News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा, नुवाकोट र धादिङका विद्यालयमा बाढीले क्षति पुर्याएको छ, जसमा नुवाकोटका ६ विद्यालय र रसुवाका ६ विद्यालय प्रभावित भएका छन्।
- नुवाकोटको त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयसहित ४ विद्यालय पूर्ण क्षति भएका छन्, तर विद्यार्थीहरूलाई पहिले नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भएको छैन।
- धादिङका ४ विद्यालयमा बाढी पसेर पठनपाठन रोकिएको छ, र गोसाईकुण्ड गएका धादिङका ८ शिक्षक बुधबारदेखि सम्पर्कविहीन छन्।
११ भदौ, काठमाडौं । बुधबार बिहान अप्रत्यासित रुपमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा विद्यालयमा क्षति पुर्याएको छ ।
तिब्बतबाट आएको बाढी नेपालमा प्रवेश गरेको जिल्ला रसुवामा विद्यालयमा क्षति के कति भएको यकिन जानकारी आउन सकेको छैन ।
हिजो विद्यालय गएर परिवारको सम्पर्कबाट विच्छेद भएका विद्यार्थीहरूलाई अभिभावकसँग भेटाउने पहल नुवाकोटमा भइरहेको छ ।
बाढीले प्रभावित अर्को जिल्ला धादिङका विद्यालयहरू तुलनात्मक रुपमा कम क्षति भएपनि कक्षा सञ्चालन तत्कालै गर्ने अवस्था छैन ।
रसुवामा विद्यालयको प्रारम्भिक क्षति पनि यकिन हुनै बाँकी
प्रारम्भिक विवरण अनुसार रसुवामा ६ वटा विद्यालयमा क्षति पुगेको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका विद्यालयहरूमा सर्वाधिक क्षति पुगेको छ ।
गोसाईकुण्ड गाउँपालिका टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा बाढीले ठूलो क्षति पुर्याएको छ । भवनमा बगाएको वा भत्किएकोबारे हालसम्म यकिन विवरण संकलन हुन सकेको छैन । रसुवाकै उत्तरगया गाउँपालिकामा रहेको उत्तरगया विद्यालयमा क्षति पुगेको छ भने विद्यार्थीहरूले भागेर ज्यान बचाएका छन् ।
रसुवाको टिमुरे क्षेत्रमा रहेका दुई बोडिङ स्कुल र दुई सामुदायिक विद्यालयमा क्षति पुगेको छ । ती विद्यालयको नाम भने खुल्न सकेको छैन ।
प्रारम्भिक विवरण अनुसार ती चार विद्यालयलाई बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लाबाट सम्पर्क बिच्छेद भएपछि नुवाकोट आइपुगेको रसुवाका शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुख दुर्गाप्रसाद सिलवालले जानकारी गराए ।

सञ्चारका सबै माध्यम बन्द हुँदा विद्यालयहरूमा कहाँ कति क्षतिबारे तथ्यांक संकलन गर्न नसकिएको सिलवालले जानकारी दिए ।
‘फोन र नेट नहुँदा क्षतिबारे बुझ्नै नसक्ने अवस्था रहेको बताए । ‘कसैसँग सम्पर्क हुन सकेको छैन । बिजुली, टेलिफोन, नेट केही छैन,’ सिलवालले अनलाइनखबरसँग भने,‘६ घन्टा पर नुवाकोट आएर म सम्पर्कमा जोडिन पाएको हुँ ।’
प्रारम्भिक विवरणहरूमा रसुवाको गोसाईकुण्ड गाउँपालिकाको वडा–२ टिमुरे बाढीले बढी क्षति पुर्याएको छ । त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ ।
काठमाडौंमा रहेका गोसाईकुण्ड-२ वडा सदस्य पेमा दोर्जे घलेले बाढीग्रस्त क्षेत्र टिमुरेमा सम्पर्क हुन नसकेको जानकारी गराए । वडा सदस्य घलेले भने,‘क्षतिबारे जानकारी पाउन सकेको छैन । फोन लाग्दैन ।’
नुवाकोटमा विद्यार्थी-अभिभावक भेट गराउनै मुस्किल
बाढी आउनु अघि नुवाकोटमा विद्यालयको पठनपाठन सुरु भइसकेको थियो । कक्षा चलिरहेकै बेला नुवाकोटमा बाढीले क्षति पुर्यायो । बाढीबाट बचेका विद्यार्थीहरू हिजो नै घर पुर्याउन सम्भव भएन ।
विद्यार्थीहरूलाई उनीहरूका अभिभावकसँग भेट गराउन नुवाकोटमा मुस्किल भएको छ । बच्चा विद्यालयमा भएको बेला बाढी आएको हुँदा र उनीहरूको सम्पर्क अभिभावकसँग टुट्दा एक अर्काको भेट गराउनै कठिन भइरहेको नुवाकोटस्थित विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीले बताइन् ।
‘ढिलो भयो । बच्चा स्कुलमा अभिभावक घरमा । बच्चा र अभिभावकको परिस्थिति कल्पना गर्दा मुटु बाहिर निस्कन्छ,’ उपप्रमुख बोगटी भन्छिन्,‘राहत र उद्दारमा सडक अवरुद्धका कारण कठिन बनिरहेको छ । सबैले काम गरिरहेका छौं तर प्रभावकारी बन्न सकेको छैन । बच्चाहरूको ख्याल गर्न स्कुल र त्यहाँ वरपरका स्थानीयलाई भनिरहेका छौं ।’
नुवाकोटका ६ विद्यालयमा बाढीले क्षति पुर्याएको छ । ती मध्ये चारवटा विद्यालय पूर्ण रुपमा क्षति भएको पुर्याएको नुवाकोटका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्य खत्रीले जानकारी गराए ।

क्षति भएका विद्यालयमा विद्यार्थी संख्याको आधारमा सबैभन्दा बढी रहेको विदुर नगरपालिका–५ को त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पूर्ण क्षति भएको छ ।
भौतिक रूपमा व्यापक क्षति पुगेको यस विद्यालयमा १ हजार ६४३ विद्यार्थी अध्ययनरत छन् ।
बाढीले विद्यालयमा क्षति पुर्याउनु अघि नै विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हुँदा मानवीय क्षति नभएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी गराए । बाढी आएको दिन (हिजो) शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना त्रिशूली बजार माथि डाँडामा सुरक्षित बसेको दवाडीले बताए ।
विदुर–७ टुप्चेमा अवस्थित चण्डेश्वर माविको छात्रावासलाई बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ ।
विदुर–१० वेत्रावतीमा रहेको रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया बोडिङ स्कूलको भौतिक संरचना बाढीले पूर्ण रुपमा बगाएको छ ।
विदुर–६ मा रहेको जेडी बोर्डिङ स्कूल र पायोनियर स्कूलमा भलपानी पसेको छ । फोन सम्पर्क र बिजुली बत्ती पनि नभएका बाढीग्रस्त नुवाकोटका स्थानमा आज विद्युत सुचारु भएको छ ।
बाढीले सडक र पुलहरूमा क्षति पुर्याएको हिजो अभिभावकसँग भेट्न नपाएका विद्यार्थीलाई भेटाउन पनि मुस्किल परिरहेको नुवाकोटका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्य खत्रीले जानकारी गराए ।
खत्रीले अनलाइनखबरसँग भने,‘विदुर र त्रिशुली क्षेत्रको सडक मार्ग विच्छेद भएको छ । अहिले हेलिकोप्टरबाट बच्चाहरूलाई सुरक्षित स्थानमा लाने र परिवारसँग भेटाउने काम भइरहेको छ ।’
धादिङका विद्यालयमा बाढी पस्यो, भौतिक क्षति छैन
धादिङका चार विद्यालयमा बाढी पसेर पठनपाठन अवरुद्ध भएको छ । गल्छी गाउँपालिकामा तीन र सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयमा बाढी पसेको थियो ।
धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार गल्छी गाउँपालिकाका बागेश्वरी मावि, अमलेश्वर गुरुकुल विद्यालय र सक्सेस एकेडेमी विद्यालयमा बाढी पसेर पठनपाठन रोकिएको छ । साथै, सिद्धलेक गाउँपालिकामा रहेको जलेश्वर माविमा पनि बाढी पसेको थियो ।
पृथ्वी राजमार्ग सडकखण्डमा सफा गरेपछि मात्रै विद्यालयको सरसफाई गर्न सकिने श्रेष्ठले जानकारी गराए ।
‘मूल बाटो सफा भएपछि आवतजावत गर्न सकिन्छ । मूलबाटो सफा गरेपछि विद्यालय परिसर सफाको काम सुरु हुन्छ,’श्रेष्ठले अनलाइनखबरसँग भने ।
गोसाईँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन
धादिङबाट गोसाईकुण्ड गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहिन भएका छन् ।
धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका तीन र पूर्व शिक्षक पाँच गरी आठ जना सम्पर्कविहिन भएका छन् ।
रसुवामा आएको बाढीका कारणलेसम्पर्कविहिन भएका शिक्षकहरूमा नीलकण्ठ नगरपालिकामा रहेको पशुपति माविका ठाकुरप्रसाद लम्साल, देउराली माविको जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माविको शिवहरी लम्साल सम्पर्क विहिन भएका छन् ।

गोसाईकुण्ड तीर्थयात्रमा गएका धादिङका पाँच पूर्व शिक्षक पनि सम्पर्क विहिन भएका छन् ।
सम्पर्कविहिन भएका पूर्व शिक्षकहरुमा निलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र इश्वरीप्रसाद तिमिल्सेना सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट छन् भने ज्वालामुखी गाउँपालिकाका पूर्व शिक्षक नारायणप्रसाद लम्साल पनि सम्पर्कमा छैनन् ।
प्रतिक्रिया 4