News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको बेत्रावतीमा बाढीले सयौं घरधुरी प्रभावित हुँदा सयभन्दा बढी मानिस सम्पर्कविहीन र धेरै घर भग्नावशेषमा परेका छन्।
- स्थानीयका अनुसार बाढीअघि प्रभावकारी उद्धार र जोखिम सूचना नपुग्दा ठूलो मानवीय क्षति भएको छ।
- विस्थापितहरू खुला आकाशमुनि वा छिमेकीको घरमा आश्रय लिएर राहत, अस्थायी आवास र शव व्यवस्थापनको प्रतीक्षामा छन्।
१३ भदौ, नुवाकोट (बेत्रावती) । कोही आफन्त खोजिरहेका छन्, कोही शव निकालिरहेका । कोही आफ्नो ढलेको घर हेरेर आँसु झारिरहेका थिए । भग्नावशेष घरहरूमा शव च्यापिएका थिए । बाढीले बगाएर ल्याएका शवहरू खोला किनारामा देखिन्थे । बाक्लो बस्तीमा लेदो र गेग्रान भरिएको थियो ।
‘परको रातो घरमा सानो बच्चा छ । कसरी जाने होला । कतै जिवितै पो भेटिन्छ कि,’ ३०–३५ जनाको टोली उपाय खोजिरहेका थिए । तर त्यो घरमा पुग्न सम्भव थिएन ।
बाढी आएको भोलिपल्ट ११ गते दिउँसो अनलाइनखरबको टिम बेत्रावती पुग्दा उद्धारमा खटिइरहेका थिए, आशिष तामाङ । तर, त्यहाँ राज्यको उपस्थिति थिएन । उनले त्यो घरमा जाने प्रयास गरे । हिलो र गेग्रानले उनी जान सकेनन् ।
‘पारिपट्टी १५ पटक हेली बस्यो तर बेत्रावती बजारमा एक पटक पनि आएन,’ उनले सरकारसँग गुनासो गर्दै भने, ‘सयममा उद्धार भएको भए धेरैलाई बचाउन सकिन्थ्यो । अहिले बस्ती नै रित्तो भएको छ । घरसँगै मान्छे पनि बगेर गए ।’
परसम्म उद्धारको लागि जान सम्भव थिएन, हामीले ढलेका घरहरूमा ड्रोन पठायौं । तर कोही पनि फेला परेनन् । केहीबेरअघि बेत्रावतीको घण्टाघरबाट आशिषले भाउजुको शव निकालेका रहेछन् । जहाँ एनआइसी बैंक थियो, त्यहीँ कार्यरत थिइन् उनकी भाउजु ।
अरु कर्मचारी भाग्न सफल भएपनि उनकी भाउजु बाढीको भेलमा परेकी थिइन् । बेत्रावतीका सयौं घर परिवार बाढीमा परेका छन् तर संख्या यकिन भएको छैन ।
खण्डहर बेत्रावती
पहिलेको बस्ती अहिले बगर बनेको छ । बीचमा घण्टाघर मात्र ठडिएको देखिन्छ । तर, घण्टाघरमा घण्टी बजेको छैन । घडीको मात्र होइन मान्छेको चाल पनि छैन बस्तीमा ।
घण्टाघरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म प्रत्येक घण्टा घण्टी बज्थ्यो । मानिसले समयमा थाहा पाउँथे । तर त्यसदिन बाढी आउने समय उनीहरूले थाहै पाउन सकेनन् । र, बस्ती शून्यमा पुगेको छ ।
योगेश डंगोलले घण्टाघरबाट आमाको चिनो झिकेर ल्याए । आमाको फोटो फ्रेम र लेदोले लतपतिएको कपडा उनको हातमा थियो ।

‘कस्तो माया लाग्यो । आमाको यादको सामान हो । यादको लागि झिकेको हुँ,’ उनले भने, ‘लेदो पखाल्यो भने त जान्छ नि ।’ उनी लेदो लतपतिएको लुगा पखाल्न थाले ।
‘घरमा कोही पसेछन् । पैसा सुन थियो । बैंक पनि थियो । चोरी पो भयो जस्तो छ,’ उनले लख काटे । एकथान ब्यागमा केही बहुमुल्य सामान खोजिरहेका थिए । तर उनले त्यो झोलमा फेला पार्न सकेनन् ।
१७ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसिरहेका योगेश दुईसाता अघि मात्रै नेपाल आएका थिए । उनी हुर्किएको खेलेको ठाउँ हो बेत्रावती ।
‘तर यो बाढी विशाल थियो,’ आमाको हिलाम्य तस्बिर पुछदै उनले भने, ‘घर त बाँकी रहेन, घरमा भएको पासपोर्ट र केही महत्वपूर्ण कागजात भेटिन्छ कि भन्ने आश थियो तर अहिलेसम्म भेटेको छैन।’

स्थानीय चन्द्र तामाङका अनुसार बेत्रावती बजारमा नेवार समुदायका मात्रै सयभन्दा बढी घरधुरी थिए। बाँकी अन्य समुदायको गरेर २ सय बढी घर थियो । १ हजार बढी मानिस थिए । ‘१ सय जना पनि सम्पर्कमा छैनन्,’ ‘कतिको पूरै परिवार छैन । कतिको एक घरमा एक दुई सदस्य बगाएकै छ ।’
बाढीले बगाएपछि सुस्मा श्रेष्ठको बास र गासको ठेगान छैन । भागेर बाँचेकी उनी अब कहाँ बस्ने र के खाने भन्ने चिन्तामा थिइन् ।
‘त्यत्रो मेहनेतले बनाएको घर थियो। बगाएपछि कहाँ गएर बस्ने के गर्ने केही फुरेको छैन,’ आँशु पुछ्दै उनले भनिन्, ‘हामीलाई अब सरकारले हेरेन भने सडकबाहेकको विकल्प छैन। एक तले घर भएपनि सरकारले बनाइदेओस् ।’
सास र लास खोज्नेहरू
बस्ती नै तहसतनहस भएको खबर फैलिएपछि काठमाडौँबाट हुलका हुल मान्छेहरू आफन्त खोज्न बेत्रावती पुगिरहेका छन् । भएकै ठाउँमा घर नदेखिपछि उनीहरूको मन विचलित देखिन्छ । खोज्न गएकाहरू नै यताउती भौतारिइरहेका छन्।
भदौ ११ गते बिहानै काठमाडौँबाट हिँडेका सविन वाइबा भाइ खोज्दै सूर्यगढी गाउँपालिकाबाट बेत्रावती जाने बाटो सोधिरहेका थिए ।
बेत्रावतिस्थित उत्तरगया पल्बिक स्कुलको कक्षा सातमा अध्ययनरत उनका भाइ प्रिन्स वाइबा बाढी गएदेखि सम्पर्कमा छैनन् ।
‘भाइ स्कुल गएको भन्थ्यो। घरमा हजुरबुबा, आन्टी र भाइ मात्रै बस्थ्यो,’ सविनले भने, ‘अहिले को कता छ केही थाहा छैन।’

देशका हरेक ठाउँका मानिसहरू रसुवा र नुवाकोटमा यात्रारत थिए । कोही घुम्न । कोही तीर्थ गर्न गएका थिए । कोही व्यापार व्यवसायको लागि गएका थिए । उनीहरुसमेत बाढीको छालमा परेका छन् ।
सोही साँझ विवश श्रेष्ठ पनि काठमाडौँबाटै बेत्रावती आइपुगेका थिए । आमाबुबा बाढीमा बगेको खबर सुन्नेबितिकै उनी दाइसँग मोटरसाइकलमै बेत्रावतीका लागि हानिए। तर आउँदाआउँदै साँझ परेपछि उनी बेत्रावती झर्ने सकेनन्।
‘घर त गइयो । बुबाबारे त केही खबर छैन तर गाउँकै एकजना दाइले आमाको लाश एउटा पसलको तलपट्टी देखेको भन्नुभएको छ,’ रात बिताउन तल्लो केराघरीमा बसेका विवशले आफ्नो विवशता सुनाए । उनका बुबा ७२ र आमा ६५ वर्षकी थिइन् । घरमा बुबा आमासहित तीन जना थिए । उनको घरमा काका मात्र जोगिए ।
‘मन रोइ रहेको छ । सुत्न सकेको छैन । हिम्मत आएको छैन । बुबाआमा छैन । अब दाहासंसकार गर्ने हो कि होइन,’ उनी निराश सुनिन्छन् ।
घरबारविहीनहरू
बाढी आउनुभन्दा दुई घन्टा अगावै इन्द्रमाया डंगोल घर छेउको खेतमा घाँस काट्न गएकी थिइन् । श्रीमान पनि सँगै भएका कारण बाढी आइसकेको खबर दुवैजनाले एकैपटक थाहा पाए ।
दुवैलाई बाढीले भेट्यो तर अनेकन चोटपटक लागेर पनि दुवै बाँचे । श्रीमान श्रीमतीको ज्यान जोगिए पनि अहिले उनीहरूसँग केही छैन । बस्ने घर नै बाढीमा बगेपछि अर्काको घरमा शरण लिनुपरेको उनले सुनाइन् ।
‘गाउँका दिदीबहिनीले बास दिनुभएको छ । आफैं नखाएर पनि हामीले हेरचाह गरिरहनुभएको छ,’ इन्द्रमाया भन्छिन्, ‘अहिलेसम्म हामीलाई कतैबाट राहत आएको छैन ।सरकारको तर्फबाट कोही आउनुभएको छैन ।’
शारीरीक रूपमा इन्द्रमाया र उनका श्रीमानलाई बाढीले त्यति क्षति नगरेपनि उनका छोरालाई भने गम्भिर चोट लागेको छ ।

हाल उनको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा भइरहेको छ । ‘वडाध्यक्षले काठमाडौँ पुर्याउन सहयोग गरेको सुनेँ,’ उनले भनिन्, ‘तर मोबाइल नभएर कुरै हुनसकेको छैन।’
बुबा आमालाई बाढीको सूचना दिएर जोगिन भनेका उनको छोरालाई बाढीले घाइते बनायो ।
बल्लतल्ल बाँचेकी सीता लामिछानेको पनि घरबारविहीन बनेकी छिन् । घरका सदस्य सबै भाग्न सफल भएपनि देउरानी भाग्न सकिनन् । कता गएर बस्ने टुंगो नभएपनि सीता बिहानै ढलेको घर हेर्ने वेत्रावती पुग्छिन् । ‘मेरो त सबथोक गयो, बाँकी केही रहेन। देउरानी, घर, गाईं,भैंसी, बाख्रा, कुखुरा केही छैन्,’ उनी सुनाउँछिन्, ‘खाने के लाउने के बस्ने कहाँ केही थाहा छैन ।’
एक सेकेन्ड पनि भन्न भ्याएन्
७९ वर्षीय सुकुमाया तामाङ माइत आएको छोरीका कारण बाँच सफल भइन् । तर ७९ वर्षसम्म नदेखेको बाढीले उनलाई अहिले तर्साइरहन्छ ।
‘लगलग काम्छ । के आएको हो । यति दःख दिन सट्टा जन्म नै नदिएको भएको हुने । बाउ बाजेको पालोमा पनि यस्तो आएको थाहा थिएन,’ उनी रुन थालिन्, ‘छोरीले माथि डाँडासम्म ल्याएको भएर म बाँचे ।’
तर उनले छरछिमेकी सबै गुमाएको पीडा पनि उत्तिकै छ । ‘अरु रहेनन् । भएको जिलोपिलो सबै लग्यो । अर्काको सुन राखेको थियो । त्यो पनि बगायो । अब कसरी दिने हो थाहा छैन ।’
बेत्रावती बजारका अधिकांश बाढी देखेरै हुर्केका थिए तर यो खालको आउला भनेर सोचेका थिएनन् । जसका कारण ठूलो क्षति हुन पुग्यो । बाढी आइरहेको माइकिङ भएपनि सामान्य लाग्दै आएको बाढी जस्तै आउने प्रायको अनुमान थियो उनीहरूको ।

दिवश श्रेष्ठ केही स्थानमा प्रशासनबाट बाढी आइरहेको खबर पुगेपनि कस्तो खालको बाढी भएको सूचना नै पुग्न नसक्दा भारी क्षति भएको बताउँछन् ।
‘बाढी त बाढी भइहाल्यो तर कत्रो आउँदैछ भन्ने कुरा पनि भन्नुपर्थ्यो। यहाँका लागि त बाढी सामान्य नै भएर कसैले आकलन नै गर्न सकेन,’ उनी भन्छन्, ‘स्याप्रुबेंसी गयो, चिलिमे गयो, टिमुरे गयो र यहाँ पनि केही बाँकी रहन्नन् भनिदिएको भए यो खालको क्षति हुँदैन्थ्यो। यहाँ नजिक प्रशासनबाट कमजोरी भएको देखिन्छ।’
उनीसँग उत्तरगयाका सहप्रधानाध्यापक पवन शर्मा पनि सहमत हुन्छन् । ‘बाढीको स्वरूप बुझ्न नसक्दा अकपल्पनीय क्षति भयो । बाढी आइरहने ठाउँ भएरै हामी त्यति धेरै सिरियस नभएको हो,’ उनले भने, ‘नभए धेरै मान्छे जोगाउन सकिन्थ्यो।’
विद्यार्थी पनि परे
विद्यार्थीहरू विद्यालय पोशाकमा विद्यालयतिर लम्किरहेका थिए । होस्टेल बस्नेहरू ड्रेसमै भात खाइरहेका थिए । कतिपय खेलमैदानमा खेलिरहेका थिए । केही विद्यार्थीहरू सबेरैदेखि ट्युसन पढिरहेका थिए । शिक्षकहरू बाँकी कक्षाको सञ्चालनमा जुटिरहेका थिए । त्यहीबेला बाढी अयो । शिक्षकशिक्षिकाले कति विद्यार्थीलाई जोगाए । कतिलाई जोगाउन सकेनन् । शिक्षक शिक्षकासमेत बाढीमा परे ।
उत्तरगयाका सहप्रधानाध्यापक पवन शर्माका अनुसार विद्यालयमा कुल ३७० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए । तर विद्यालयको सम्पर्कमा जम्मा ४० प्रतिशत विद्यार्थी मात्रै छन् । स्थानीयका अनुसार बाढीमा चार वटा स्कुलको विद्यार्थी परेका छन् । ‘विद्यालय जाने समय थियो । कोही हिँडेर कोही गाडीमा थिए । बाटोमा जाँदाजादै बाढीले भेट्यो,’ स्थानीय इन्द्रमायाले भनिन् । स्कुल गएका छोरा छोरी लिन जाँदा अभिभावकसकेत बाटोमै बाढीले बगाएको छ । कति विद्यार्थीलाई बगायो भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन ।
जात्राको तयारीमा थिए तर…
बेत्रावतीमा ११ र १२ गते गाइजात्रा मनाउने भव्य तयारी थियो । तर बाढीले नेवार समुदायमा मात्र डढे सय जति सम्पर्कमा छैनन् ।
‘आज र भोलि जात्राको तयारी थियो । आज हेर्नुहोस् त शोकमा डुबेका छौँ । शून्य भएको छ,’ नारायणलाल डंगोलले भने । यो बस्तीमा तामाङ समुदायका पनि त्यति नै संख्यामा सम्पर्कका छैनन् । अरु पनि धेरै थिए ।
भागेर बाँचेका प्रत्येकले कोही न कोही गुमाएका छन् । कोही घाइते छन् । ‘१०० भन्दा बढी घरधुरी थियौं । अहिले यहाँ आएका जति छन्, यिनै हुन् । अरू कोही पनि छैनन्,’ नारायणलाल डंगोलले भने, ‘कोही जंगलमै छन् भन्ने छ । तर सम्पर्क हुन सकेको छैन । धेरैजसोलाई बगाएको छ ।’ उनको अनुमानमा यो बस्तीबाट मात्र १ हजार बढी बेपत्ता छन् ।

खुला आकाशमुनिको बास
बस्ने घर छैन । फेर्ने कपडासमेत छैन । बेत्रावतीबाट दुई घण्टामाथि केराघारी बस्ती छ । त्यो बस्तीमा आश्रय लिन पुगेका छन् विस्थापितहरू ।
‘हिजो केराघारीमा गएर बस्यौं । आज पनि त्यतै जाने हो,’ इन्द्रमाया डंगोलले सुनाइन् । बाढी आएको दिन १० गते ५० जना जति केराघारीमा गएर बास बसेका थिए । दोस्रो दिन ३० जना जति थिए ।
‘यहाँ नबस्ने भनेर कोही हिँड्दै काठमाडौंतिर लाग्नु भयो । कोही विदुरतिर जानु भएको छ । हामी जाने ठाउँ नभएर यतै बसेका छौँ,’ डंगोलले भनिन्, ‘खुला आकाशमुनि बास छ ।’
गाउँलेको घरमा आश्रय लिन पुगेकारूलाई बाढीको तर्कनाले उत्तिकै सताइरहन्छ । ‘निद्रा लाग्दैन। आँखा चिम्लियो कि त्यही सम्झिन्छु । निदाउन सकिरहेको छैन । हिजो पनि सुत्न सकिनँ । कसरी गएँ, कसरी आएँ, कसरी यहाँ आइपुगेँ, केही थाहा छैन । हिँड्नसमेत सकिरहेको छैन,’ डंगोलले भने ।

राहतको प्रतीक्षा
स्थानीय सुना तामाङले विस्थापितहरूलाई बिहान–बेलुका खाना खुवाएकी छिन् । ‘पहिलो दिन ५०–६० जना हुनुहुन्थ्यो । ग्यास सकियो । आगोमा पकाएर भए पनि खुवाएकी छु,’ उनले भनिन्, ‘सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्यो ।’
विस्थापित भएकाहरू सुना तामाङको घरको आँगनमै रात गुजार्न विवश छन् । विस्थापितहरूलाई तत्काल अस्थायी आवासको आवश्यकता छ ।
रोगको जोखिम
खोलाबाट दुर्गन्ध फैलन थालेको छ । शव मात्र होइन बाढीमा परेका पशुचौपया पनि उत्तिकै छ । यसको दुर्गन्धले अर्को जोखिम निम्ताएको छ ।
‘हात खुट्टा छुट्टिएका शवहरू छन् । गाई भैंसी कुखुरा बाख्रा पनि उत्तिकै छ । दुर्गन्ध आउन थालेको छ,’ स्थानीय चन्द्र तामाङले भने, ‘फेरि अर्को महामारीको जोखिम नआउला भन्न सकिन्नँ ।’ खोलामा रहेका शवको व्यवस्थापन गर्न स्थानीयको माग छ ।
‘राहत उद्धारको लागि सरकार आएको छैन । छिटै आएन भने थप गाह्रो हुने स्थिति छ,’ उनले भने । अनलाइनलखबरको टिम बेत्रावतीबाट फर्किदा तीन दिनपछि प्रहरीको टोली बेत्रावतीतर्फ लागेको थियो ।

भोटेकोशी बाढीबारे अनलाइनखबरले गरेका मुख्य रिपोर्टिङहरू–
प्रतिक्रिया 4