+
+
Shares

भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग, यसपालि तीज कार्यक्रम नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीको निसर्ग हस्पिटलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
  • हस्पिटलले वार्षिक तीज कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकमसमेत राहतमा समर्पण गरेको हो।
  • संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको ग्लोबल आइएमई बैंक खातामा जम्मा गरिएको हस्पिटलले जनाएको छ।

१२ भदौ, धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो ।

निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तीमा एक दिन बराबरकोे तलब/सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकमसमेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।

हस्पिटलले हरेक वर्ष आफ्ना महिला कर्मचारी तथा चिकित्सकहरूका लागि तीज कार्यक्रम आयोजना गर्दै आएको थियो । तर यस वर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम पीडितको राहत तथा पुनर्स्थापनामा लगाउने निर्णय गरेको हो ।

निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खाता नं. ८८००४०१०१०००००५७८८ मा जम्मा गरिएको हस्पिटलले जनाएको छ ।

हस्पिटलका अध्यक्ष पन्तले भने, ‘हामीले गरेको सहयोगले बाढीले पुर्‍याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसक्ला । तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौँ भन्ने भरोसा दिन सक्छौँ ।’

चाडपर्वको खुसीलाई केही समयका लागि थाती राख्दै विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उनको भनाइ छ ।

निसर्ग हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?