+
+
Shares
वार्ता :

‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’

हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त हुन सकेको छैन।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले भोटेकोशी बाढीपछि उद्धार र शव व्यवस्थापनका लागि फिल्डमा जनशक्ति अभाव भएको बताइन्।
  • उनका अनुसार नदीमा शव बगेर आएका छन् र बेलकोटगढीमा धेरै शव देखिएको जानकारी आएको छ।
  • उद्धारका लागि हेलिकप्टर र खाद्यान्न पुगे पनि नदी तटीय प्रभावित क्षेत्रमा पुर्‍याउन सडक अवरोधले कठिनाइ भइरहेको छ।

भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित मध्येको नुवाकोटको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले उद्धार र शव व्यवस्थापन गर्न फिल्डमा खटिने जनशक्तिको अभाव भएको बताएकी छन् । उनका अनुसार नदीमा शवहरू बगेर आएका छन्।

उपमेयर बोगटीसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संवादः

प्रभाजी, विदुर लगायतका क्षेत्रको अवस्था कस्तो छ ?

बाढीले हिजो अकल्पनीय क्षति पुर्‍यायो। त्यसपछि उद्धारका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौं। हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त हुन सकेको छैन।

अहिले ठ्याक्कै उद्धारका लागि के-के सहयोग आवश्यक छ ?

अहिले हेलिकप्टर र खाद्यान्नहरू आइपुगेका छन्, तर ती सामग्री सम्बन्धित ठाउँमा पुर्याउन कठिनाइ भइरहेको छ।

त्यसमा संघीय, प्रदेश सरकार वा बाढीबाट प्रभावित नभएका पालिकाहरू कसले भूमिका खेल्न सक्ला ?

अहिले हेलिकप्टरहरू निरन्तर उडिरहेका छन् र हामी सबैले काम गरिरहेका छौं। तर फिल्डले जति माग गर्छ, त्यो अनुसार पुगेको छैन। यहाँ एकदमै भयावह स्थितिबाट उद्धार भइरहेको छ।

देशैभरिका सुरक्षाकर्मीहरूलाई यहाँ केन्द्रित गर्ने; जस्तै त्रिशूलीमा २० जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र २० जना नेपाल प्रहरीलाई परिचालन गरियो भने स्थानीयहरूसँग मिलेर त्यहाँको लेदो पन्छाउन, मानिसहरूको खोजतलास गर्न र घाइतेहरूलाई भेट्टाउन सहज हुन्छ।

त्यसैगरी बेत्रावतीमा पनि सोही अनुसारको तालिमप्राप्त सुरक्षाकर्मीहरूलाई राखेर खोज तथा उद्धार गर्न सकियो भने अझ बढी प्रभावकारी हुन्छ भन्ने लाग्छ। सडक यातायातको अवरोधका कारण राहत सामग्री लैजान थप चुनौती भइरहेको छ। अहिले हामीले एउटा नीति बनाइरहेका छौँ— जस्तै, विद्यालयका कारण बालबालिकाहरू एकातिर र अभिभावकहरू अर्कोतिर हुनुहुन्छ। ती बालबालिकाहरूलाई उद्धार गरेर सम्भव भएसम्म आमाबुवा भएको ठाउँसम्म पुर्याउने नीति बनाइरहेका छौँ, तर स्रोत-साधनहरू पर्याप्त हुन सकिरहेको छैन।

अहिले काठमाडौं वा मुग्लिनतिरबाट विदुर पुग्ने बाटोको अवस्था कस्तो छ?

त्यो बाटो सहजै छ। काठमाडौंबाट छहरे हुँदै सदरमुकाम विदुरसम्म आउने पहुँचमा कुनै कठिनाइ छैन। हामी अघिपछि जसरी आइपुग्थ्यौँ, त्यसरी नै सहजै आइपुग्न सकिने स्थिति छ। तर यहाँबाट प्रभावित क्षेत्र (नदी तटीय क्षेत्रहरू) मा पुग्न भने कठिनाइ छ।

यहाँले स्वयंसेवकहरू खटिने कुरा गर्नु भएको थियो नि ?

फिल्डमा त हामी केन्द्रित छौँ, हेलिकप्टरले पनि उद्धार गरिरहेकै छ। तर त्यो बाहेक फिल्डमा परिचालन हुने विषयमा समस्या छ। जस्तै, शवहरू बगेर आएका छन्। बेलकोटगढीमा अलि धेरै मात्रामा शवहरू देखिएको भनेर नगर प्रमुखले तारन्तार फोन गरिरहनुभएको छ। त्यसको व्यवस्थापन गर्न नसक्दा भोलि मानव बस्तीमा स्वास्थ्य जोखिम निम्तिने खतरा छ। यस्ता कुराहरूमा जनशक्तिको अभाव छ। हामीले अझै सही ढङ्गले नीति बनाउन नसकेको हो कि के भइरहेको छ, त्यस्ता विषयमा ध्यान पुग्न सकेको छैन।

अनि स्वास्थ्य उपचारका लागि टोलीहरूको अवस्था के छ ?

स्वास्थ्य उपचारको लागि त्रिशूली अस्पताल खोलापारि पर्छ। त्यहाँसम्म सडक पहुँच हुनेहरूलाई पुर्याएर उपचार भइरहेको छ। खोलापारि हेलिकप्टरबाट सोझै उद्धार हुनेहरूका लागि यहीँ नेपाली सेनाको तालिम केन्द्रमा पनि प्राथमिक उपचार भइरहेको छ। यहाँ उपचार सम्भव नभएकाहरूलाई बट्टारका मेडिकलहरू तथा निजी मेडिकलहरूमा पनि लगिएको छ र गम्भीर बिरामीहरूलाई काठमाडौँ पनि पठाइएको छ।

भन्नुको अर्थ, हामीलाई अहिले तत्कालका लागि सुरक्षाकर्मीहरूसँगै अन्य जनशक्ति र स्वयंसेवकहरूको साँचो छ, जो सिधै फिल्डमै जान सकून्। जहाँ हेलिकप्टर अवतरण हुन सक्दैन र सडकबाट पनि हामी पुग्न सकेका छैनौं— यहाँबाट जान ५ मिनेट मात्र लाग्ने ठाउँमा पनि पुग्न सकिएको छैन: त्यस्ता ठाउँमा पुगेर लेदो पन्छाउने, बाटो बनाउने र घरका बिसौनी वा नदी किनारमा फसेका मानिसहरूको खोजी गर्नका लागि फिल्डमा पुग्न नसक्दा कठिन भइरहेको छ।

वार्ता सुन्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?