News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकम र एनसेलका १ सय ८५ मोबाइल साइट रसुवा, नुवाकोट र धादिङमा पुनः सञ्चालनमा आएका छन् ।
- बाढीका कारण अवरुद्ध १ सय ९८ बीटीएस/मोबाइल साइटमध्ये अझै १३ साइट पुनः सञ्चालनमा आउन बाँकी छन् ।
- रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे, गत्लाङ र चारघरे साइटबाट सीमाक्षेत्र र आसपासका स्थानमा सेवा पुनः सुरु भएको छ ।
१५ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलका १ सय ८५ साइट पुन: सञ्चालनमा आएका छन् ।
कम्पनीहरूका अनुसार रसुवा, नुवाकोट र धादिङमा कुल १ सय ९८ बीटीएस/मोबाइल साइट सेवा अवरुद्ध थियो । आज साढे ३ बजेसम्मको तथ्यांक अनुसार १ सय ८५ साइट पुन: सञ्चालनमा आइसकेका छन् । अब १३ साइट पुन: सञ्चालनमा आउन बाँकी छ । यससँगै बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनर्स्थापना हुनेछ ।
रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइट सञ्चालनमा आएका छन् ।
त्यसैगरी नुवाकोट चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट छन् । रसुवा बोर्डर बीटीएस साइट मार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुन: सञ्चालनमा आएका छन् ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो गाउँपालिका–५ लगायत स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थान बेत्रावती, काउली, त्रिशूली थ्री बी, उत्तरगया गाउँपालिका र किस्पाङ छन् । जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थान कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा छन् ।
त्यसैगरी गत्लाङ बीटीएस साइट मार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम छन् ।
यस्तै चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा मोबाइल सेवा पुन: सुरु भएको छ ।
प्रतिक्रिया 4