+
+
Shares

अस्पतालमा पाँच वर्षीया इशारा : आफू जालीमा अड्किएर बाँचिन्, आमालाई बगायो

आमाको हात छुट्यो, आफू भेलमा परिन् र जालीमा अड्किएर बाँचिन् । अहिले शरीरका चोटको उपचार भइरहेको छ, तर उनको मनमा लागेको चोटको औषधि कहाँ छ ? आमा कहाँ छिन् ? बुवा कहाँ छन् ? र, आफूलाई लिन आफ्ना मान्छे कहिले आउँछन्, इशारालाई केही थाहा छैन ।

मनिषा थापा मनिषा थापा
२०८३ भदौ १२ गते १५:१४
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको खाल्टेमा बाढीमा परेर उद्धार गरिएकी पाँच वर्षीया इशारा तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
  • बाढीले आमालाई बगाएपछि जालीमा अल्झिएर बचेकी इशाराले \'ममीलाई बगायो । म हामफालेर अघि बढ्दा जालीमा अड्किएँ,\' भनेकी छन्।
  • परिवार सम्पर्कमा नआएपछि अस्पतालका स्वास्थ्यकर्मीले इशारालाई कपडा, खाना, औषधि र हेरचाह उपलब्ध गराइरहेका छन्।

१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको पेडियाट्रिक सर्जरी वार्डमा पाँच वर्षीया बालिका उपचाररत छिन् ।

शय्यामा आँखा बन्द गरेर पल्टिरहेकी ती बालिकाको घाँटीमा सपोर्टका लागि नरम पट्टी/कोलर र उपचारमा प्रयोग हुने उपकरण लगाइएको छ भने बायाँ हातमा क्यानुला छ । अनुहारमा निलडाम देखिन्छन् ।

बाढीको त्रास अझै उनको मनबाट हटिसकेको छैन । कुनै बेला आँखा खोल्छिन्, वरिपरि हेर्छिन्, अनि फेरि चुपचाप हुन्छिन् ।

उनको छेउमा आफ्ना मान्छे कोही छैनन् । न आमा छन्, न बुवा । औषधि खुवाउने, खाना दिने, लुगा मिलाइदिने र अवस्था सोध्नेहरू सबै अस्पतालका स्वास्थ्यकर्मी छन् ।

उनी हुन्, रसुवाको खाल्टेबाट बाढीमा परेर उद्धार गरिएकी पाँच वर्षीया इशारा तामाङ । जालमा अल्झिएको अवस्थामा बाढीको भेलबाट उद्धार गरिएकी इशारा अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

सुरुमा उनलाई बुधबार आकस्मिक कक्षको रेड जोनमा ल्याइएको थियो । अहिले पेडियाट्रिक सर्जरी वार्डमा राखेर उपचार भइरहेको छ ।

बाढी भन्ने शब्दसमेत राम्ररी बुझ्ने उमेर भइसकेको थिएन, इशाराको । पाँच वर्षको कलिलो उमेरमा उनले बाढीको यस्तो पीडा भोग्नुपर्‍यो, जुन सम्झँदा आङ नै सिरिङ्ग हुन्छ ।

आमाको हात छुट्यो, आफू भेलमा परिन् र जालीमा अड्किएर बाँचिन् । अहिले शरीरका चोटको उपचार भइरहेको छ, तर उनको मनमा लागेको चोटको औषधि कहाँ छ ? आमा कहाँ छिन् ? बुवा कहाँ छन् ? र, आफूलाई लिन आफ्ना मान्छे कहिले आउँछन्, इशारालाई केही थाहा छैन ।

आँखा खोल्ने बित्तिकै भनिन्, ‘इशारा तामाङ’

उद्धारपछि अस्पताल ल्याउँदा इशाराको अवस्था सामान्य थिएन । बाढीको त्रासले अहिले पनि मानसिक रूपमा निकै प्रभावित छिन् ।

उनको उपचारमा खटिइरहेका डा. विवेक गुरुङले अनलाइनखबरलाई बताएअनुसार इशारा अझै पूर्ण होसमा आइसकेकी छैनन् । तर आँखा खोल्ने बित्तिकै उनले आफ्नो नाम भने बताइन्– इशारा तामाङ ।

त्यही नामबाट उनको पहिचान खुल्यो ।

विस्तारै उनले आफू रसुवाकी भएको, आमासँगै रहेको र बाढी आएको क्षणबारे केही कुरा बताउन थालिन् । पाँच वर्षीया बालिकाले आफ्नो बालसुलभ भाषामा सुनाएको घटनाले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि भावुक बनाएको छ ।

उनको भनाइअनुसार बाढी आउँदा इशारा आमासँगै थिइन् । अचानक आएको भेलले आमालाई बगाएर लग्यो । आफू पनि बाढीको बहावमा परिन् । तर हातको सहारा लिएर अगाडि बढेकी उनी अन्तत: जालमा अल्झिइन् र त्यही अवस्थामा उद्धार भइन् ।

‘ममीलाई बगायो । म हाम फालेर अघि बढ्दा जालीमा अड्किएँ,’ उनले होसमा आएपछि दिएको जानकारी यत्ति हो ।

ती शब्दमा पाँच वर्षीया बालिकाले भोगेको विपत्तिको पूरा कथा अटेको छ । यही आधारमा चिकित्सकले इशाराको फाइल तयार गरे ।

त्रिवि शिक्षण अस्पतालमा हराएकाहरूको खोजीमा पुगेका आफन्त । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

‘अहिले स्वास्थ्यकर्मी नै उनका आफ्ना मान्छे हुन्’

अस्पतालको पेडियाट्रिक सर्जरी वार्डमा इशाराको उपचारसँगै हेरचाह पनि स्वास्थ्यकर्मीहरूले नै गरिरहेका छन् । परिवारका सदस्य सम्पर्कमा नआएको अवस्थामा डाक्टरदेखि अन्य कर्मचारीसम्मले उनलाई आफ्नै परिवारको सदस्य जस्तै साथ दिइरहेका छन् ।

उनीहरू इशारालाई औषधि र उपचार मात्रै दिइरहेका छैनन्, आवश्यक कपडा, खाना तथा दैनिक जीवनमा चाहिने सामग्रीसमेत जुटाइरहेका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न र आवश्यक परेका बेला साथ दिन स्वास्थ्यकर्मीहरू निरन्तर खटिइरहेका छन् ।

उनलाई रेखदेख गरिरहेकी अस्पतालकी अटेन्डेन्ट पवित्रा मगरका लागि इशारा सामान्य बिरामी जस्ती छैनन् । परिवारको साथ नहुँदा उनलाई आफ्नै बच्चा जस्तो गरेर हेरचाह गरिरहेको उनी बताउँछिन् ।

‘अहिले त स्वास्थ्यकर्मी नै उहाँका आफ्ना मान्छे हुन् । डाक्टरदेखि हामी सबै कर्मचारीको ध्यान उहाँप्रति नै बढी छ । उहाँलाई केही चाहिएको छ कि, स्वास्थ्य अवस्था कस्तो छ भनेर ख्याल गरिरहेका छौँ,’ पवित्रा भन्छिन्, ‘परिवारका मान्छे कोही सम्पर्कमा हुनुहुन्न । उहाँको मान्छे आउला कि नआउला, थाहा छैन । त्यसैले अहिले हामीले नै सकेसम्म आफ्नै बच्चा जस्तो गरेर ख्याल गरिरहेका छौँ ।’

इशारालाई उद्धार गरेर अस्पताल ल्याउँदा उनको शरीरमा लगाउने कपडासमेत थिएन । बाढीले उनका अधिकांश सामान बगाएको थियो । अस्पताल आएपछि स्वास्थ्यकर्मीहरूले नै उनलाई कपडा मिलाइदिए । खाना तथा आवश्यक सामग्रीको व्यवस्थापन गरे ।

कानमा थियो सुनको मुन्द्रा

उपचारका क्रममा इशाराको कानमा एउटा सानो सुनको मुन्द्रा भेटिएको थियो । सायद, उनको चिनो त्यही एउटा मुन्द्रा बन्यो ।

पवित्राका अनुसार सिटी स्क्यान गराउने क्रममा उनको कानमा सुनको मुन्द्रा भेटिएको थियो ।

‘सिटी स्क्यान गराउँदा उहाँको कानमा सुनको मुन्द्रा थियो । अहिले हिफाजतसँग राख्न इन्चार्जलाई दिएको छु,’ पवित्रा भन्छिन्, ‘अहिले उहाँको परिवारकै टुंगो छैन । त्यसैले उहाँका सामान पनि सुरक्षित राख्नुपर्ने अवस्था छ ।’

परिवार कहाँ छ, उनीहरू सुरक्षित छन् कि छैनन् भन्ने यकिन नहुँदा अस्पतालका स्वास्थ्यकर्मीका लागि इशाराको उपचारसँगै उनको सुरक्षा र हेरचाह पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

बाढीमा हराएका मानिसहरूको खोजी भइरहेको छ । आफन्तहरू आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेका छन् । कोही घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन् ।

तर, इशाराको अवस्था फरक छ । उनी अस्पतालमा छिन्, तर उनलाई खोज्नुपर्ने आफ्ना मान्छे नै कहाँ छन् भन्ने अहिलेसम्म टुंगो छैन ।

फेसबुकबाट बुवाको खोजी, विद्यालयसँग पनि सम्पर्क हुन सकेन

अहिले इशाराका बुवाको खोजी भइरहेको छ । सामाजिक सञ्जालमार्फतसमेत उनलाई खोजिँदै छ ।

चेजिङ लामा नामको फेसबुक अकाउन्टबाट इशाराका बुवालाई खोज्न आग्रह गरिएको छ । बालिकाले आफ्ना बुवा काठमाडौंमा रहेको बताएकी छिन् ।

सो पोस्टमा इशारा रसुवाको उत्तरगया गाउँपालिका–१, सातबिसेस्थित श्री रामचन्द्र माविमा अध्ययनरत विद्यार्थी रहेको बुझिएको छ । यो खबरपछि अनलाइनखबरले विद्यालयसँग सम्पर्क गर्ने प्रयास गरेको छ । यद्यपि, अहिलेसम्म विद्यालयका कसैसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन ।

 

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?