News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको बेत्रावतीमा बाढीले विस्थापित परिवारहरू घरबासविहीन भई केराघारी र गाउँलेको आँगनमा आश्रय लिएर बसेका छन्।
- बाढीमा परेर गम्भीर घाइते भएका इन्द्रमाया डंगोलका छोरा काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन् भने उनको परिवारको सम्पर्क टुटेको छ।
- विस्थापितहरूले खानेकुरा, अस्थायी आवास र सरकारी राहत तत्काल आवश्यक भएको बताएका छन्।
१२ भदौ, नुवाकोट (बेत्रावती) । बस्ने घर छैन । परिवारका सदस्य सम्पर्कका छैनन् । फर्किएलान् कि भन्ने झिनो आशा छ । कोही आफन्त भेटिन्छ कि भनेर खोजिरहेका छन् । शरीरमा बालुवा र माटो लेपिएको छ । फेर्ने कपडा छैन ।
नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित भएकाहरू ११ गते साँझ हामी पुग्दा बासको खोजीमा थिए ।
‘हिजो केराघारीमा गएर बस्यौं । आज पनि त्यतै जाने हो,’ इन्द्रमाया डंगोलले सुनाइन् । साँझ परेपछि बेत्रावतीबाट तीन घण्टाको दुरीमा रहेको केराघारीतर्फ लाग्यो १५–२० जनाको टोली ।
बेत्रावतीमा डंगोल परिवारको मात्र १०० भन्दा बढी घरधुरी थिए । बाढीले कतिलाई बगायो । कति सम्पर्कमा छन् । यकिन तथ्यांक छैन । तर बाढी आएको दिन १० गते ५० जना जति केराघारीमा गएर बास बसेका थिए । दोस्रो दिन ३० जना जति थिए ।
‘यहाँ नबस्ने भनेर कोही हिँड्दै काठमाडौंतिर लाग्नु भयो । कोही विदुरतिर जानु भएको छ । हामी जाने ठाउँ नभएर यतै बसेका छौँ,’ डंगोलले भनिन्, ‘खुला आकाशमुनि बास छ ।’

उनलाई बासको भन्दा पनि छोराको चिन्ता छ । बाढीमा परेर गम्भीर घाइते भएका छोरालाई उद्धार गरेर काठमाडौं लगिएको छ । ‘तीन दिन भयो । छोराको उपचार ट्रमा सेन्टरमा भइरहेको छ भन्ने सुनेको छु । कुरा हुन पाएको छैन । फोन लाग्दैन,’ उनी छोरालाई निको होस् भनेर कामना गर्छिन् ।
भागेर बाँचेका प्रत्येकले कोही न कोही गुमाएका छन् । कोही घाइते छन् । ‘१०० भन्दा बढी घरधुरी थियौं । अहिले यहाँ आएका जति छन्, यिनै हुन् । अरू कोही पनि छैनन्,’ नारायणलाल डंगोलले भने, ‘कोही जंगलमै छन् भन्ने छ । तर सम्पर्क हुन सकेको छैन । धेरैजसोलाई बगाएको छ ।’
बेत्रावतीमा आज गाईजात्रा र जनैपूर्णिमा भव्य रूपले मनाउने तयारी थियो । तर बाढीले उनीहरूलाई घरबारविहीन बनायो ।
‘ठूलो जात्राको तयारी गरेका थियौं । तर यहाँ घाट जस्तो भएको छ । गाउँलेको घरमा आश्रय लिएर बसेका छौँ,’ योगेश डंगोलले भने, ‘आज कस्तो अवस्थामा बस्नुपर्यो, हेर्नुस् न ।’

गाउँलेको घरमा आश्रय लिन पुगेकारूलाई बाढीको तर्कनाले उत्तिकै सताइरहन्छ । ‘निद्रा लाग्दैन। आँखा चिम्लियो कि त्यही सम्झिन्छु । निदाउन सकिरहेको छैन । हिजो पनि सुत्न सकिनँ । कसरी गएँ, कसरी आएँ, कसरी यहाँ आइपुगेँ, केही थाहा छैन । हिंड्नसमेत सकिरहेको छैन,’ डंगोलले भने ।
स्थानीय सुना तामाङले विस्थापितहरूलाई बिहान-बेलुका खाना खुवाएकी छिन् । ‘पहिलो दिन ५०–६० जना हुनुहुन्थ्यो । ग्यास सकियो । आगोमा पकाएर भए पनि खुवाएकी छु,’ उनले भनिन्, ‘सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्यो ।’
बाढीले सबै पुरिएकाले खाने सामलसमेत विस्थापितहरूसँग छैन । ‘घरै छैन । खाने सामल कहाँ हुनु ? कसरी बाँच्ने हो थाहा छैन । बाँच्नेहरूलाई पीडामाथि पीडा छ,’ नारायणलाल डंगोलले भने, ‘यहाँ राहतको आवश्यकता छ ।’
विस्थापित भएकाहरू सुना तामाङको घरको आँगनमै रात गुजार्न विवश छन् । विस्थापितहरूलाई तत्काल अस्थायी आवासको आवश्यकता छ ।
‘भोलि कहाँ जाने, कहाँ बस्ने हो थाहा छैन । बेघरबार भएका हामीलाई अब सरकारले हेर्ला त ? आजसम्म सरकार आएको छैन,’ इन्द्रमायाले भनिन् ।





प्रतिक्रिया 4