूर्वसूचना प्रणाली पनि विकास गरिएको छ । तर यस्ता प्रयास आफैंमा पर्याप्त छैनन् ।
हिजोको तुलनामा अब हामी बहुजोखिमपूर्ण अवस्थामा पुगेका छौं । कुन ठाउँमा कस्तो पूर्वसूचना प्रणाली आवश्यक हुन्छ भनी पहिचान गरेर त्यस्ता संयन्त्र जोड्नुपर्छ ।
यस्ता आकस्मिक र ठूला घटनामा पूर्वसूचनाले काम गर्दैन कि भन्ने पनि आशंका छ । तर विपत्को बेलामा केही मिनेट पनि आफैंमा निकै महत्वपूर्ण हुन्छ । रसुवागढी वा त्यतैतिर सेन्सर राख्न सकेको भए वा त्यहाँ रहेको सूचना प्रणाली प्रभावकारी रहेको भए तल रहेका धेरै मानिसको ज्यान जोगिन्थ्यो कि ?
यस्ता घटना नभोगेकाले पनि हामी हुनुपर्ने जति सजग नभएका हौं कि ? यो तहको बाढी त कसले कल्पना गरेको थियो र ? अब समुदायलाई सचेत बनाउन र जोगिने उपायका संयन्त्रहरू विकास गर्न आवश्यक छ । दूधकोशी बेसिन, तल्लो कर्णाली लगायत ठाउँमा पूर्वसूचना प्रणालीमा मानिसहरू अभ्यस्त भएका छन् ।
जलवायु न्यायका सन्दर्भमा यो घटनापछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग कस्तो कूटनीतिक व्यवहार गर्नुपर्छ होला ?
यस्तो अवस्थामा प्रविधि, ज्ञान लगायत कुरा महत्वपूर्ण हुन आउँछन् । कुनै पनि निर्णय गर्न सूचना एवं तथ्यांक चाहिन्छ । हामीले अन्तर्राष्ट्रिय समुदायसँग यो खालको डाटा माग्न सकियो भने पूर्वतयारी गर्न सकिन्छ ।
आर्थिक रूपमा पनि नेपालले क्षतिपूर्ति मागदाबी गर्न सक्छ । हुनत संयुक्त राष्ट्रसंघका विभिन्न कोपहरूमा छलफल भइरहेको हुन्छ । विकासशील मुलुकहरूको संरक्षणका लागि आर्थिक स्रोत जुटाउने प्रयासहरू हुनसक्छन् ।
हाम्रो जस्तो मुलुकले यो तहको क्षति खेप्नुपर्छ भने अन्तर्राष्ट्रिय समुदायमा क्षतिपूर्तिको मागदाबी समेत गर्न सक्छ । त्यस्ता मञ्चहरूमा आफ्नो भनाइ राख्न र वकालत गर्न नेपालले सहज पहुँच बनाउनुपर्छ ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4