+
+
Shares
स्थलगत :

३७० विद्यार्थी पढ्ने उत्तरगया स्कुलको कथा : करिब आधा जोगिए, आधा अझै बेपत्ता

उत्तरगयाका सहप्रधानाध्यापक पवन शर्माका अनुसार विद्यालयमा कुल ३७० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए । तर विद्यालयको सम्पर्कमा जम्मा ४० प्रतिशत विद्यार्थी मात्रै छन् ।

आदित्य नेपाल आदित्य नेपाल
२०८३ भदौ १२ गते २०:४०
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको उत्तरगया पब्लिक स्कुलमा तिब्बततिरबाट आएको बाढीले ठूलो क्षति पुर्‍याउँदा विद्यार्थी र शिक्षकहरू भागाभाग भएका छन्।
  • विद्यालयका सहप्रधानाध्यापक पवन शर्माले ३७० भन्दा बढी विद्यार्थीमध्ये हाल ४० प्रतिशतसँग मात्र सम्पर्क भएको र २५–३० प्रतिशतलाई अभिभावकको जिम्मा लगाइएको बताए।
  • छोरा आयुष तामाङलाई बचाउन पुगेका नवराज तामाङ बाढीले बगाएपछि परिवारले उनलाई गुमाएको छ भने केही विद्यार्थी जंगलतिर भागेर ज्यान जोगाएका छन्।

१२ भदौ, बेत्रावती (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकास्थित उत्तरगया पब्लिक स्कुलमा कक्षा शुरू हुनुभन्दा अघि जे-जे स्वभाविक रूपमा भइरहन्थ्यो, भदौको १० गते पनि बिहानीपख त्यही भइरहेको थियो ।

विद्यार्थीहरू विद्यालय पोशाकमा सजिएर विद्यालयतिर लम्किरहेका थिए । होस्टेल बस्नेहरू ड्रेसमै भात खाइरहेका थिए । कतिपय खेलमैदानमा खेलिरहेका थिए ।

केही विद्यार्थीहरू सबेरैदेखि ट्युसन पढिरहेका थिए । शिक्षकहरू बाँकी कक्षाको सञ्चालनमा जुटिरहेका थिए।

त्यहीबेला कतैबाट आएको चर्को आवाज विद्यालयका भित्ताहुँदै शिक्षक र विद्यार्थीका कानसम्मै गुञ्जियो, ‘बाढी आयो, भाग… भाग…’ । ‘लग्यो… सबै लग्यो… भाग… भाग…’

यी आवाज सुने पनि कैयन विद्यार्थीले शुरूआतमा कुरै बुझेनन्। कतिपय शिक्षकहरू अक्क न बक्क भए।

तर जब खोलाको मुस्लोले आकाशै ढाक्यो तब ती शिक्षकहरूले जसरी पनि विद्यार्थीहरूलाई जोगाउनु पर्छ भन्नेतर्फ लागे ।

शिक्षकशिक्षिकाले गति बढाए र सबै विद्यार्थीलाई स्कुलभन्दा माथिल्लो डाँडातिर भाग्न भने। कक्षा ७ देखि १० कक्षा सम्मका कतिपय विद्यार्थी स्वस्फूर्त रूपमा आफै दौडे, कक्षा ६ भन्दा तलका विद्यार्थीहरूलाई शिक्षकशिक्षिकाले डाँडातिर लखेटे झैं गरे । कतिलाई काखै च्यापेर भागे ।

यद्यपी, चीनको तिब्बततिरबाट आएका विध्वंशकारी बाढीको अगाडि ती प्रयास सफल हुनसकेनन् । नजिकैको वनतिर भाग्ने विद्यार्थीहरूको त नजिक मात्रै पुग्न सक्यो बाढी तर जो भाग्न सकेनन् ती सबै एकै झट्कामा उही बाढीको वेगमा मिसिएर विलिन भए।

उत्तरगयाका सहप्रधानाध्यापक पवन शर्माका अनुसार विद्यालयमा कुल ३७० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए । तर विद्यालयको सम्पर्कमा जम्मा ४० प्रतिशत विद्यार्थी मात्रै छन् । ‘लगभग २५-३० प्रतिशतलाई हामीले अभिभावकको जिम्मा लगाइसकेका छौँ,’ शर्माले अनलाइनखबरसँग भने, ‘बाँकीको अभिभावकसँग कुरा भइसकेको छ।’

शर्मा अझै पनि विद्यालयको विपत्तिबाट माथि उठ्न सकेका छैनन् । विद्यालय आएका र पुन: घर नफर्केका विद्यार्थीहरूका अभिभावक उनलाई निरन्तर सम्पर्क गरिरहेका छन् ।

तर शर्मा ती अभिभावकहरूलाई सान्तवनाबाहेक केही दिन सकेका छैनन्।

‘विद्यार्थीका आफन्त देश र विदेश दुवैतिरबाट सम्पर्क गरिरहेका छन् । तर म आफैंसँग ती नानीबाबुहरूको रेकर्ड छैन,’ शर्मा भावकु हुँदै भने, ‘विद्यार्थी र शिक्षकको सम्बन्ध सधैं आत्मीय नै हुन्छ। एउटा विद्यार्थी गुम्दा पनि सिंगो परिवार गुमाएजस्तो भएको छ।’

उत्तरगयाकै अर्का शिक्षक सोमलाल डंगोल भने बाढीको चपेटामा कति विद्यार्थी परे भन्ने नै यकिन हुन नसकेको बताउँछन् । उनकाअनुसार ‘एसेम्बली’को समय भएर पनि धेरै क्षति हुनपुग्यो । ‘कसैले सोचेकै थिएन यत्रो ठूलो आउँछ भनेर,’ डंगोलले अनलाइनखबरसँग भने, ‘त्यहीभएर धेरै टाढासम्म भागेनन्, जब देखे अनि भाग्न सकेनन्।’

छोरा खोज्न हिंडेका बुबा नै बगे

बाढीको भयानक वेग आइरहेको थाहा पाए लगत्तै घरैमा भएका नवराज तामाङ सिधै उत्तरगयातर्फ हानिए । उनी ‍यसरी हानिनुको एक मात्र उद्देश्य थियो, केहीगरी उत्तरगयाको कक्षा १० मा अध्ययनरत आफ्नो छोरा आयुष तामाङलाई बचाउने । तर उनी विद्यालय नपुग्दै आफैं बाढीसँग बढारिए।

नवराजकी आमा मुङसी तामाङका अनुसार उनी बजारबाट भाग्दै घरतिर फर्किरहेका बेला छोरासँग कुरा भएको थियो। तर छोराले ‘आमा, म आयुष लिन आएको’ भनेपछि उनी शान्त भइन् । तर छिनभरमै मुङसीले अर्को खबर सुनिन्, ‘तिम्रो छोरालाई बाढीले बगायो।’

‘मेरो छोरोलाई खोलोले बगाइगयो,’ उनले भक्कानिंदै भनिन्, ‘दुईटा छोरा थिए, अब एउटा मात्रै बाँकी रह्यो।’

आयुषका अनुसार उनलाई बुबाले लिन आइरहेको खबर थिएन । उनी आफैं शिक्षकको सुझावअनुसार नजिकैको वनतिर भागेर ज्यान जोगाएका थिए ।

‘मसँग थोरै साथी भागेको थियो। बाँकीलाई के भयो केही थाहा छैन,’ आयुषले हजुरआमा मुङसीलाई नरूनु भन्दै सुनाए, ‘भाइबहिनी छैन । म एक्लै छु। बुबाले सधैं पैसा कमाएर घर बनाउनुपर्छ भन्नुहुन्थ्यो।’

जो बल्लतल्ल बाँचे

कक्षा १० मै अध्ययनरत सुजल लामा ट्युसन सकेर खाना खान जाँदै थिए। त्यहीबेला बाढी आएको होहल्ला भयो । शुरूमा सुजलले वास्ता नगरे जस्तोगरी खाना खानै अगाडि बढे ।

तर एकपटक खोलातिर हेरे सिधै वनतिर दौडिए।

‘सरले खोला आउँदैछ भनेपछि ठूलो खोला होइन होला जस्तो भएको थियो। तर धेरै ठूलो नै रहेछ। खान गएको भए बाढीले भ्याउने रहेछ’, सुजल भन्छन्, ‘हिजो वनमै रात बिताएँ । अहिले सरहरूले खाना खुवाउनुभयो । अब आज घर जाने।’

कक्षा आठमा अध्ययनरत रश्मी तामाङले पनि आफू बल्लतल्त बँचेको बताइन्।

उनकाअनुसार जंगलमा भाग्न भ्याएकैले उनी बाँच्न सफल भइन् । ‘हामी त हिलोमाटो लागेर पनि माथि उक्लियौं,’ रशमीले भनिन्, ‘तर धेरै बच्चाहरू भाग्नै सकेनन्।’

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?