News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीले स्याफ्रुबेसी, टिमुरे, नुवाकोट, धादिङ र तराईसम्म क्षति पुर्याएको छ, र हराएका पर्यटक, सुरक्षाकर्मी तथा सर्वसाधारणको यकिन तथ्यांक आएको छैन।
- प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङले बुधबारको विपत्तिप्रति चासो राखेका छन्, र चीनले उपप्रधानमन्त्रीलाई सीमा क्षेत्रको अवस्था बुझ्न पठाउने निर्णय गरेको छ।
- पत्रकार केदार शर्माले यो विपत्तिलाई ‘हिमाली सुनामी’ भनेका छन्, र विज्ञहरूले उद्धारपछि हिमाली क्षेत्रमा यस्ता संकटबारे अनुसन्धान गर्न आह्वान गरेका छन्।
स्याफ्रुबेसी, टिमुरे क्षेत्र हुँदै भोटेकोशी अनि त्रिशुलीले थालेको विनाश मध्य नेपालको तराई क्षेत्रसम्मै देखिएको छ । बुधबार साँझसम्म अनलाइनखबरको टिमले अनवरत रुपमा संकलन गरेका क्षतिका रिपोर्ट, दृश्य अनि थुप्रै स्थानीय पीडितहरूसँग गरेको कुराकानीका आधारमा हामी भन्न सक्छौं- सम्भवतः ०७२ को महाभूकम्पपछिको जनधन क्षति यो बाढीले दिलाएको हुनुपर्छ ।
समुद्रमा अकस्मात् आउने आँधीलाई सुनामी नाम दिने गरिन्छ । यस्तै हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा विभिन्न संकटले सिर्जेको परिणाम हो भोटेकोशी तथा त्रिशुली क्षेत्रमा देखिएको विपत्ति । यस क्षेत्रमा हराएका पर्यटकको संख्या अझै यकिन छैन । सुरक्षाकर्मी तथा सर्वसाधारण हराएका छन् । तिनको वास्तविक तथ्यांक यो सम्पादकीय लेख्दासम्म प्राप्त छैन । ७८ जनाको ज्यान, अनि सयौं बेपत्ता भएको पछिल्लो सूचना छ ।
अकस्मात् आएको यो अकल्पनीय संकटलाई पत्रकार केदार शर्माले हिमाली सुनामी नाम दिएका छन् । उनले यसका लागि केही सन्दर्भहरूको सहारा लिँदै यस्ता हिमाली सुनामीको क्रम अझै बढ्ने आकलन गरेका छन् ।
हिमाली क्षेत्रबाट निस्केका नदीहरूको प्रवाहबारे अध्ययन गर्दै आएका लेखक रमेश भुसालले मेलम्ची, रोशी वा दशकअघिको सेती बाढी देखेका नेपालीहरूले आजको विपत्तिलाई अकल्पनीय भन्न नमिल्ने तर्क गरेका छन् ।
उनले भनेका छन्– ‘हामीले कल्पना गर्न सक्नुपर्थ्यो त्यहाँ चुक्यौं । अहिले उद्दारमा जोड गरौं तर फेरि अर्कोपटक अकल्पनीय भनेर बस्ने अवस्था नबनाउँ ।’

तत्काललाई आकस्मिक उध्दार राहत तथा खोजबिनमै ध्यान दिनुपर्ने छ । संघीय सरकारले बुधबार यसका लागि शीघ्र पहल लिएको देखियो । सरकारको पहलमा सबै दल, निजी क्षेत्र, पेशाकर्मीहरू तथा सबै खाले समुदाय जोडिन आवश्यक छ । प्रदेश र स्थानीय सरकार पनि केन्द्रसँग समन्वय गर्दै अघि बढ्दा पीडितहरूले छिटो उध्दार तथा आवश्यक सहायता पाउन सक्छन् ।
चीन–नेपाल सीमा क्षेत्रमा उत्पन्न यो संकटको गहिराई बुझेरै हुनुपर्छ चिनियाँ राष्ट्रपति सी जिनपिङ, अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले बुधबारको विपत्तिबारे चासो राखेका छन् । चीनले उपप्रधानमन्त्रीलाई सीमा क्षेत्रको हाल बुझ्न पठाउने निर्णय गरेको छ । भारतका प्रधानमन्त्री मोदीले नेपाली समकक्षी बालेन शाहलाई फोन गरेका छन् ।
रसुवा बाढीले नुवाकोट र धादिङमा गराएको क्षति देख्दा जोकोही आत्तिन्छन् । अनलाइनखबरको टिम बुधबारै त्यसतर्फ गइसकेको छ । प्रारम्भिक क्षतिको रिपोर्टसहित तस्बिर र दृश्य हामीले प्रकाशन गरिसकेका छौं । थप गर्दै जानेछौं । भ्रामक सूचनाको महामारीबाट बच्न र तथ्यपरक सूचनामा मात्रै भर पर्न हामी सबै पाठकगणमा अपिल पनि गर्छौं ।
र, आजसम्म तपाईंहरूबाट प्राप्त विश्वासलाई हामी थप वृद्धि गराउँदै लैजान प्रतिबद्ध छौं । विपद्मा गलत र भ्रामक सूचनाले पीडित र तिनका आफन्तलाई झन् पीडित गराउन सक्छ भन्ने यथार्थबोध गरौं । विपद्मा रमिता हेर्ने, अनि खिचिएका भिडियो र तस्बिर राखेर भाइरल हुने दौडमा नलागौं ।
बरु हामी जो संयोगले जीवित छौं, अनि हाम्रा आफन्त सुरक्षित छन्– बाढी पीडितलाई महसुस गरौं र सकेको उध्दार, राहतमा सामेल होऔं । संकटले हाम्रो मानवता र सामूहिकताको भावना कति छ भनेर परीक्षा लिइरहेको हुन्छ । त्यो परीक्षा नेपालीले फेरि एकपल्ट पास गर्नुपर्छ । हामी विपद्मा बाँच्न पायौं, तब त हाम्रो जिम्मेवारी अझ बढ्ता छ ।

यस विपत्तिसँगै केही प्रश्नहरू यति बेला सतहमा आएका छन् । के हिमाली क्षेत्रमा हिमताल विस्फोट भएका कारण बाढी आएको हो ? तिब्बती क्षेत्रमा भूकम्प गएका कारण यो बाढीको सिर्जना भएको चिनियाँ पक्षको आकलन छ । ५ म्याग्निच्युडभन्दा कमको भूकम्पले यत्रो विनाशको कारक बन्न सक्छ कि सक्दैन ? मानिसहरूका मनमा प्रश्न छन् । कतिले चाहिँ यसलाई ग्ल्यासियर लेक आउटबस्र्ट अर्थात् विगतको जस्तो ग्लोफ हो भनेका छन् ।
त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्री रन्जन दाहालले हामीसँग कुराकानीका क्रममा ठहर गरेका छन्– ‘मैले आजसम्म यति ठूलो बाढी देखेको थिइनँ । र, माथिल्लो भागबाट आएको बाढी यति विध्वंशक भएको अनुमान पनि गरेको थिइनँ । यति ठूलो, अग्लो र बिस्फोटक रुपमा बाढी आएको मैले देखेको थिइनँ ।’
बाढी भोटेकोशीमा देखिए पनि ल्हेन्दे खोलाबाट यो प्रकट भएको हुनसक्ने आकलन विज्ञहरूको छ । यसैगरी ०८२ असारमा ल्हेन्देमा अचानक बाढी आउँदा ९ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता भएका थिए ।
चिनियाँ पक्षले पनि यो विपत्तिको अध्ययन गरिरहेको छ । उनीहरू पनि टुंगोमा पुग्न सकेका छैनन् । विपद्का बेला समयमै सूचना आदानप्रदान गर्ने सहमति नेपाल र चीनका सरकारहरूले गरेका छन् । यो विपद्मा त्यसको भरपर्दो कार्यान्वयन हुन पाएको भने देखिएन । यसको पनि सम्भवतः समीक्षा होला ।

यस्तै खालका विपत्ति भारत उत्तराखण्डको केदारनाथमा सन् २०१३ मा गएको थियो । त्यसपछि हिमाली क्षेत्रमा अचानक उत्पन्न हुने यस्ता प्राकृतिक संकटहरूको कारण र निदानबारे बृहत्तर बहस पनि भएको छ । नेपाल पूर्वदेखि पश्चिमसम्मै हिमालहरूबाट घेरिएको देश हो । भारत र यो क्षेत्रका कुनै पनि देशभन्दा बढ्ता संकट हामीलाई छ । हिमाली क्षेत्र नेपालका धन हुन् । तर यो धनलाई ठिक ढंगले खर्च गर्न जानिएन भने यिनैले हामीलाई संकटउन्मुख गराउँछन् ।
पहिलो तत्काल पीडितको खोजबिन, उद्धार र राहतको जरुरी छ । समुदायहरूलाई सम्हाल्न समुदाय नै जाग्नु परेको छ ।
त्यसपछि हामी नेपाल र बाहिरका अध्येताहरूलाई गहिराईसम्म पुगेर अनुसन्धान गर्न आह्वान गरौं । हामी यस्ता संकटहरू निरन्तर झेल्न सक्दैनौं । जति पूर्वाधारहरू केही घण्टाभित्र बगेर गए, ती बनाउन सम्भवतः दशकौं लाग्न सक्छ । सिंगै जिल्ला सम्पर्क विच्छेद हुन पुगेका घटना सामान्य होइनन् ।
यहाँनेर नेपाली समुदायको परीक्षा पनि सँगै भइरहेको छ । कप्तानगन्ज सुनसरीबाट साम्प्रदायिकताको आगो सल्काउन खोजिँदा हिमाल र पहाडले पनि चासो राखेका थिए । तराई मधेसका क्षेत्रमा बाढीले ल्याउने विपत्ति नियमितजस्तै समस्या हुन् । यस्तै विपत्ति यति बेला हिमाल र पहाडले खपेका छन् । मधेससहित तीनै भेग यस बेला एक अर्कालाई सघाउन, हात दिन जाग्नुपर्छ ।
नेपाली समुदायको सामूहिक शक्ति भनेको यही नै हो । यसको खोजी यस्तै संकटका बेला अझै बढी हुनेगर्छ । फेरि पनि अनुरोध छ : हाम्रा बीचमा कुनै मतभेद वा विवाद छन् भने तिनलाई बिर्सेर हातेमालो गरौं । हाम्रो दायित्व यति बेला आफ्ना नागरिकहरूमाथि, अनि विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरूप्रति धेरै छ । त्यसैले हामी जो बाँचेका छौं– हिमाली सुनामीका सबै पीडितलाई मन खोलेर सघाउँ ।
प्रतिक्रिया 4