१५ भदौ, काठमाडौं । युनिफिकेसन चर्च (युनिफिकेसन पिस फेडरेसन) की प्रमुख हाक जा हानलाई सियोलस्थित सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले दुई वर्ष जेल सजाय सुनाएको छ ।
अदालतले अवैध राजनीतिक चन्दा दिएको र एक पूर्वप्रथम महिलालाई घुस दिएको अभियोगमा दोषी ठहर गरेको हो ।
बीबीसीका अनुसार अभियोजनकर्ताहरूले अनुसन्धानका क्रममा पहिलोपटक चर्चले राजनीतिमा आफ्नो प्रभाव खरिद गर्ने प्रयास गरेको पुष्टि भएको बताएका छन्।
उनीहरूले हानको व्यक्तिगत सेफबाट भेटिएको एक करोड ९० लाख अमेरिकी डलर बराबरको नगदको तस्वीर पनि सार्वजनिक गरेका थिए।
हानको युनिफिकेसन चर्चको प्रभाव नेपालसम्म आइपुगेको थियो । पूर्वमन्त्री एकनाथ ढकालले नेपाल परिवार दल नामक पार्टी सञ्चालन र निर्वाचन खर्च भनेर यो चर्चसँग १० लाख २० हजार डलर माग गरेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।
अनलाइनखबरले उक्त रिपोर्ट कोरियन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म, नेपाली टाइम्स र दुनियाँ एसियाको सहकार्यमा तयार परेको थियो।
काठमाडौंमा आयोजित एसिया-प्यासिफिक समिट २०१८ को अध्यक्षता हानले गरेकी थिइन् । त्यही सम्मेलनपछि होलीवाइन शब्दको व्यापक प्रचार भएको थियो ।
ढकालले नेपालका तीन जना पूर्वप्रधानमन्त्रीको नाम जोडेर चर्चसँग सहयोग मागेका थिए ।
प्रतिक्रिया 4